शुक्रबार, २२ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : कांग्रेसभित्र प्रतिपक्ष

‘पार्टीभित्रको प्रतिपक्षीमाथि नेतृत्वको आक्रमण छ’

लाभ दिन नसक्ने नेताले लाभ खोज्ने कार्यकर्ता बचाउन गाह्रो छ : डा. गोविन्द पोखरेल
बिहीबार, २१ चैत २०८१, ०९ : ४१
बिहीबार, २१ चैत २०८१

योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल अर्थराजनीतिका जानकार हुन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित उनी इतर समूहका नेता डा. शेखर कोइरालानिकट छन् ।

डा. पोखरेलसँग कांग्रेसभित्रको प्रतिपक्षी सधैँ बलियो हुने गरेकोमा अहिले किन कमजोर अवस्थामा पुग्यो भनेर रातोपाटीले सोधेको छ । उनीसँग कांग्रेसको आन्तरिक समीकरणबारे गरिएको कुराकानी : 

  • कांग्रेस भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनमा विवाद भएर समानान्तर समिति गठनसम्म पुग्यो । समानान्तर समिति घोषणा कार्यक्रममा तपाईं आफै उपस्थित हुनुहुन्थ्यो । विवादको खास कारण के थियो ?

यो पार्टीको भ्रातृसंस्थाको आन्तरिक निर्वाचन हो । नयाँ नेतृत्व चयन निर्वाचनबाट हुँदै गर्दा जित्ने उम्मेदवारलाई हार्नेले माला लगाइदिने वातावरण निर्माण गर्नुपर्थ्यो । पार्टीका भ्रातृसंस्थाको निर्वाचन आयोगले तोकेको तिथि मितिभित्र गर्नुपर्ने त होइन । पार्टीमा यस्तो गुट–उपगुट भएर समस्या भइरहेको अवस्थामा मन मिल्ने गरेर बढ्नुपर्थ्यो । एक दुई दिन समय लगाएर भए पनि दुवै पक्षलाई मिलाएर लैजानुपर्थ्यो । 

अपाङ्ग संघको महाधिवेशनमा त पार्टीभित्रको गुट टुटको लडाइँ होइन, गुटभित्रका नेता–नेताबिचको भिडन्त देखियो ? जित्ने महामन्त्री गगन थापाका उम्मेदवार, हारेर समानान्तर समिति गठन गर्ने डा. शेखर कोइरालाका उम्मेदवार ?

तपाईंले भनेजस्तो होइन । उहाँहरूको विगत हेर्दा जित्ने मान्छे पनि कोइराला परिवारसँग लामो सम्बन्ध छ । हारेर समानान्तर समिति बनाउने मान्छे पनि कोइराला परिवारसँग ‘एट्याचमेन्ट’ भएको मान्छे हो । १४ औँ महाधिवेशनमा भएको समूहका आधारमा हेर्ने हो भने अहिलेको निर्वाचनमा फलानो संस्थापन र फलानो इतर समूह भन्ने देखिएन । दुवैतिर दुवै पक्षका मान्छे छन् । नेताहरूका आधारमा गुट निर्माण भएको भन्दा पनि आफ्नो आकांक्षालाई आधार बनाएर समूह बनाएको देखिन्छ । हामी अन्यायमा पर्‍यौँ, समानान्तर समिति बनाउँछौँ, तपाईंहरू आउनुस् भन्नुभयो, हामी गयौँ । समानान्तर समिति गठनको कार्यक्रममा पनि मैले पार्टीको आन्तरिक निर्वाचनमा मन फाट्ने होइन, जोड्ने गरी जानुपर्छ भनेको थिएँ । हामी नगएको भए पनि समानान्तर समिति घोषणा गर्नुहुन्थ्यो नै । 

कांग्रेसमा निषेध गर्ने संस्कार मौलाइरहेको छ । कोही हिम्मत गरेर बाहिर बोल्छन् । कोही भित्र लागे पनि लफडा हुन्छ भनेर आलोचना हुन्छ भनेर बोल्दैनन् ।
  • १४ औँ महाधिवेशनबाट प्रतिपक्षी बनेको समूहका नेताहरू नै तितरबितर भएपछि त झन् कमजोर बन्दैन ?

कांग्रेसभित्रको डा. शेखर कोइरालाले हाँकेको प्रतिपक्षी समूह त कमजोर नै छ । सरकारका कमजोरी, पार्टी नेतृत्वका कमजोरीमा बोल्ने नेता त धेरै कम छन् । नेपालमा अहिले ‘पोलिटिक्स फर पावर’ भन्ने संस्कार हाबी भएको छ । 

पद आवश्यक छैन भन्दै विपक्षमा बस्नेहरूको समूह त सानै हुन्छ नि । त्यस्तो समूहलाई निर्वाचनले मात्रै बलियो बनाउने हो । राजनीतिमा स्वार्थ भएको मान्छेले सत्ता नजिक भएकालाई साथ दिन्छ, चाहे त्यो पार्टीको होस् या राज्यको । 

पार्टीभित्रको प्रतिपक्षीमाथि अहिले त पार्टी नेतृत्वको आक्रमण छ । पार्टीभित्रको फरक मतलाई दबाएर लैजाने, इगो साध्ने पार्टी नेतृत्व तहमा बसेका नेताहरूको आचरण देखिएको छ । विरोध गरेपछि कित्ताबाट बाइकट भइहाल्ने अवस्था छ । 

यस्तो अवस्थामा सत्ताबाहिर बसेर सत्ताका गल्ती कमजोरी औँल्याएर पार्टीलाई बलियो बनाऊँ भन्ने मत राख्ने मान्छे धेरै कम छन् । कसैले महसुस गरे पनि बोल्दैनन् । किनभने कांग्रेसमा निषेध गर्ने संस्कार मौलाइरहेको छ । कोही हिम्मत गरेर बाहिर बोल्छन् । कोही भित्र लागे पनि लफडा हुन्छ भनेर आलोचना हुन्छ भनेर बोल्दैनन् । यो माहौलमा प्रतिपक्षी विचार राख्नेले सत्ताको नजिक हुनेहरूसँग विपक्षी मत राख्नु भनेको ठुलो हिम्मत हो । 

  • पार्टी नेतृत्व र सरकारका कमी कमजोरीविरुद्ध बोलिरहेका महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाबिचको सम्बन्ध पनि सुमधुर छैन भन्ने कुरा आइरहेको छ नि ?

मेरो विचारमा उहाँहरूबिच सम्बन्ध बिग्रिएको छैन । अस्ति कार्यसम्पादन समितिको बैठकअघि छलफलका लागि आफू निकटका साथीहरूलाई बोलाउनुभएको थियो । त्यहाँ महामन्त्रीज्यूलाई पनि बोलाउनुभएको थियो । महामन्त्रीज्यू उपत्यका बाहिरको कार्यक्रममा भएको भएर आउन सक्नुभएन । उहाँहरूबिच त्यो किसिमको सम्पर्क छ । हामीले देख्दा सम्बन्ध बिग्रेजस्तो लाग्दैन, तर पार्टी सरकारमा भएको वेला को नेतासँग नजिक हुँदा फाइदा हुन्छ भन्नेहरूले उचाल्ने/पछार्ने गरिराख्छन् । 

  • उहाँहरूबिच मात्रै होइन डा. शेखरकै समूहमा रहेका सहमहामन्त्री र प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंबिच पनि ‘वार’ चलिरहेको छ नि ?

मैले व्यक्तिको नाम लिन्नँ । धेरै मान्छेहरू आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न कता लाग्ने भन्ने विषय निर्धारण गर्छन् । आफ्नो सैद्धान्तिक राजनीति सकिएपछि, गठबन्धन गर्ने संस्कार आएपछि राजनीति केका लागि ? राजनीति विकासका लागि कि शक्ति र सत्ताका लागि ? राजनीति शक्ति र सत्तामा केन्द्रित हुन पुगिसकेपछि त को कहाँ कसरी पुग्ने भन्ने व्यक्तिगत फाइदा, घाटाका आधारमा निर्धारण हुन्छ । म फलानो समूहको भनेर कोही पनि बोल्ने अवस्था अहिले देखिन्न । 

  • प्रसंग केही बदलौँ, पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्यका लागि के गर्नुपर्छ ?

अहिले एउटा निर्वाचनपछि नेपालमा मासिक भत्ता खाने ४० हजार रोजगारी सिर्जना हुन्छन् । ३७ हजार ९ सय ६५ जना वडासदस्यदेखि राष्ट्रपतिसम्मलाई मासिक भत्ता खानेगरी राजनीतिक पद मिल्छ । त्यसपछि संसद्का स्वकिय सचिव, गाउँपालिका/नगरपालिका प्रमुख/उपप्रमुखका स्वकीय सचिव सल्लाहकार, विभिन्न आयोगलगायतमा नियुक्त गर्दा करिब करिब ४० हजार मान्छेले राज्य स्रोतबाट भत्ता खान्छन्, राजनीतिमा संलग्न भएबापत । पूर्वहरूले कति खान्छन्, लेखाजोखा नै छैन । 

सरकारले गरेका गतिविधि, पार्टीले गरेका गतिविधिमा फरक मत राख्ने धेरै होलान् । तर, बोलेमा लाभको पद गुम्ने डरले बाहिर बोल्दैनन् । 

कुन नेताको पछि लाग्दा छिटो लाभको पदमा पुग्न सकिन्छ भन्ने सबैले हेर्छन् । पछिल्लो चरणमा विचार, दर्शन, आदर्श भन्ने देखिएको छैन । सबैले सरकार बनाएका छन् । कार्यशैली र शासकीय शैलीमा धेरै मतभिन्नता त देखिएन । एक मना सरकार भए पो नेपाली कांग्रेसले २०४८ सालदेखि २०५१ सालसम्म राम्रो गरेको थियो भनेजस्तै भन्न पाइन्थ्यो । अहिले त मिलीजुली सरकार भएपछि त कसको आदर्श, कसको विचार, कसको सिद्धान्त भन्ने नछुटिने अवस्थामा राजनीतिमा व्यक्तिले लाभहानिको कुरा हेर्छ । लाभ हेर्ने भएपछि ४० हजार लाभग्राही पदमा पुग्न कुनै न कुनै नेतासँग नजिक हुन पर्‍यो । कसै न कसैको तावेदारी गर्न पर्‍यो । तावेदारी त सत्ता पक्ष वा सत्ता पक्षको नजिक भएकाहरूकै गर्दा फाइदा हुने देखियो । सत्ता र सरकारको विरोध गर्नेले अवसर नपाउने भयो । 

आफ्नो अनुकूल नहेरी राम्रो नराम्रो काम छुट्टाएर बोल्ने धेरैथोरै मान्छे हुन्छन् । धेरैले आफू र आफ्नो नेताको अनुकूल हेरेर सार्वजनिक रूपमा भनाइ राख्छन् । पार्टीमा पनि गुट उपगुट हुनुका कारण बाँडफाँटको राजनीतिको उपज हो । 

कता लाग्दा वडासदस्यको टिकट पाइन्छ, कता लाग्यो भने समानुपातिकमा परिन्छ, कता लागियो भने सांसदको टिकट पाइन्छ, कता लाग्यो भने मन्त्री पाइन्छ भन्नेतिर धेरै लागिरहेका छन् । 

लाभको पद हासिल गर्ने मिसनसहित भएको राजनीतिभन्दा बेग्लै हिसाबले दर्शन, विचार, देशबारे कमैले विचार राख्छन् । सरकारले गरेका गतिविधि, पार्टीले गरेका गतिविधिमा फरक मत राख्ने धेरै होलान् । तर, बोलेमा लाभको पद गुम्ने डरले बाहिर बोल्दैनन् । 

  • पहिला कांग्रेसमा संस्थापन र विपक्षीमा आफ्ना कार्यकर्ता जोगाउने होडबाजी हुन्थ्यो । अहिले पार्टीभित्रको विपक्षमा रहेका डा. शेखरले आफ्ना कार्यकर्ता जोगाउन सकेनन् भन्ने कुरा आएको छ नि ?

पहिला एउटा निर्वाचन भएपछि ४० हजार पद सिर्जना हुन्थेनन् । लाभका पद थोरै मात्रै हुन्थे । पार्टी राजनीति गर्न संस्थापन भए पनि विपक्षी भए पनि पेलिन पर्दैनथ्यो । पार्टीमा थोरै मात्रै नेता थिए । अहिले जिल्ला समिति नै ५० देखि १०० सदस्यसम्म भइसकेको छ । राजनीतिक पद धेरै भएकाले ती पदको महत्त्व कम भयो । पार्टी संगठनमा पार्टी विचार प्रसारप्रचार गर्ने, पार्टीको आदर्श जनतासम्म पुर्‍याउने सम्मानित कामको सम्मान कम भएको कारण लाभको पदतिर आकर्षण बढी भयो । 

त्यसो हुँदा संस्थापनमा भएको मान्छेले जे पायो त्यही बार्गेनिङ गरेर विपक्षमा रहेको मान्छेलाई लाभको पद नदिने भयो । लाभ नभए पनि सत्ताले गर्ने गल्तीको विरोध गर्नुपर्छ भन्ने जति दुःख पाए पनि सँगसँगै विपक्षमा रहने भयो । पछिल्लो समय देखिएकै छ, लाभ नहुँदा नेताहरू कुन गुटमा थिए, लाभ पाएपछि हाम्फालेर कुन गुटमा पुगे । लाभ दिन नसक्ने मान्छेले लाभ खोज्ने कार्यकर्ता बचाउन गाह्रो छ । 

(कांग्रेस केन्द्रीय सदस्य डा. पोखरेलसँग रातोपाटीकर्मी मधुसुधन भट्टराईले गरेको कुराकानी)            

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप