सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

व्यस्त खेल तालिकाबिच दक्षिण अफ्रिकी क्रिकेट टोलीका प्रमुख प्रशिक्षकको राजीनामा

बुधबार, २० चैत २०८१, १३ : १७
बुधबार, २० चैत २०८१

काठमाडौँ । दक्षिण अफ्रिकी क्रिकेट टोलीका प्रमुख प्रशिक्षक रब वाल्टरले अप्रत्यासित रुपमा आफ्नो पदबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिकाको एकदिवसीय टोलीका प्रमुख प्रशिक्षक वाल्टरले यसै महिनाको अन्तिमदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । 

वाल्टरले व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको जनाएका छन् । दक्षिण अफ्रिकी क्रिकेट बोर्डले पनि उनको राजीनामा स्वीकृत गरेको समाचारमा जनाइएको छ । वाल्टर सन् २०२३ को मार्चमा एदिवसीय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए ।

उनको प्रशिक्षकत्वमा दक्षिण अफ्रिकी टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो । उनकै प्रशिक्षकत्वमा दक्षिण अफ्रिकी टोली पहिलो पटक आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । उक्त विश्वकपको फाइनलमा दक्षिण अफ्रिकी टोली भारतसँग सात रनले पराजित भएको थियो । वाल्टरकै प्रशिक्षकत्वमा दक्षिण अफ्रिकी टोली सन् २०२३ मा आयोजित आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा पनि पुगेको थियो ।

उक्त विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकी टोली अस्ट्रेलियासँग पराजित भएको थियो । ‘दक्षिण अफ्रिकी टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गर्न पाउनु मेरा लागि गौरवको विषय हो । तर, व्यक्तिगत कारणले अहिले म यो जिम्मेबारीबाट विदा लिन बाध्य भएको छु,’ वाल्टरले भनेका छन् । 

प्रशिक्षक वाल्टरले आगामी दिनमा टोलीको सफलताको कामना पनि गरेका छन् । ‘प्रमुख प्रशिक्षक वाल्टरले व्यक्तिगत कारण देखाउँदै पदबाट दिएको राजीनामा हामीले स्वीकृत गरेका छौँ । उहाँको कार्यकाल हाम्रा लागि निकै सुखद रह्यो । यसका लागि हामी उहाँप्रति आभारी छौँ,’ दक्षिण अफ्रिकी क्रिकेट बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

दक्षिण अफ्रिकी टोलीले आगामी जुलाईमा जिम्बाबेसँग टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न कार्यक्रम छ । त्यसपछि दक्षिण अफ्रिकी टोलीले अगस्तमा अस्ट्रेलियासँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय र तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । 

दक्षिण अफ्रिकाले सेप्टेम्बरमा इङ्ल्यान्डसँग उसैको मैदानमा तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखला खेल्नेछ । दक्षिण अफ्रिकी क्रिकेट बोर्डले जिम्बाबे भ्रमणअघि नै नयाँ प्रशिक्षक नियुक्त गरिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप