‘बाह्य मिचाहा प्रजातिले अर्थतन्त्रलाई कसरी प्रभावित पारेको छ ?’

काठमाडौँ । नेपालमा जटिल समस्याका रूपमा मिचाहा प्रजातिका वनस्पति तथा जन्तु स्थापित भएका छन् । आफ्नो प्राकृतिक भौगोलिक क्षेत्रबाट मानव क्रियाकलाप वा अन्य माध्यमबाट नयाँ स्थानमा पुगी फैलिएर स्थानीय प्रजाति, वातावरण तथा पर्यावरणलाई नकारात्मक असर पार्ने वनस्पति, वन्यजन्तु, ढुसी तथा अन्य सुक्ष्म जीव प्रजातिहरू नै बाह्य मिचाहा प्रजाति हुन् ।
मिचाहा प्रजातिहरू तुलनात्मक रूपमा अन्य प्रजातिभन्दा सजिलै उम्रने, बिउ तथा वानस्पतिक दुवै तरिकाले प्रसारण हुने, लामो अवधि बिउको उमारशक्ति हुने, प्रजनन् तथा प्रसारण क्षमता अत्याधिक भएको, छिटो बढ्ने, अत्यन्त प्रतिस्पर्धी क्षमता भएको, छिटै फैलने र विषम हावापानी र परिस्थितिमा पनि बाँच्न सक्ने, चरिचरण तथा अन्य साधारण विधिबाट हटाउन कठिन हुने भएकाले रैथाने प्रजातिलाई विस्थापित गरी रैथाने पारिस्थितिकीय प्रणालीमा नकारात्मक असर पुर्याउँछ । यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक क्षेत्रलाई प्रभावित बनाइरहेको छ ।
वन अनुसन्धान तथा पशिक्षण केन्द्रका अनुसार नेपालमा विभिन्न अध्ययनले २९ प्रजातिका वनस्पति हालसम्म बाह्य मिचाहा प्रजातिका रूपमा पहिचान भएको छ । जसमध्ये नेपालमा पाइने ५ प्रजातिहरू ल्यान्टेना क्यामेरा, माइकेनिया माइकरान्था, क्रोमोलिना ओडोराटा, पोन्टीडेरिया क्रयासिपस र स्फागनेटिकोला ट्राइलोबाटा विश्वका अति हानिकारक शीर्ष एक सय प्रजातिको सूचीमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले समावेश गरेको छ ।
नेपालमा नयाँ बाह्य मिचाहा प्रजातिहरू समेत देखापर्दै आइरहेको छ, जसले नेपालको महत्त्वपूर्ण जैविक विविधता तथा पारस्थितिकीय प्रणालीमा नकारात्मक असर पारिरहेको छ । वन क्षेत्रमा लहरे वनमारा, कालो वनमारा, सेतो वनमारा, वनफाँडा, सिमसार क्षेत्रमा जलकुम्भी, कृषि क्षेत्रमा निलो गन्धे, चरण क्षेत्रमा पातीझार र वन सिलाम आदि जस्ता मिचाहा प्रजातिले गर्दा वातावरण, वातावरणीय सेवा र गुणस्तरीय जीवनको लागि चुनौती थपिँदै आएको छ । साथै फौजी किरा र ठुलो शंखे किराले कृषि क्षेत्रमा उल्लेख्य हानि पुर्याएको छ । टिलापिया माछाले गर्दा स्थानीय प्रजातिका माछाहरू मासिँदै गएको अध्ययनहरूले देखाएको छ ।
वन अनुसन्धान तथा तालिम केन्द्रकी वरिष्ठ अनुसन्धान अधिकृत सुनिता उलकले मिचाहा प्रजातिले अर्थतन्त्रमा कसरी असर पारेको छ भनेर अध्ययन हुन नसके पनि सामान्य तरिकाले हेर्दा यसले गम्भीर असर पारेको बताइन् । ‘आर्थिक पक्षलाई जोडेर अध्ययन हुन सकेको छैन तर सामान्य तरिकाले हेर्ने हो भने तालतलैयामा भएका जलकुम्भीलाई हटाउन ठुलो रकम खर्च भएकै छ,’ उनले भनिन्, ‘यसका साथै कृषि क्षेत्रमा पनि यस्ता प्रजातिलाई उखेलेर फाल्न श्रमिक खर्च बढेको देखिन्छ ।’
खेतीयोग्य बाँझो जग्गा उपयोग गर्ने सम्बन्धी कार्यविधि २०७२ अनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टरमध्ये हाल ३० लाख ९१ हजार हेक्टरमा मात्र खेती हुन्छ । अर्थात् १० लाख ४० हेक्टर जमिन अझै बाँझो छ । कृषियोग्य जमिनमध्ये १३ लाख हेक्टरमा धान खेती हुन्छ । एक तिहाई जमिन अर्थात् २५ प्रतिशत बाँझो जग्गा छ । यो जमिन करिब ६० देखि ७० प्रतिशत मिचाहा प्रजातिले छोपेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसी बताउँछन् ।
‘५ देखि ६ लाख हेक्टर जमिन मिचाहा प्रजातिले ढाकेको अनुमान गर्न सकिन्छ । यस्तो खेतमा खेती गर्न समस्या हुने भयो । यसलाई हटाउन खर्च लाग्ने भयो,’ उनले भने, ‘यस्तो जग्गाबाट पोषण तत्व घट्न गई उत्पादन पनि कम हुन्छ । यसरी यसले खाद्य सुरक्षामा पनि चुनौती गर्छ । कृषिमा पनि धेरै असर पारेको छ ।’
मिचाहा प्रजातिका वनस्पति उमार शक्ति र फैलावट बढी हुने भएकाले यसलाई उखेल्न श्रमिक खर्च बढ्ने गर्दछ । यस्ता वनस्पति प्रत्येक वर्ष उम्रिने भएकाले उखेल्नका लागि पनि बर्सेनि खर्च गर्नुपर्ने हुँदा बालीको उत्पादन खर्च बढ्ने गरेको विज्ञ बताउँछन् ।
उदाहरण दिदैँ डा. केसीले भने, ‘ढोरपाटनमा आलु उत्पादन ५० प्रतिशतले घटेको अध्ययन गरिएको छ ।’
जल क्षेत्रमा पनि यसले असर पारेको छ । उदाहरणका लागि कैलालीमा पर्ने जरखोर ताल १ सय बढी हेक्टरमा फैलिएको छ । यो तालमा आँखाले देख्दासम्म जलकुम्भी छ । यस्तै पोखराको फेवा तालमा पनि जलकुम्भीको समस्या छ । यसलाई हटाउन राज्यले बर्सेनि रकम खर्च गर्नुपर्ने र रैथाने लेउ, झ्याउ, माछा लगायत जलचर प्राणी नास हुने गरेको वन अनुसन्धान तथा तालिम केन्द्रकी वरिष्ठ अनुसन्धान अधिकृत सुनिता उलकले बताइन् ।
मिचाहा प्रजातिले वनमा पनि हानि पुर्याएको छ । वन संरक्षण हुँदै आए पनि व्यवस्थापन भएको देखिँदैन । नेपाली वनमा मिचाहा प्रजातिका कारण रुख बिरुवाको वृद्धिदर रोकिएको पाइएको विज्ञहरू बताउँछन् ।
डा. केसीका अनुसार वनको ३ घनमिटर प्रतिहेक्टर वार्षिक वृद्धिदर छ । ‘६ घनमिटर प्रतिहेक्टर वर्षिक वृद्धिदर पुर्याउने लक्ष्य हो,’ उनले भने, ‘नेपालमा जति वन डढेलो लाग्छ, त्यसमा ७० प्रतिशत जति मिचाहा प्रजातिको भूमिका छ । आगो लाग्ने समयमा मिचाहा प्रजाति सुकेर बसेको हुन्छ । यसमा सानो आगो लाग्दा जङ्गल नै सखाप हुने समस्या छ ।’
डा. केसीका अनुसार वनको वृद्धिदर रोकिँदा पनि आर्थिक रूपमा देशलाई घाटा हुन्छ । नेपालभर करिब ६६ लाख हेक्टर वनमध्ये ४० लाख हेक्टरमा मिचाहा प्रजातिले ढाकेको छ । आधा घनमिटर प्रतिहेक्टर वृद्धिदर घटाउँदा समेत यसले सहग्रमा ठुलो असर पार्ने केसीको भनाइ छ । यद्यपि यसरी हुने क्षतिको विस्तृत रूपमा अध्ययन हुन नसकेको उनले बताए ।
- कसरी गर्ने व्यवस्थापन ?
राष्ट्रिय बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना–२०८१ सरकारले ल्याएको छ । यस मार्फत कानुनी रूपमा व्यवस्थापन गरिने जनाइएको छ । मिचाहा प्रजातिलाई रोकथाम गर्नु नै सबैभन्दा राम्रो उपाय रहेको वन अनुसन्धान तथा तालिम केन्द्रकी वरिष्ठ अनुसन्धान अधिकृत सुनिता उलक बताउँछिन् ।
‘मिचाहा प्रजातिलाई आउनै नदिने हो, देशभित्र छिर्ने नदिनु पर्ने हो,’ उनले भनिन्, ‘मिचाहा प्रजातिलाई नियन्त्रणतिर काम गर्नै नसक्ने देखिन्छ । यस्ता प्रजाति मार्ने रासायन प्रयोग गर्दा अन्य वनस्पतिलाई असर पर्ने हुन्छ ।’
यस्ता वनस्पतिलाई मार्नका लागि अर्को विधि भनेको ‘वायोलोजिकल’ विधि हो । वायोलोजिकल विधि भनेको किरा ल्याएर मिचाहा प्रजातिलाई मार्ने हो । तर यस्तो कार्य गरेमा अन्य प्रजातिमा पनि हानि हुने उलकको भनाइ छ ।
उनका अनुसार मिचाहा प्रजातिलाई नियन्त्रण गर्ने भनेकै उखल्ने र सुरक्षित रूपमा जलाउने अथवा जमिनमा गाड्नु हो ।
यदि मिचाहा प्रजाति आइहालेमा जुन क्षेत्रमा छ, त्यो क्षेत्रबाट फैलिन दिन नहुने उलकले बताइन् । यसबारे आम नागरिकमा सचेतना बढाउनु पर्ने उनको भनाइ छ ।
‘मिचाहा प्रजाति फूलेको समयभन्दा नफूलेको समयमा काट्नु पर्छ,’ उलकले भनिन्, ‘किनकि फूल फूलेको समयमा यो काट्ने हो भने यसको दाना जमिनमा झरेर फेरि फैलिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्थ मन्त्रालयले २५ प्रतिशत बजेट काटिदिँदा दसौँ राष्ट्रिय खेलकुदको आयोजना प्रभावित’
-
भारततर्फ सामान निर्यातको बाटो खुल्यो
-
कृषि कर्जाको ब्याज अनुदानका लागि बैंक तथा वित्तीय संस्था छनोट (सूचीसहित)
-
आन्दोलित शिक्षकहरू भन्छन्, ‘सरकारले अध्यादेशबाट भए पनि विद्यालय शिक्षा ऐन जारी गरोस्’
-
तस्बिरमा हेर्नुहोस् बालुवाटारमा सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूको धर्ना
-
‘खुसी’ नामले दुःखी एक युवकको कथा : नामकै कारण प्रेम सम्बन्ध नै टुट्यो