युवा र विश्वदृष्टिकोण

लामो समयसम्म रहेको सामन्तवादी राज्यसत्ता, सामन्तवादी उत्पादन प्रणाली र सामन्ती सामाजिक संरचनाका कारण नेपाली युवामा सामन्तवादी मनोविज्ञानको प्रभाव रहँदै आएको थियो । त्यस मनोविज्ञानलाई १० वर्षे महान् जनयुद्धले चिरफार मात्रै गरेन, समाजवादी समाजको निर्माण गर्नेतिर चिन्तन गर्ने बनायो । तर जनयुद्धलाई बिच बाटामै अलपत्र पारेर प्रतिक्रान्तिमा रूपान्तरण गरिएपछि सामन्तवादी निम्न पुँजीवादी प्रवृत्ति हाबी हुँदै जाँदा युवा मनोविज्ञान पनि सामन्तवादी निम्न पुँजीवादी संस्कारबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन । त्यसैले आगामी दिनमा वैज्ञानिक समाजवादी समाजको निर्माणका लागि राजनीतिक र वैचारिक रूपमा संघर्ष गर्दै विश्वदृष्टिकोणमार्फत दलाल पुँजीवादी हस्तक्षेपले तयार पारेको दलाल चरित्र र मानसिकताका विरुद्धको संघर्षलाई झनै तीव्रताका साथ अगाडि बढाउनुपर्ने दायित्व यतिबेला क्रान्तिकारी युवाहरूको काँधमा आएको छ । युवाहरू जोस र साहसले भरिपूर्ण छन् ।
अहिलेका युवा चेतनाका दृष्टिकोणबाट निकै अब्बल छन् । उनीहरू अहिलेको विज्ञान प्रविधिसँग निकट छन् । यो निकै खुसीको कुरा हो । यसका साथसाथै युवाले दृष्टिकोणमा पनि स्पष्ट हुन जरुरी छ । युवाको आफ्नो विश्वदृष्टिकोण हुन जरुरी छ । यो भएन भने युवाहरू जति जुझारू जतिसुकै क्षमतावान् भए पनि जीवन र यो जगत्को रूपान्तरणमा जटिलता सिर्जना हुनेछ । त्यसैले युवाले विश्वदृष्टिकोणमार्फत आफूलाई जुझारूप बनाइराख्न अत्यावश्यक छ ।
- १) विश्वदृष्टिकोण
विश्वदृष्टिकोण भनेको दर्शनशास्त्रको आधारभूत सवाल हो । या विश्वदृष्टिकोण भन्नु नै दर्शन हो । यहाँ विश्वको अर्थ हो, यो विश्व अर्थात् प्रकृति र मानव समाज ।
हामीले मालेमावादी दर्शनलाई आत्मसात् गर्दै विश्वको प्रकृति र मानव समाजलाई हेर्ने दृष्टिकोणलाई दर्शन भनिन्छ । हामी क्रान्तिकारी युवा माक्र्सवादी हौँ । मालेमावादी दर्शनलाई केवल किताबी ज्ञानका रूपमा होइन, सिद्धान्तलाई व्यवहारसित जोड्ने वा मिलाउने कुराको माग गर्र्छ । व्यवहारबाट सुरु गरेर सिद्धान्तमा जाने र सिद्धान्तलाई व्यवहारसित जोड्ने काम नै दर्शनको महत्त्वपूर्ण काम हो । यस कारणले आधुनिक युवाहरूले आफूलाई विश्वदृष्टिकोणमा रूपान्तरण गर्न सक्नुपर्छ ।
२१औँ शताब्दीमा नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नाका लागि हामी हाम्रो महान् अभीष्ट वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जानु हो । वैज्ञानिक समाजवादी क्रान्तिमा युवा समुदायले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । महान् जनयुद्धको प्रक्रियामा जनमुक्ति सेना, संयुक्त मोर्चा र अन्य विभिन्न तहका संगठनमा रहेर युवाले त्याग, वीरता र बलिदानका क्षेत्रमा उच्च कीर्तिमान कायम गरेको थियो । त्यस कारणले क्रान्तिलाई विजयको दिशामा अगाडि बढाउनका लागि युवाहरूको अझै उच्च प्रकारको भूमिका निर्वाह गरेका थिए । यो भूमिका पूरा गर्नका लागि युवाले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणलाई समृद्ध बनाउन जनताको बिचमा जनदिशा र जनसम्बन्धमार्फत बनाउने काम भएको थियो ।
- २) युवामा विश्वदृष्टिकोणको आवश्यकता
दर्शनको सारतत्त्व भनेको सिद्धान्त र व्यवहारमा एकरूपता कायम गर्दै युवाहरूको दायत्व स्वयं आफू र सिंगो संसारलाई बदल्नु हो । संसार बदल्ने युवाको महान् विश्वदृष्टिकोण हुन्छ र हुनुपर्छ । अनि मात्रै युवामा उच्च प्रकारको सपना वा महान् आदर्श जन्माउँछ । त्यस प्रकारको सपना वा आदर्श व्यक्तिगत हित वा तुच्छ स्वार्थभन्दा धेरै माथि उठेको हुन्छ । यस्ता सपना देख्ने र उच्च आदर्श युवामा हुन जरुरी छ । युवा माक्र्सले एक युवाको विचार शीर्षक लेखमा भन्नुभएको थियो । कुनै व्यक्तिले केवल आफ्ना लागि मात्र काम गर्छ भने ऊ एक प्रसिद्ध शिक्षाविद् बन्न सक्छ, एक महान् साधु बन्न सक्छ, एक उत्कृष्ट कवि बन्न सक्छ तर ऊ वास्तविक अर्थमा पूर्ण र महान् मान्छे बन्न सक्दैन । यी महान् विचार र तिनलाई व्यवहारमा ढाल्न समर्थ बन्नुका कारण नै माक्र्स साँच्चैको युवावस्थामा माक्र्स बन्नुभएको थियो । हामीले पनि जनताको मुक्तिको महान् आर्दशले अभिप्रेरित हुन हामी जनता र युवा र आम उत्पीडित जनताहरूको माझमा पुग्ने संगठन निर्माण गर्न पार्टीको कार्यदिशा र राजनीतिक वैचारिक, संगठन, संघर्ष र प्रचारात्मक कामलाई विश्वदृष्टिकोण वा मालेमावादी दर्शनलाई आत्मसात गर्दै क्रान्तिकारी युवा कुनै क्रान्तिकारी संगठनको पूर्णकालीन वा अल्पकालीन सदस्य बनेर वैज्ञानिक समाजवादी क्रान्तिको ऐतिहासिक प्रक्रियामा संलग्न हुन पाएकामा आफूलाई युवाहरूले गौरवान्वित ठान्नुपर्छ ।
परन्तु क्रान्तिको प्रक्रियामा क्रान्तिकारी युवाले सपना देख्नुपर्छ । लेनिनले पनि सपना देख्ने कुराको महत्त्वलाई राम्रोसँग बुझ्नुभएको थियो । त्यसैले लेनिनले भन्नुभएको थियो— साथी हो, सपना देख्नुपर्छ । लेनिनको सपनाले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै त्यो विज्ञानलाई लेनिनवादका रूपमा विकसित तुल्याउने अवसर प्रदान गर्यो । रुसमा समाजवादी क्रान्ति सम्पन्न गरिसकेपछि युवाहरूको कामबारे लेनिनले एउटै शब्दमा भन्नुभएको थियो र त्यो शब्द थियो ‘सिक्नु’ । सिक्नु भनेको लेनिनको भनाइमा साम्यवादको शिक्षा थियो । लेनिनले भन्नुभएको थियो कामविना र संघर्षविना साम्यवादसम्बन्धी पुस्तिकाहरू र रचनाहरूबाट प्राप्त हुने किताबी ज्ञानको कुनै अर्थ हुँदैन । किनभने त्यसले पुरानो बुर्जुवा समाजको सबैभन्दा घृणित विशेषताको रूपमा देखापर्दै आएको सिद्धान्त र व्यवहारका बिचको पुरानो अन्तर अर्थात् सम्बन्धविच्छेदलाई कायमै राख्नेछ । शिक्षाबारे अर्थात् ज्ञानबारे लेनिनद्वारा प्रस्तुत यी विचार अत्यन्तै मूल्यवान् छन् । सिद्धान्त र व्यवहारका बिच पर्खाल खडा गर्नु तथा भनाइ र गराइमा एकरूपता कायम नहुनुलाई पुँजीपति वर्गमा देखापर्ने चरम मूल्य संकटका रूपमा लिने गरिन्छ । यहाँ सिद्धान्त र व्यवहारका बिच द्वैतवादको पर्खाल खडा गर्ने चिन्तनमाथि कडा राजनीतिक वैचारिक संघर्ष गर्दै क्रान्तिकारी युवाले प्रशिक्षित, सतर्क र सफल हुनेछ ।
माओले आफ्नो प्रसिद्ध दार्शनिक कृति व्यवहारबारे भन्नुभएको छ— आत्मगत र वस्तुगत पक्ष सिद्धान्त र व्यवहार, भनाइ र गराइका बिच ठोस ऐतिहासिक एकरूपता कायम गरिनुपर्छ । हामी क्रान्तिकारी युवाले पनि यो विषयलाई पार्टी र युवा संगठनले उत्पीडित जनताका बिचमा पुगेर आफूलाई जनताको बिचबाट रूपान्तरण हुँदै सिद्धान्त र व्यवहारमा एकरूपता कायम गर्दै क्रान्ति गर्ने पार्टी र संगठनको निर्माण गर्नुपर्छ । एकचोटि क. माओले युवाहरूलाई उद्धृत गर्दै भन्नुभएको थियो, ‘माक्र्सवाद–लेनिनवादलाई दह्रोसँग पकड्न र निम्न पुँजीवादी चेतनाबाट मुक्त हुनका लागि क्रान्तिकारी युवाहरूलाई प्रशिक्षित गर्नु । उनीहरूलाई अनुशासन तथा संगठनमा आबद्ध हुने र संगठनमा अराजकतावाद तथा उदारतावादको विरोध गर्नेबारे प्रशिक्षित गर्नु । उनीहरूलाई तल्लो तहका व्यावहारिक गतिविरोधहरूमा राम्रोसँग संलग्न बन्ने र व्यावहारिक अनुभवहरूलाई तिरस्कार गर्ने कुराका विरुद्ध संघर्ष गर्नेबारे प्रशिक्षित गर्नु । उनीहरूलाई मजदुर तथा किसानहरूसित घनिष्ठ सम्बन्ध कायम गर्ने र किसान तथा मजदुरहरूलाई हेप्ने कुराको विरोधमा प्रशिक्षित गर्नु ।’
माओको यस भनाइलाई क्रान्तिकारी पार्टी र क्रान्तिकारी युवाले आत्मसात् गर्दै युवालाई संगठित बन्न र सांगठनिक क्षेत्रमा देखापर्ने उदारतावाद र अराजकतावादका विरुद्ध जुझ्नका लागि राजनीतिक वैचारिक रूपमा स्पष्ट हुँदै विश्वदृष्टिकोणमार्फत राजनीतिक वैचारिक रूपबाटै भण्डाफोड गर्ने कुरामा विशेष जोड दिनुपर्छ । साथै युवालाई व्यवहारमा जाने र त्यहाँबाट प्राप्त नयाँ अनुभवहरूले समृद्ध बन्नका लागि जनताबाटै प्रशिक्षित हुनुपर्छ । यसो गरे सिद्धान्त, व्यवहार र पुनः सिद्धान्तको मालेमावादी दर्शनको मान्यतालाई युवाले राम्रोसँग बोध गर्नेछन् । मजदुर र किसानका माझमा जानका लागि जनता र विद्यार्थीसँग युवाहरू जोडिनु भनेको लेनिनले कारखानाका मजदुरलाई जोड्नुजस्तै आज विद्यार्थीका कलेज र जनताका टोल–टोल र गाउँ–गाउँबाट शिक्षा जनताबाट लिएर जनतालाई दिने जनदिशाको मान्यतामा आधारित बनाउन युवा लालायित हुनुपर्छ ।
- ३) जनयुद्धमा युवाहरूको विश्वदृष्टिकोण
जनयुद्धमा युवाहरू जनमिलिसिया, जनमुक्ति सेना, जनकलाकारका रुपमा पार्टी कमिटीमा रहेका थिए । वर्ग संघर्षमा सहभागी हुँदै दर्जनौँ युद्धमोर्चामा लड्न साहस र वीरता प्रदर्शन गरेका थिए । जुन संघर्षले विश्वदृष्टिकोणलाई जन्म दिएको थियो । अनि मात्रै राजनीतिक परिवर्तन, सामाजिक क्रान्ति, जनयुद्ध र अधिकार प्राप्तिका विभिन्न संघर्षमा युवाहरूको अतुलनीय योगदान बनेको हो । युवाहरूकै सक्रिय सहभागिताले देशमा परिवर्तन सम्भव भएको इतिहास साक्षी छ । सहिद बेपत्ता, घाइते–अपांगहरूको तथ्यांकमा पनि युवाहरू नै अगाडि छन् ।
परन्तु युवाहरूले अदम्य त्याग र बलिदानका कारणले माओवादी पार्टीले सञ्चालन गरेको वर्ग संघर्षले ८० प्रतिशत भूभाग कब्जा गर्न सफल भएको थियो । जनयुद्धले तत्कालीन शासक वर्ग, सामन्त वर्ग, शोषक वर्ग, प्रतिगामी वर्ग वा वर्गशत्रुको होस उडाएको थियो । त्यसले सामन्त शिविर ध्वस्त र तानासाही सैन्य शक्तिको जगै हल्लाइदियो । अनि नेपालका शासकले साम्राज्यवादी शक्तिको साहरा लिन थालेका थिए । प्रतिगामी, शोषक, सामन्त, अभिजात्य र सम्भ्रान्त तथा यथास्थितिवादी प्रतिक्रियावादीको होस उडाइदिने कुरा चानचुने कुरा थिएन । दुई सय पचास वर्षदेखि निरन्तर अपराध गर्दै आएको सामन्तवाद त्यसको पछि लागेर शोषण–दोहन गर्दै आएको प्रतिक्रियावादी राज्यसत्ता फालिदिएपछि अहिले तातो बालुवामा फालेको माछाझैँ छटपटाइरहेका छन् । केही युवा तातोबालुवामा छटपटाइरहेको माछाजस्तै छटपटाइराखेको राजतन्त्रात्मक सामन्ती व्यवस्थाको पुनरावृत्ति गर्ने स्वप्निल पागलपन रमाउन खोजेका छन् । खोसिएको लुटको स्वर्ग, अत्याचार अनि उत्पीडनको साम्राज्य सदाका लागि अवसान भएको राजतन्त्रात्मक साम्राज्य देखेर नै छटपटी सुरु भएको हो ।
गरिब–विपन्न–शोषित वर्गका आँसु–रगत–पसिनाले रक्ताम्य दरबार वा रङ्गीन महल ढलेपछि; मजदुर, किसान, श्रमजीवी वर्गलाई चुसिरहेको चुसाहा व्यवस्था फालेपछि; त्यस्तै अन्याय र अपराधको हालीमुहाली खोसिएपछि; त्यो खोस्ने जनयुद्धमाथि खनिनु कुनै नौलो कुरा होइन । जे भए पनि महान् जनयुद्धले दरबार र विलासी महल, तानाशाही र निरङ्कुशता ढल्न युवाहरूको विश्वदृष्टिकोण सही भएको कारणले नै सम्भव भएको हो । जसका कारण नेपालमा गणतन्त्र आयो र केही मात्रात्मक परिवर्तन भयो । तर पनि भनेजस्तो व्यवस्था आएन । हामीले चाहेको व्यवस्था वैज्ञानिक समाजवाद ल्याउनका लागि हामी युवाले फेरि दलाल संसदीय पुँजीवादी सत्तालाई फाल्न त्याग, बलिदानको मूल्य चुकाउन तयार बन्नुपरेको छ । यसका लागि जनयुद्धमा जसरी युवाहरूले माक्र्सवादी विश्वदृष्टिकोणलाई आत्मसात गरी सर्वहारा श्रमजीवी वर्गको मुक्तिका लागि बलिदानमा होमिएको थिए, त्यसरी नै वर्तमान समयमा पनि युवाहरूले वैज्ञानिक विश्वदृष्टिकोण (मालेमावादी विश्वदृष्टिकोण अँगाल्न जरुरी छ ।
अन्त्यमा,
आज विश्वदृष्टिकोणमा स्पष्ट हुँदै युवाहरूले नेपाली क्रान्ति वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशालाई नयाँ सन्दर्भमा सिर्जनात्मक ढंगले बुझ्न र कार्यान्वयन गर्न आवश्यक छ । सिद्धान्तको रक्षा, प्रयोग र विकास गरेर नै क्रान्तिलाई विजयको दिशामा अगाडि बढाउन युवाहरूले सक्नुपर्छ । हामीले यहाँ माक्र्स–लेनिन–माओका केही भनाइबारे जुन चर्चा गर्यौँ, ती मूलतः आदर्श, सिद्धान्त र व्यवहार तथा भनाइ र गराइसँग सम्बन्धित निकै महत्त्वपूर्ण दार्शनिक प्रश्न हुन् । हामी मूलतः सही र क्रान्तिकारी छौँ । तर पनि आज हामीमा दार्शनिक रूपमा एउटा गम्भीर समस्या देखापर्दै आएको छ । त्यो समस्या भनेको सिद्धान्त एकातिर र व्यवहार अर्काेतिर, भनाइ एकातिर र गराइ अर्काेतिर, आर्दश एकातिर र कर्म अर्काेतिर हुने द्वैतवादका विरुद्ध क्रान्तिकारी युवाले कडा वैचारिक संघर्ष चलाउन आवश्यक छ । मालेमावादी दर्शनले सिद्धान्त र व्यवहार, भनाइ र गराइ तथा आदर्श र कर्मका बिच द्वन्द्वात्मक एकरूपताको माग गर्छ । यो बेला क्रान्तिकारी युवाले विश्वदृष्टिकोणको प्रश्नमा ध्यान दिँदै क. चे ग्वभाराकी छोरी अलैदाले आफ्नो बुवाको अस्थिपञ्जर पाउँदाखेरि भन्नुभएको जस्तै ‘आज उहाँहरूको अस्थिपञ्जर हामीले फिर्ता पाएका छौँ । तर उहाँहरू पराजित भएर यहाँ फर्कनुभएको होइन बरु महानायक भएर फर्कनुभएको छ; अझ बेसी युवा भई, अरू बेसी शक्तिशाली र वीर भई, अरू बेसी महान् योद्धा भई फर्कनुभएको छ ।
यो भनाइ र आदर्शले विश्वभरिका क्रान्तिकारी युवाहरू, विद्यार्थी र बुद्धिजीवीलाई प्रेरित गर्छ । आज साम्राज्यवाद, पुँजीवाद, दलाल संसदीय व्यवस्थाका विरुद्ध विद्रोह गरी वैज्ञानिक समाजवादी क्रान्ति गर्नका लागि युवाहरू अझ बेसी युवा, झन् साहसी हुनुपर्नेछ र अझ बेसी बलिदान गर्नुपर्नेछ । यही बमोजिमको विश्वदृष्टिकोण निर्माण गर्दै क्रान्तिकारी युवाहरू अगाडि बढ्नुपर्नेछ ।
(लेखक नेकपा (बहुमत)का पोलिटब्युरो सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुलाका शिक्षकले मासिक रुपमा पाउन थाले तलब, भत्ता
-
प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुल्यो, कसरी दिने आवेदन ? (सूचनासहित)
-
सहकारी थरीथरीका : केहीले ठगे, केही मन जित्दै
-
नेपाली सेनाले खुलायो पदिक तथा बिल्लादार पदमा आवेदन (सूचनासहित)
-
सहकारीमा देखिएका समस्या र समाधान
-
लगातार चार हारपछि धोनीको कप्तानीमा कोलकातालाई चुनौति दिँदै चेन्नई