बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

अधुरो संघर्ष पूरा गर्नका लागि मोर्चा : राजेन्द्र महतो

बिहीबार, २१ चैत २०८१, १७ : ३९
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले देशमा उत्पन्न स्थितिको आधारमा संघीय लोकतान्त्रिक मोर्चा गठन गर्न आफूहरू बाध्य भएको बताएका छन् । मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले दुई ठुला दलले देशमा राजनीतिक ग्रहण लगाउने काम भइरहेकाले त्यसविरुद्ध संघर्ष गर्न मोर्चा गठन गरिएको बताएका हुन् । 

उनले भने, ‘देशमा थुप्रै आन्दोलन भए तर ती सबै संघर्ष अधुरो रहे । त्यसलाई पूरा गर्नका लागि मोर्चा गठन गर्नतिर लागेका हौँ । नेपाल सबै नेपालीको हो ।  बहुलराष्ट्र यो देशलाई सबको साझा देश बनाउनुपर्छ ।’

एक सोच राखेर शासन चलाएर संविधान जारी गरिएको उनले आरोप लगाए । यो काम सरकारको कमी कमजोरीले गर्दा नै प्रतिगमनकारीहरू टाउको उठाउने काम गरिरहेको उनले बताए । 

उनले थपे, ‘मृत भइसकेको शासन व्यवस्था फेरि जीवित हुनु भनेको अहिलेको शासकको कारणले भएको हो । यी शासकहरूले आफ्नै देशका जनतालाई अधिकार दिन मानेनन् । शासकको गलत चिन्तन र सोचका कारण देशमा यो अवस्था आएको हो । अहिलेका ठुला दलहरूले राज्य सञ्चालन गर्न सकेनन् ।’ 

अब मोर्चाले अन्य अधिकारवादी दलहरूसँग सहकार्य गरेर संयुक्त संघर्षलाई अगाडि बढाउने उनको भनाई थियो । उनले एक्ला एक्लै लडेर केही प्राप्त नहुने भएकाले संगठित भएर संघर्ष गर्नुपर्ने आवश्यकता आइपरेको बताए । 

लोकतान्त्रिक समाजवादी पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले सबै उत्पीडित जनताको चाहनाले यो मोर्चा गठन भएको बताए । उनले भने, ‘यो देशमा भागबण्डाको राजनीति रहन्छ तबसम्म यो देशको राजनीतिक अवस्था सुधार हुँदैन ।’

उनले आफूहरूले उठाएको मुद्दा अझै पुरा नभएको र ती माग र मुद्दा पूरा गराउनका लागि संघर्ष गर्न यो मोर्चा गठन गर्न बाध्य भएको बताए । ‘साना दललाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ’ उनले भने, ‘ती षड्यन्त्रको विरुद्धमा लडाइ लड्न अगाडि बढेका हौँ ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप