रोचक बन्दै गभर्नरको नियुक्ति प्रक्रिया

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर पद आगामी शनिबारदेखि रिक्त हुँदैछ । गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिने भएसँगै नयाँ गभर्नर नियुक्तिका लागि छनोट समिति गठन गरिएको छ ।
गभर्नर बन्ने रेसका लागि कतिपयले ‘नसकिने रहेछ’ भनेर छाडिसकेका छन् भने कतिपयचाहिँ परिणामलाई आफ्नो पक्षमा पार्न लागिरहेका छन् ।
गभर्नर छनोटका लागि तीन सदस्यीय समिति बनेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्वगभर्नर विजयनाथ भट्टराई र विज्ञका तर्फबाट विश्व पौडेलले प्रतिनिधित्व गरेका छन् । समितिले सिधै तीन जनाको नाम सिफारिस गर्न सक्ने भएकाले यसमा कुनै प्रक्रियागत झन्झट छैन ।
यी त भए समस्याका कुरा । अब लागौँ प्रतिस्पर्धीतर्फ । अहिले गभर्नरका लागि सतहमा केही अनुहारको नाम चर्चामा छ । केही अनुहार जबरजस्ती चर्चामा आइरहेको देखिन्छ । खासगरी गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्र, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, पूर्वकार्यकारी निर्देशक तथा हाल राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल, लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायत छन् ।
त्यस्तै, बैंकरद्वय ज्ञानेन्द्र ढुंगाना र अशोक शेरचन, पूर्वसचिव रामेश्वर खनाल, रामशरण पुडासैनी, राजन खनाल र लालशंकर घिमिरेसमेत चर्चामा रहेका पात्र हुन् । त्यसमध्ये केहीले आफू यो रेसबाट बाहिरिसकेको बताउँदै आएका छन् । पछिल्लो समय अर्थ मन्त्रालय अन्तर्गतका निकायहरूको नियुक्तिसम्बन्धी संशोधित मापदण्ड सार्वजनिक भएपछि प्रक्रिया झन् रोचक बनेको छ । मापदण्डको प्रत्यक्ष फाइदा राजेन्द्रकिशोर क्षेत्री र डा. रवीन्द्र पाण्डेले पाउने चर्चा हुँदै आएको छ ।
कुनै मान्छे आफैँमा पूर्ण हुँदैन, कसै न कसैमा केही सबल र केही कमजोर पक्ष हुन्छन् । तर, मौद्रिक क्षेत्रको नियामक निकायमा पुग्न आवश्यक योग्यता भने सबैमा हुनै पर्छ । हामीले यहाँ प्राप्त सूचना समेतको आधारमा गभर्नरका उम्मेदवारको कमजोरी लेखाजोखा गर्ने प्रयास गरेका छौँ ।
- यस्ता छन् गभर्नरका सम्भावितहरूको सबल र कमजोर पक्ष
१. महाप्रसाद अधिकारी
महाप्रसाद अधिकारी वर्तमान गभर्नर हुन् । दोस्रो कार्यकालको लागि पनि नियुक्त हुनसक्ने व्यवस्था छ । यतिमात्र होइन, अधिकारीलाई गभर्नरमा नियुक्त गर्दाकै प्रधानमन्त्री अहिले पनि रहेका कारण उनी पनि सम्भावित गभर्नरको सूचीमा सामेल छन् । यद्यपि प्रधानमन्त्री ओलीबाट उनले भरपर्दो आश्वासन नपाएको बताइन्छ ।
विगत पाँच वर्षसम्म राष्ट्र बैंकको गभर्नर रहँदा उनले राष्ट्र बैंक र सरकारबिचको फरकपन जनतासम्मलाई बुझाउन सफल भए । सरकारको छाया बनेर राष्ट्र बैंक बस्नुहुन्न र बस्नुपर्दैन भन्ने यथार्थ बुझाउँदै गर्दा बर्खास्त भएका उनलाई अदालतले पुनर्बहाली गरेको हो ।
यद्यपि उनीमाथि राजनीतिक आस्थाको आधारमा सरकारलाई सहयोग र असहयोग गर्ने गरेको, पुँजी बजारप्रति नकारात्मक रहेकोजस्ता आरोप लाग्ने गरेका छन् । शैक्षिक योग्यताको कहिल्यै नटुङ्गिएको विषयसमेत उनीमाथि तरबार बनेर झुण्डिरहेको छ ।
२. डा. नीलम ढुंगाना
डा. नीलम ढुंगाना राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर हुन् । डेपुटी गभर्नरमध्ये एक जना सिफारिस हुनैपर्ने भएकाले मन्त्रिपरिषदसम्म नाम पुग्ने एउटा बलियो पात्र उनी हुन् । उनी राष्ट्र बैंकको इतिहासमै पहिलो महिला डेपुटी गभर्नर समेत हुन् । महिलालाई उपल्लो स्तरमा पुर्याउने विषयमा उदार मानिने केपी शर्मा ओली नै अहिले प्रधानमन्त्री भएकाले आफू नियुक्त हुनसक्ने आश ढुंगानाको छ ।
त्यसो त, उनी प्रधानमन्त्री ओलीपत्नी राधिका शाक्यकी पूर्वसहकर्मी समेत हुन् । त्यसैले यही संयन्त्रमार्फत् गभर्नर बन्ने उनको प्रयास देखिन्छ ।
तर, राष्ट्र बैंकभित्र उनको स्वीकार्यता र प्रभाव निकै कम रहेको बताइन्छ । करिब ४ वर्ष डेपुटी गभर्नर हुँदा उनले गरेको प्रशंसायोग्य काम समेत खासै केही भेटिँदैन । त्यसो त, नगरकोट प्रकरणमा मातहतका कर्मचारीदेखि अर्का डेपुटी गभर्नरसम्म गरेको व्यवहारले उनको छवि झनै घटाइदिएको छ । पीएचडी उपाधि र समकक्षताको विवाद समेत उनीमाथि लगाइएको छ ।
३. बमबहादुर मिश्र
झापाका बमबहादुर मिश्र अर्का डेपुटी गभर्नर हुन् । राष्ट्र बैंक ऐनले नै व्याख्या गरेकाले स्वाभाविक रूपमा उनको दाबेदारी हुन्छ । राष्ट्र बैंकमा कम समय कार्यकारी निर्देशक भए पनि सबैलाई अचम्मित बनाएर डेपुटी गभर्नरमा सिफारिस र नियुक्त हुन सफल भएका उनी गभर्नरका लागि पनि त्यस्तै ‘म्याजिक’ गर्ने दाउमा छन् ।
सक्रियताको हिसाबले उनी अब्बल देखिन्छन् तर, निर्णय क्षमताको परीक्षण गर्न सक्नेगरी ४ वर्षसम्म उनले खासै केही काम गरेनन् । अर्थतन्त्र र मौद्रिक क्षेत्रको ज्ञानका सम्बन्धमा पनि उनलाई विश्वास गर्ने व्यक्ति निकै कम छन् । त्यसो त बैंकर्ससँग अस्वाभाविक सम्बन्ध राख्ने गरेको आरोपबाट समेत उनी मुक्त छैनन् । अर्की डेपुटी गभर्नरले लगाएको आरोप र त्योबिचमा सतहसम्म देखिएको मनमुटावले मिश्रको छविसमेत घटाएको छ ।
४. डा. गुणाकर भट्ट
भट्ट राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । अमेरिकी विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनलाई अर्थतन्त्र बुझेको व्यक्तिको रुपमा हेरिन्छ । कांग्रेससँग निकट रहेको र सुदूरपश्चिमको समेत भएका कारणले उक्त पार्टीले उनलाई अघि सार्नसक्ने सम्भावना रहेको बताइँदै आएको छ । यद्यपि गभर्नर बन्न कार्यकारी निर्देशकबाट राजीनामा दिनुपर्नेमा अन्तिम समयसम्म उनले राजीनामा दिएका छैनन् ।
समग्र अर्थतन्त्रको विषयमा उनको दखल राम्रो भएका उनी बैंकको नियमन र सुपरीवेक्षण विभागमा समेत केही समय काम गरेका थिए । यद्यपि यो कार्यकालमा नियामकीय तथा निर्णय क्षमता देखिनेगरी काम भएको पाइँदैन । उनीमाथि कतिपयले नियामक क्षमतामा कमजोर भएको भन्ने गरेका छन् भने कतिपयले वर्तमान गभर्नरको कार्यकालमा कडा मौद्रिक नीति ल्याउन भूमिका खेलेको आरोप समेत लगाउने गरेका छन् ।
५. डा. प्रकाशकुमार श्रेष्ठ
गभर्नरको रेसमा अर्का दाबेदार हुन् प्रकाशकुमार श्रेष्ठ । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका उनी उक्त पदमा नियुक्त हुँदा राष्ट्र बैंकमै थिए । अहिले गभर्नर बन्नकै लागि उनले राजीनामा दिएका छन् । उनी छनोट समितिका संयोजक एवं अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् ।
श्रेष्ठलाई पनि अर्थतन्त्र बुझेको व्यक्तिको रूपमा हेरिन्छ । उनले विष्णु पौडेल यसअघि अर्थमन्त्री हुँदा अर्थ मन्त्रालयमा विज्ञ सदस्यको रूपमा कामसमेत गरेका थिए । यद्यपि राष्ट्र बैंकको नियामकीय र सुपरीवेक्षकीय निकायमा खासै लामो समय नबसेका उनीसँग पनि नियामकीय क्षमता कति छ भन्ने प्रस्ट छैन ।
६. देवकुमार ढकाल
राष्ट्र बैंकबाट केही समय अघिमात्रै कार्यकारी निर्देशकबाट अवकाश पाएका देवकुमार ढकाललाई समेत गभर्नरको दाबेदारको रूपमा हेरिएको छ । एमालेनिकट रहेका उनको सक्रियता र निर्णय क्षमताको प्रशंसा हुने गरेको छ ।
यद्यपि गभर्नर बन्न सक्नेगरी राजनीतिक पहुँच पुर्याउने सम्भावना भने उनमा देखिँदैन । त्यसो त, कार्यकारी निर्देशक हुँदा अमुक वाणिज्य बैंकसँग अस्वाभाविक सम्बन्ध बनाएको आरोप उनीमाथि लागेको छ । आफ्नै डेपुटी गभर्नरले लगाएको महिला हिंसाको आरोपबाट समेत उनी मुक्त छैनन् ।
७. ज्ञानेन्द्र ढुंगाना
गभर्नर नियुक्ति सिफारिस समिति गठन भएलगत्तै नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगानालाई गभर्नरको एउटा दाबेदारको रूपमा हेरिएको छ । चार्टर्ड एकाउन्टेन्ट पृष्ठभूमिका उनलाई सत्तारुढ नेपाली कांग्रेस निकट मानिन्छ । उनी राष्ट्र बैंकका पूर्वनिर्देशक समेत हुन् ।
नेपाल बंगलादेश बैंकलाई समस्याग्रस्त अवस्थाबाट माथि उठाएको अनुभवसमेत उनीसँग छ । यद्यपि उनलाई कठिन समयमा जिम्मेवारी लिन नचाहने व्यक्ति भएको आरोपसमेत लाग्ने गरेको छ । राष्ट्र बैंक आफैँले स्वार्थ बाझिने भन्दै बैंकहरूमा कुलिङ पिरियडको व्यवस्था गरेको अवस्थामा वाणिज्य बैंकको सीईओ भएका व्यक्ति तत्कालै गभर्नर बन्दा स्वार्थ बाझिनेगरी काम हुन सक्ने आशङ्कासमेत गरिएको छ ।
८. अशोक शेरचन
अशोक शेरचनलाई गभर्नरको अर्को उम्मेदवारको रूपमा हेरिएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका उनले गभर्नरको आकाङ्क्षा राखे पनि अहिलेसम्म राजीनामा भने दिएका छैनन् । बागलुङको थकाली समुदायका उनलाई गभर्नर बनाउन एमाले सांसद देवीप्रकाश भट्टचनले राजनीतिक तहमा लबिङ गरिरहेको बताइन्छ ।
शेरचन प्रभु बैंकका दोस्रो कार्यकालका लागि सीईओको रूपमा कार्यरत छन् । दुई वाणिज्य बैंक र २० भन्दा धेरै वित्तीय संस्था मिलेर बनेको प्रभु बैंकमा सिनर्जी ल्याउनेगरी काम गर्न नसकेको आरोप उनीमाथि लाग्ने गरेको छ । उनीमाथि नियुक्ति विवादको तरबारसमेत झुण्ड्याइएको छ । स्वार्थ बाझिने आरोपबाट समेत ढुंगाना जस्तै उनीसमेत मुक्त छैनन् ।
९. रामेश्वर खनाल
रामेश्वर खनाल नेपाल सरकारका पूर्वअर्थ सचिव तथा सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार आयोगका अध्यक्ष हुन् । अर्थ सचिव हुँदा राष्ट्र बैंक बोर्डमा रहेर काम गरेका उनलाई अर्थतन्त्र बुझेको व्यक्ति मानिन्छ । अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेट निर्माणका क्रममा विवादमा तानिएका उनले सचिवबाट राजीनामा दिएका थिए ।
कर्मचारी पृष्ठभूमि भएर पनि निर्णय क्षमतामा राजनीतिक नेतृत्वसँग ट्याकल गर्न सक्ने व्यक्तिको रूपमा खनाललाई हेरिन्छ । यद्यपि यही स्वभाव उनका लागि सबल र कमजोर दुवै रूपमा देखा परेको छ । राजनीतिक नेताहरू उनलाई पुँजीवादी विचारप्रति बढी र कम्युनिस्टप्रति कम उदार भएको व्यक्तिको रूपमा समेत हेर्ने गरेका छन् ।
१०. सुशील भट्ट
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा लगानी बोर्डका पूर्वकार्यकारी निर्देशक भट्टलाई गभर्नरको अर्को दाबेदारको रूपमा हेरिँदै आएको छ । राजनीतिक बिचौलियाको भूमिका खेल्ने गरेको भनेर चिनिँदै आएका दीपक भट्टको सहोदर दाइ रहेका उनी सोही बलमा योजना आयोगदेखि लगानी बोर्डसम्म पुगेका थिए । यद्यपि दुवै भूमिकामा रहँदा उनले धेरै विवादित काम भने गरेनन् ।
उनलाई गभर्नर बनाउँदा सरकारलाई बिचौलियाको इसारामा चलेको गम्भीर आरोप लाग्न सक्ने देखिन्छ । यस्तो ‘रिस्क’ लिएर उनलाई सरकारले गभर्नर बनाउला कि नबनाउला भन्नेमा संशय छ । उनी गभर्नर बनेको अवस्थामा योग्यताको सम्बन्धमा समेत विवाद हुने सम्भावना देखिन्छ ।
११. डा. रवीन्द्र पाण्डे
डा. रविन्द्र पाण्डे नेपाल राष्ट्र बैंकका सञ्चालक हुन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत रहेका उनी राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष तथा अन्य विभिन्न संस्थाका सञ्चालक भइसकेका छन् । बाहिर चर्चामा नआउने तर राजनीतिक लबिङ गर्न सिपालु उनले गभर्नरको बाजी मार्ने हो कि भन्ने आकलन समेत हुँदै आएको छ ।
अर्थ मन्त्रालयले आफू मातहतका पदाधिकारीको नियुक्ति र सेवासम्बन्धी मापदण्ड संशोधन गरेर ६५ वर्ष उमेरहद हटाएपछि उनैलाई ल्याउन लागिएको हो कि भन्ने चर्चा समेत छ । यद्यपि धेरै उमेर, धेरै ठाउँमा राजनीतिक नियुक्ति पाएका उनी राष्ट्र बैंकमा आउँदा विवादरहित भने हुने देखिँदैन ।
१२. राजेन्द्रकुमार क्षेत्री
राजेन्द्र कुमार क्षेत्री पूर्वमुख्य सचिव हुन् । ६५ वर्षभन्दा माथि उमेर पुगेको उनलाई अर्थ मन्त्रालयको मापदण्ड संशोधनपछि गभर्नरको अर्को दाबेदारको रूपमा हेरिएको छ । उनी एमालेनिकट मानिन्छन् ।
उनले ऊर्जा मन्त्रालयको सचिव भएर लामो समय काम गरेका थिए । कानुन सेवामा रहेका उनी विवादबिच प्रशासन सेवामा आएको उनको इतिहास छ । कानुनकै विद्यार्थी रहेको उनले अहिलेसम्म अर्थ मन्त्रालय वा राष्ट्र बैंकसँग सम्बन्धित उल्लेख्य काम गरेका छैनन् । यो अवस्थामा उनी गभर्नर बनिहाले पनि विवादरहित हुने अवस्था भने देखिँदैन ।
१३. रामशरण पुडासैनी
रामशरण पुडासैनी पनि गभर्नरको दाबेदारको रूपमा चर्चामा रहेकामध्ये एक व्यक्ति हुन् । नेपाल सरकारको पूर्वसचिव, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकको सञ्चालक समितिका अध्यक्षसमेत भएका व्यक्ति हुन् । त्यसैले, गभर्नर बन्ने योग्यताका सम्बन्धमा खासै विवाद छैन ।
तर, उनी जुनसुकै तहमा भए पनि नियुक्ति लिइरहन चाहने व्यक्तिको रूपमा चिनिन्छन् । यसअघि बीमा प्राधिकरणको अध्यक्ष बन्न दरखास्त हालेका उनी उक्त पदमा नियुक्त हुन असफल भएका थिए । उक्त प्रतिस्पर्धामा भाग लिनुले पनि उनलाई यो प्रतिस्पर्धाबाट टाढा पुर्याएको देखिन्छ ।
१४. लालशंकर घिमिरे
लालशंकर घिमिरेलाई पनि गभर्नरका दाबेदारको रूपमा हेरिएको छ । नेपाल सरकारको पूर्वसचिव रहेको उनी अघिल्लो कार्यकालमा केपी शर्मा ओली नेतृत्वकै सरकार हुँदा राजस्व सचिव बनेका थिए । सचिवबाट अनिवार्य अवकाशपछि आर्थिक सल्लाहकारमा नियुक्त भएका उनलाई पनि पहुँच पुर्याउनसक्ने व्यक्तिको रूपमा हेरिन्छ ।
यद्यपि यसअघिको अनुभव हेर्दा मौद्रिक क्षेत्रमा उनको योगदान र अनुभव खासै रहेको देखिँदैन ।
- सिफारिस समितिलाई चुनौती
अहिले गभर्नर नियुक्तिका लागि सिफारिस समिति रहेका तीनै जना व्यक्ति कम विवादित र सुझबुझपूर्ण निर्णय लिनसक्ने व्यक्तिका रूपमा चिनिन्छन् । त्यसैले कस्तो व्यक्ति नियुक्त हुन्छ भन्ने विषयले उनीहरूको व्यक्तित्वमा समेत प्रभाव पार्ने देखिन्छ ।
गभर्नरको उम्मेदवार सिफारिस र नियुक्ति दुवैमा अर्थमन्त्री विष्णु पौडेलको भूमिका यसमा सबैभन्दा बढी छ, किनभने उनी छनोट समितिका संयोजक र मन्त्रिपरिषद्मा गभर्नर नियुक्तिको प्रस्तावकसमेत हुन् ।
त्यस्तै, कांग्रेसको कोटाबाट सदस्य नियुक्त भएका विश्व पौडेललाई पार्टीको हित र आम रूपमा स्वीकार गर्न सक्ने व्यक्ति सिफारिस गर्नुपर्ने चुनौती देखिन्छ । यो अवस्थामा समिति र सरकारले व्यक्तिको योग्यता, क्षमता र अनुभव हेर्छ कि प्रभाव र प्रलोभनमा पर्छ भन्ने हेर्न बाँकी छ । यद्यपि यसअघिका नियुक्तिको अवस्था भने सरकारले आम रूपमा स्वीकार गर्नसक्ने व्यक्ति ल्याउँछ भन्ने विश्वास गर्नसक्ने आधार देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउडका दिग्गज अभिनेता मनोज कुमारको निधन
-
फ्राईडे रिलिज : एक्लै आयो ‘वसन्त’
-
राजावादी आन्दोलनको क्षतिमा ५ करोड बराबरका ४३ वटा बीमा मागदाबी
-
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व सम्पन्न
-
मिर्गौला फेल हुनु अघि शरीरले देखाउँछ यस्ता सङ्केत
-
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का