शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको प्रस्टोक्ति, वारपारको आन्दोलनमा शिक्षक

बुधबार, २० चैत २०८१, २२ : ००
बुधबार, २० चैत २०८१

आज २०८१ चैत २० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • शिक्षक आन्दोलन

जनकप्रसाद पौडेल महोत्तरीको राष्ट्रिय सरस्वती माविका शिक्षक हुन् । विगत २९ वर्षदेखि त्यही विद्यालयमा राहत शिक्षकको रूपमा पढाउँदै आएका छन् । उनीसँगै पढेकाहरू आफ्नो जागिरबाट रिटायर्ड भइसकेका छन् । उनले पढाएका विद्यार्थीहरू अहिले पनि प्रतिष्ठित पेसामा आबद्ध छन् । कतिपय त सरकारी सेवामा आबद्ध भएर निवृत्ति समेत भइसकेका छन् । तर, उनी आफ्नो जागिर कति बेला खुस्किने हो भन्नेमा चिन्तित हुन्छन् । 

  • तीनकुने घटना

राजधानीको तीनकुनेमा शुक्रवार भएको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले ५८ राउन्ड गोली प्रहार गरेको छ । गोली चल्दा २० जनालाई लागेको प्रहरीले पुष्टि गरेको छ । प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ ।

  • सहकारी दिवस

आज ६८ औँ राष्ट्रिय सहकारी दिवस । २०१३ सालमा चैत २० गते बखानसिंह गुरुङको नेतृत्वमा चितवनको शारदानगरमा बखान ऋण सहकारी समिति स्थापना भएको भएसँगै नेपालमा सहकारी अभियानको सुरुवात भएको थियो । 

  • प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका हुन् । थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्रासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबिच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे । 

  • रवि लामिछानेले चाहेको ‘म्यासिभ रिफर्म’ 

साढे पाँच महिनामा फेरि पार्टीको जिम्मेवारीमा फर्केका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी संरचनामा व्यापक सुधार गर्ने चाहनामा छन् । सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा लामिछानेले पार्टी संरचनामा व्यापक सुधार गर्ने चाहना व्यक्त गरेका हुन् ।

  • बार चुनाव

कानुन व्यवसायीहरूको संगठन नेपाल बार एसोसिएसनको २५ सदस्यीय २७औँ कार्यसमिति चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । निर्वाचनमा सत्तापक्षीय नेकपा एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बिच गठबन्धन भएको छ ।

  • बाढीले क्षतिग्रस्त सडक

बाढीले क्षतिग्रस्त सडकको सरकारले धमाधम ठेक्का आह्वान थालेको छ । तर क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि भने ठेक्का आह्वान हुन नसकेको सडक विभागले जनाएको छ । 

  • न्यायालय

 मोरङमा फोक्सो एवं श्वासप्रश्वाससम्बन्धी चिकित्सकले हड्डीको उपचार गर्न खोज्दा एक बिरामीको मृत्यु भएको छ । सुनसरी इनरुवाकी विमला थापा पोखरेल श्वासप्रश्वाससम्बन्धी समस्या भई अस्पताल गएर उपचारपछि निको भएकी थिइन् । त्यसपछि डा. रामहरि घिमिरेले बिरामीको ढाडको दुखाइ पनि निको पारिदिन्छु भनी उपचार गर्दा बिरामीको मृत्यु भएको परिवारले आरोप लगाएको छ ।बिरामीको मृत्यु भएपछि क्षतिपूर्ति मागसहित परिवार अदालत पुगेको छ । मृतकका श्रीमान् महेश्वर पोखरेलले मोरङ जिल्ला अदालतमा बुधबार फिरादपत्र दर्ता गरेका छन् । 

  • २५ करोडको वास्तविक मालिक

राजश्व अनुसन्धान विभागले चीनतर्फ निकासी हुन लागेका २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको वास्तविक मालिक पत्ता लगाएको छ । विभागको जासुसी तथा विज्ञ टोलीले सीसीटिभी फुटेज, डिजिटल डिभाइस, बैङ्क कारोबार तथा सीडीआर विश्लेषण गरेर वास्तविक मालिक पहिचान गरेको विभागको महानिर्देशक चण्डीप्रसाद घिमिरेले जानकारी दिए ।

  • अन्तिम बिदाइ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको बुधबार अन्तिम संस्कार गरिएको छ । गत चैत १५ गते प्रदर्शनका क्रममा एक निजी घरमा आगजनी हुँदा एभिन्युज टेलिभिजनका पत्रकार रजकको निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप