शुक्रबार, २२ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : कांग्रेसभित्र प्रतिपक्ष

झन् कमजोर बन्दै डा. शेखर कोइराला, किन टाढिए निकटस्थहरू ?

बिहीबार, २१ चैत २०८१, १० : ०५
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसभित्रको प्रतिपक्षी डा. शेखर कोइराला नेतृत्वको इतर समूह कमजोर बन्दै गएको छ । कांग्रेसको १४ औँ महाधिवेशनमा एउटै प्यानल बनाएर सभापतिको उम्मेदवार बनेका डा. कोइराला र महामन्त्रीमा उम्मेदवार गगन थापालगायत आफ्ना सहकर्मी नेताहरूसँग डा. कोइरालाको सम्बन्ध चिसिएको छ । 

उनीहरूबिचको फाटो पार्टीका भ्रातृसंस्थामा पनि देखिएको छ । यही चैत ८ र ९ गते भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनमा दुई नेताबिचको कलह छताछुल्ल अवस्थामा देखियो । संघको अधिवेशनमा अध्यक्षका लागि डा. कोइराला र महामन्त्री थापाका छुट्टाछुट्टै उम्मेदवार बने । थापाले माधव चम्लागाईं र डा. कोइरालाले विकास थापालाई उम्मेदवार बनाएका थिए । 

पछि सभापति शेरबहादुर देउवा र संस्थापनले पनि महामन्त्री थापाले अघि सारेका चम्लागाईंलाई समर्थन गरेपछि डा. कोइरालाका उम्मेदवार थापाले नयाँ नेतृत्व चुन्ने निर्वाचन बहिष्कार गरे । निर्वाचन नै बहिष्कार गरेपछि सभापति देउवाले महाधिवेशन अवैध भएको भन्दै पुनः निर्वाचन गर्न आदेश दिन्छन् भन्ने कोइराला समूहको बुझाइविपरीत मतगणना गर्न निर्देशन दिए । 

त्यसपछि कोइराला समूहले थापाको नेतृत्वमा पत्रकार सम्मेलन गरेर समानान्तर समिति घोषणा गर्‍यो । समानान्तर समिति घोषणा कार्यक्रममा डा. शेखर निकट कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल र नेता गुरुराज घिमिरे सहभागी भएपछि डा. कोइराला र महामन्त्री थापाबिचको सम्बन्ध बिग्रिएको थप प्रमाण खोज्नै परेन । 

तर, डा. कोइरालानिकट केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल महामन्त्री थापासँग कोइरालाको सम्बन्ध बिग्रेजस्तो आफूलाई नलागेको बताउँछन् । ‘हामीले देख्दा दुई नेताबिच सम्बन्ध बिग्रेजस्तो लाग्दैन,’ डा. पोखरेलले रातोपाटीसँग भने, ‘तर पार्टी सरकारमा भएको वेला को नेतासँग नजिक हुँदा फाइदा हुन्छ भन्नेहरूले उचाल्ने/पछार्ने गरिराख्छन् ।’ 

चम्लागाईंको पक्षमा मत माग्न १४ औँ महाधिवेशनमा डा. कोइरालाकै प्यानलबाट उम्मेदवार बन्दै केन्द्रीय सदस्य बनेका अजयबाबु सिवाकोटी र प्रतिमा गौतम खटिएका थिए । निर्देशन समिति संयोजक आचार्य, जसले चम्लागाईलाई निर्वाचित गराउन आफ्नो चौतर्फी विरोध हुँदाहुँदै प्रयास गरे, उनी पनि १४ औँ महाधिवेशनमा डा. कोइराला प्यानलबाटै उम्मेदवार बनेर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 

सिवाकोटीले खुलातर्फ, आचार्य खसआर्य पुरुषतर्फ र गौतमले खसआर्य महिलातर्फ उम्मेदवार बन्दै केन्द्रीय सदस्य जितेका थिए । 

यो त महामन्त्री थापासँगको विवाद भयो । डा. कोइरालाले १४ औँ महाधिवेशनमा आफ्नो पक्षमा लागेका नेताहरूलाई पनि बचाउन सकेको देखिएको छैन । कोइरालाको प्यानलबाट उम्मेदवार बन्दै पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए बद्री पाण्डे । कांग्रेस र एमालेबिच गत असार १७ गते ७ बुँदे सहमति बनेर ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बन्दा पनि पाण्डे डा. कोइरालाको सिफारिसमै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका हुन् । पाण्डेले मन्त्री बनेपछि डा. कोइरालाका विश्वासपात्र पर्यटन व्यवसायी गोरखा ‘क’ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईँलाई मन परेन । पर्यटनमा बजगाईअनुकूल काम मन्त्री पाण्डेले नगरेपछि पाण्डेलाई पटक–पटक दुःख दिँदै आएका छन् । बजगाईँले पछिल्लोपटक फागुन–२८ गते केन्द्रीय अनुशासन समितिमा मन्त्री पाण्डेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै अनुशासनात्मक कारबाहीको माग गर्दै लिखित पत्र बुझाएका छन् । 

मन्त्री पाण्डेले चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङको नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हितविपरीत बोलेकाले अनुशासनको कारबाही गर्न माग गरेका छन् । 

यसअघि पनि बजगाईँले मन्त्री पाण्डेले रकम लिएर क्यासिनोको लाइसेन्स दिएको आरोप लगाएका थिए । गत कात्तिक २७ गते बजगाईँले सामाजिक सञ्जालमा मन्त्री पाण्डेमाथि भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालनको इजाजतपत्र दिँदा घुस रकम लिएको आरोप लगाएका थिए ।

rajendra-bajgain-1432025113510-1000x0

‘एक क्यासिनो सञ्चालकले हामीलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रस्ट गरे । दृष्टान्त: मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गर्‍यो । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो,’ बजगाईँले फेसबुकमा लेखेका थिए, ‘मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थे, सभापति र वहाँको परिवारले दिएनन् भन्दै हिँड्छ, यो झुट हो, किनभने सभापति गृह परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा आफैँ प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गरेको १५ औँ सांसद साक्षी छौँ ।’  

त्यसपछि डा. कोइरालाको मध्यस्थतामा पार्टी अनुशासन समितिले दुई नेतासँग छलफल गरेपछि बजगाईँले माफी माग्दै आरोपहरू फेसबुकबाट हटाएका थिए । अहिले फेरि पुनः बजगाईँले आफूविरुद्ध उजुरी दिएपछि डा. कोइरालासँग पाण्डे टाढिएका छन् । डा. पोखरेल भने लाभ दिन नसक्ने नेताले कार्यकर्ता बचाउन गाह्रो रहेको बताउँछन् । 

एक नेता भन्छन्, ‘एउटा पर्यटन व्यवसायी सांसद, जो आफूसँग निकट छ, त्यसलाई प्रयोग गरेर पार्टीको निर्वाचित सहमहामन्त्रीलाई अनावश्यक लाञ्छना लगाएपछि त्यही नेताको पछि लागिरहनु आवश्यक छैन ।’

सहमहामन्त्री पाण्डे सुदूरपश्चिम प्रदेशको बाजुराबाट निर्वाचित सांसद हुन् । डा. कोइरालाले १५ औँ महाधिवेशनको अभियान सुदूरपश्चिमको कैलालीबाट सुरु गर्दा पाण्डे उपस्थित थिएनन् । 

महामन्त्री थापासँग डा. कोइरालाको सम्बन्ध चिसिएपछि १४ औँ महाधिवेशनमा वर्तमान संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवार बनेका तर संसदीय दलको नेताको निर्वाचनमा इतर समूहमा लागेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पनि महामन्त्री थापासँगै लागेका छन् । महामन्त्री थापाका ससुरा कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी पनि पछिल्लो समय कोइरालाले बोलाउने अनौपचारिक बैठकमा त्यति देखिन्नन् । 

१४ औँ महाधिवेशनमा निर्वाचित भएका सभापतिसहित १३ पदाधिकारीमध्ये डा. कोइराला प्यानलबाट उम्मेदवार भएर चार जनाले जितेका थिए । त्यसमा उपसभापति धनराज गुरुङ, महामन्त्रीमा थापा तथा सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट पाण्डे र दलितबाट जीवन परियार थिए । 

तीमध्ये उपसभापति गुरुङ सहकारी काण्डमा पूर्वश्रीमती मुछिएपछि खुलमखुला सार्वजनिक कार्यक्रममा जाने र कोइरालाको पक्षमा वकालत गर्ने स्थानमा छैनन् । महामन्त्री थापा र सहमहामन्त्री पाण्डे डा.कोइरालाको व्यवहारका कारण टाढिएका छन् । राजनीतिक विश्लेषक शंकर तिवारी डा. कोइरालामा बोलीको परिपक्वता हुन नसक्दा कार्यकर्ता टाढा भएको तर्क गर्छन् ।  

निर्वाचित १ सय ३३ सदस्यीय केन्द्रीय समितिमा डा. कोइराला प्यानलबाट ४० जनजातिले जितेका थिए । तीमध्ये डा. शशांक कोइराला र विनोद चौधरीसहित केही नेता त दुवै प्यानलमा थिए । उनको प्यानलबाट जितेका दीलेन्द्रप्रसाद बडु, सुनिलबहादुर थापासहित केही नेता उनीबाट टाढिएका छन् । उनीपक्षीय नेता डा. रामशरण महत बिरामी भएका कारण राजनीतिमा निष्क्रिय छन् । यी नेताहरूका कारण डा.शेखरसँग नजिक भएका नेताहरू पनि स्वाभाविक रूपमा टाढा हुँदा कोइराला झन् कमजोर हुँदै गएका छन् । त्यो उनीपक्षीय केन्द्रीय सदस्य डा. पोखरेल स्विकार्छन् । ‘कांग्रेसभित्रको डा. शेखर कोइरालाले हाँकेको प्रतिपक्षी समूह त कमजोर नै छ । सरकारका कमजोरी, पार्टी नेतृत्वका कमजोरीमा बोल्ने नेता त धेरै कम छन्,’ डा. पोखरेलले भने, ‘नेपालमा अहिले ‘पोलिटिक्स फर पावर’ भन्ने संस्कार हाबी भएको छ । पद आवश्यक छैन भन्दै विपक्षमा बस्नेहरूको समूह त सानै हुन्छ नि ।’

सभापति देउवाले आफ्नो विपक्षमा लाग्ने नेतामाथि राजनीतिक र वैचारिक रूपमा आक्रमण गर्ने भएकाले पनि प्रतिपक्षी कमजोर बनेको डा. पोखरेलको बुझाइ छ । उनी भन्छन्, ‘पार्टीभित्रको प्रतिपक्षीमाथि अहिले त नेतृत्वको आक्रमण छ । पार्टीभित्रको फरक मतलाई दबाएर लैजाने, इगो साध्ने पार्टी नेतृत्व तहमा बसेका नेताहरूको आचरण देखिएको छ ।’

महामन्त्री थापाले २०८० फागुनमा गोदावरीमा सम्पन्न महासमिति बैठकमा राखेको फरक मत सभापतिसहित सिंगो पार्टीले स्वीकारेपछि कांग्रेसभित्र अहिले फरक मत नै नरहेको बताउँछन् राजनीतिक विश्लेषक तिवारी ।  

‘२०८० फागुनमा ललितपुरको गोदावरीमा भएको पार्टीको महासमिति बैठकमा महामन्त्रीद्वयले राखेका सबै फरक मतलाई अनुमोदन गर्‍यो,’ तिवारी भन्छन्, ‘फरक मतमा महामन्त्री थापाले मेरो कुरा भनेर अमूर्त कुरा गर्नुभएको थिएन । थापाले विचार, दर्शन, सिद्धान्तका आधारमा पार्टी चल्नुपर्छ भनेर फरक मत राख्नुभएको थियो । ती सबै फरक मतलाई पार्टीले स्विकार्‍यो । महासमिति बैठकबाट उहाँको प्रस्ताव पारित भएपछि पार्टीमा एक किसिमले फरक मतहरूको अन्त्य भयो ।’

कोइरालाले पार्टीभित्र फरक मतहरूको नेतृत्व गर्न नसक्ने तिवारीको बुझाइ छ । ‘कुनै पनि पार्टीको नेता बन्न राष्ट्रिय एजेन्डामा नेतृत्व लिन सक्नुपर्छ । आफ्नो बोलीमा ‘कन्सिस्टेन्सी’ राख्न सक्नुपर्छ,’ तिवारीले भने, ‘मन्त्री को बनाउने ? को नबनाउने भन्ने होइन । मन्त्री यसरी यसरी बनाउनुपर्छ भन्ने मापदण्ड बनाउनु पर्छ । त्यो डा. शेखर कोइरालामा देखिएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप