सोमबार, २५ चैत २०८१
ताजालोकप्रिय
समाचार

राजश्व अनुसन्धानले पत्ता लगायो २५ करोडको वास्तविक मालिक, पक्राउ गर्न प्रहरीलाई पत्राचार

बुधबार, २० चैत २०८१, १६ : २०
बुधबार, २० चैत २०८१

काठमाडौँ । राजश्व अनुसन्धान विभागले चीनतर्फ निकासी हुन लागेका २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको वास्तविक मालिक पत्ता लगाएको छ । 

विभागको जासुसी तथा विज्ञ टोलीले सीसीटिभी फुटेज, डिजिटल डिभाइस, बैङ्क कारोबार तथा सीडीआर विश्लेषण गरेर वास्तविक मालिक पहिचान गरेको विभागको महानिर्देशक चण्डीप्रसाद घिमिरेले जानकारी दिए ।

महानिर्देशक घिमिरेका अनुसार यो मुद्राको वास्तविक मालिक सिन्धुपाल्चोक भोटेकोसी ४ स्थायी घर भई काठमाडौं महादेवटार हाइट बस्ने नारायण पौडेल रहेका छन् । 

यसअघि गत  चैत्र ४ गते राति ११ बजे प्रहरीले काठमाडौँका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५ करोड रुपैयाँ बरामद गरेको थियो ।  

अमेरिकी डलर, युरो लगायतका मुद्राहरू रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । सो क्रममा ट्रकका चालक सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षी कुसाङ लामा पक्राउ परेका थिए ।  

उनको साथमा अमेरिकी डलर १ सय दरका नोटहरू ३ हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरू १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, ४८०, युरो सय दरका थान ४ हजार १४८, युरो ५० दरका थान १७ हजार १७७ र मोबाइल २ थान बरामद गरिएको थियो । मालिक पत्ता लगाएसँगै अदालतबाट पक्राउ पुर्जी लिई उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकेको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप