बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

दिवंगत नेता बोहरालाई यसरी सम्झिए नेताहरूले

बुधबार, २० चैत २०८१, १५ : ४४
बुधबार, २० चैत २०८१

काठमाडौँ । राप्रपाका दिवंगत सांसद तथा पूर्वमन्त्री दीपक बोहराको निधनमा विभिन्न दलका नेतहरूले दुःख व्यक्त गरेका छन् । पार्थिव शरिर राखिएको बोहरा निवास बालुवाटारमा बुधबार श्रद्धाञ्जली दिन पुगेका विभिन्न दलका नेताहरूले दुःख व्यक्त गरेका हुन् । राप्रपाका संस्थापक नेतामध्ये एक रहेका बोहोराको मंगलबार काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो । 

बोहराको निधनप्रति पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलले दुःख व्यक्त गरे । उनी बेग्लै दलका नेता भएकाले नजिकबाट बुझ्ने मौका नपाए पनि राज्य सञ्चालनमा खेलेको भूमिकाको स्मरण गरे । २०६७ सालमा काला पत्थरमा मन्त्रिपरिषद्को बैठक राख्न बोहराले महत्वपूर्ण भूमिका खेलेको रावलले सम्झिए ।  

रावलले मन्त्रिपरिषद्मा मैले एकपटक काम गर्ने मौका पाएँ । राज्य सञ्चालनमा कसरी भूमिका खेल्नुपर्छ भन्ने कुरा नजिकबाट हेर्न पायौँ । उनले देशको हितमा मन्त्रिपरिषद्मा स्पष्ट र तर्कपूर्ण रुपले राख्न सक्ने र कालापत्थर मन्त्रिपरिषद् बैठक आयोजना गर्नमा बोहोराले सक्रिय भूमिका खेलेको स्मरण गरे ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफू नेविसंघमा हुँदा उनी आफ्नो कडा प्रतिस्पर्धी रहेको स्मरण गरे । साथै बोहरा फरक विचार राख्ने पार्टीका नेता भएपनि आफ्नो विचारमा अन्तिम समयसम्म निष्ठा र इमान्दारपूर्वक निर्माण गरेको स्मरण गरे । 

केसीले भने, जुनबेला म नेपाल विद्यार्थी संघको आन्दोलनमा थिएँ त्यो बेलाको कडा प्रतिस्पर्धीमध्ये बोहोरा नै थिए । एक जमानामा एकदम ठुलो द्वन्द्वको स्थिति पनि रह्यो । त्यसपछि हामी एउटै सरकारमा रहन गयौँ ।’ ‘राजनीतिक विचारधाराको सामिप्यता नुहँदा नहुँदै पनि व्यक्तिगत मित्रता अत्यन्तै राम्रो थियो । राप्रपाका संस्थापक नेता मध्येका उनी एक भएकाले आफूले लिएको विचार र सिद्धान्तमा सँधै अडिग भएर रहने गरेको केसीले स्मरण गरे । 

नेकपा माओवादी केन्द्रका सचिव हितराज पाण्डेले प्रचण्ड नेतृत्वको सरकारमा उनले खेलेको भूमिका र राज्य पूर्नसंरचना कार्यदलमा उनको प्रस्तुति आफूले नजिकबाट निहालेको स्मरण गर्दै बोहरासँग मन्त्रिपरिषद् र संसदमा महत्वपूर्ण सम्बन्ध रहेको बताए । 

‘बोहरासँग मेरो दुईवटा महत्वपूर्ण सम्बन्ध छन् । पहिलो २०७० सालको संविधानसभा सदस्य थिएँ । त्यतिबेला पनि सहकार्य भयो पछि २०७९ मा हाम्रो सहकार्य भयो । उनको निधनले मलाई असाध्यै पीडा र दुःख लागेको छ । पाण्डेले भने, खासगरी तत्कालीन स्थानीय विकासमन्त्रीको जिम्मेवारी लिएको समयमा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा उनी पनि सहभागी थिए, उनले भने, ‘राज्यले त्यतिबेला पुर्नसंरचना आयोग बनाएको थियो । स्थानीय पालिकाका सिमानासम्बन्धी थुप्रै बहस भएका थिए । मेरो संयोजकत्वमा एउटा कार्यदल बनेको थियो । त्यो कार्यदलमा बोहोरा पनि थिए र कांग्रेसबाट नवीन्द्रराज जोशी थिए । त्यतिबेला भएका महत्वपूर्ण बहस अहिले पनि सम्झन्छु ।’

पञ्चायत कालमा २०३८ सालमा पहिलोपटक पर्यटन राज्यमन्त्री भएका बोहोरा गणतन्त्र स्थापनापछि पनि चार पटक मन्त्री बन्न सफल भएका थिए । उनी २०४३ र ०४४ सालमा निर्माण तथा यातायात मन्त्री भएका थिए । २०६७ सालमा माधव नेपाल नेतृत्वको सरकारमा वन तथा भू–संरक्षणमन्त्री भए । २०७२ सालमा केपी ओली सरकारमा श्रम तथा रोजगारमन्त्री, २०७३ सालमा प्रचण्ड सरकारमा आपूर्तिमन्त्री र २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वाथ्यमन्त्री भएका थिए ।

बोहरालाई अन्तिम श्रद्धाञ्जली दिन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत विभिन्द दलका नेताहरू र शुभेच्छुक बालुवाटार पुगेका थिए । उनको पशुपति आर्याघाटमा आजै अन्तिम संस्कार गरिनेछ । निधनपछि उनलाई हिजो नै गृहजिल्ला रुपन्देही पुर्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप