कर्मचारी सरुवामा गृहको मनपरी, जगेडामा रहेका चार उपसचिव छुटे

काठमाडौँ । गृह मन्त्रालयले मंगलबार १० उपसचिवको सरुवा गर्दा पनि कानुनविपरीत अतिरिक्त समूह (जगेडा)मा रहेका चार उपसचिव परेनन् । गृहमन्त्री रमेश लेखकको निर्देशनमा सचिव गोकर्णमणि दवाडीस्तरीय निर्णयबाट मंगलबार केही दिन अघिमात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर गृहमा आएका ८ जना र अन्य दुई जनाको सरुवा गरिएको हो ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले रातोपाटीलाई उपलब्ध गराएको सूची अनुसार सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएका सरोज कोइरालालाई जिल्ला प्रशासन कार्यालय मोरङ, नरेन्द्र परियारलाई जिल्ला प्रशासन कार्यालय अछाम, शान्ति महतलाई जिल्ला प्रशासन कार्यालय धनुषा, किरणनिधि तिवारीलाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
त्यस्तै झविलाल भट्टराईलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, भोलानाथ गुरागाईँलाई जिल्ला प्रशासन कार्यालय धनुषा, उमेश कुमार दाहाललाई जिल्ला प्रशासन कार्यालय इलाम र कुलशेखर अर्याललाई जिल्ला प्रशासन कार्यालय कास्कीको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
सामान्य प्रशासन मन्त्रालयबाट आएका यी उपसचिवहरू केही समयअघि मात्रै बढुवा भएकाहरू हुन् । भर्खरैमात्रै उपसचिवमा बढुवा भएकालाई सहायक प्रमुख जिल्ला अधिकारीमा पठाउँदा कार्यसम्पादन कमजोर हुन्छ कि भन्ने कर्मचारीहरूको भनाइलाई बेवास्ता गर्दै सरुवा गरिएको स्रोत बताउँछ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव र जिल्ला प्रकाशन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई मन्त्रालयको जगेडामा तानिएको छ । सरुवा गर्ने विषयमा मन्त्री, सचिव र प्रशासन शाखाका कर्मचारीबिच कुरा हुँदा जगेडामा रहेकाहरूलाई पनि पदस्थापन गर्ने कि भन्ने विषय उठाएका थिए । त्यो विषयमा मन्त्री र सचिव नै अनिच्छुक देखिएको एक अधिकृतले बताए ।
निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (ख)(१) मा लामो बिदामा रहेको, निलम्बन भएको र अन्यत्र काजमा खटिएका कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्नेमा बाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई ६० दिनभन्दा बढी समय राख्न नमिल्ने उल्लेख छ ।
गृह मन्त्रालयमा अहिले हाजिर गरेको ६० दिनभन्दा बढी पुगेका दुई सहसचिव र ४ उपसचिव छन् । ती उपसचिवहरूलाई गृहमन्त्री लेखक र सचिव डुवाडीले मंगलबारको सरुवामा पनि स्थान दिएनन् ।
उपसचिवहरू खेमराज ओझा, कैलाशबहादुर ठकुराठी, अमरदिप सुनुवार र सहदेव रायमाझी गृह मन्त्रालयमा हाजिर भएको ६० दिनभन्दा बढी पुगिसकेको छ । रातोपाटीलाई प्राप्त सूचीमा ओझा कात्तिक ४ गते, ठकुराठी मंसिर ५ गते, सुनुवार मंसिर १७ गते र रायमाझी पुस २७ गते मन्त्रालयमा हाजिर भएको देखिन्छ ।
त्यस्तै सहसचिव बन्धुप्रसाद बास्तोला र प्रेमप्रसाद भट्टराई पनि ६० दिनभन्दा बढी काम नपाई गृह मन्त्रालयको बरन्डामा बसिरहेका छन् । सूचीमा बास्तोला २६ पुसमा र भट्टराई २७ पुसमा मन्त्रालयमा हाजिर भएका थिए ।
ऐनको दफा १८ (ख)(१)मा भएको व्यवस्था विपरीत जिम्मेवारी नदिई राखेमा जिम्मेवारी दिई काममा लगाउनु पर्ने दायित्व भएको पदाधिकारीलाई विभागीय कारबाही हुने व्यवस्था ऐनको दफा १८ (ख)(२)ले गरेको छ । त्यो व्यवस्थाको ख्याल पनि मन्त्री लेखक र सचिव डुवाडीले गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन