बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?

काठमाडौँ । बाढीले क्षतिग्रस्त सडकको सरकारले धमाधम ठेक्का आह्वान थालेको छ । तर क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि भने ठेक्का आह्वान हुन नसकेको सडक विभागले जनाएको छ ।
डिजाइन र निर्माण (डिजाइन एण्ड बिल्ड) निर्देशिका २०८१ स्वीकृत नहुँदा ठेक्का लाग्न नसकेको विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए ।
‘पुलमा अहिले अलिकति समस्या भएकाले कुनै पनि क्षतिग्रस्त पुलको ठेक्का लागेको छैन । डिजाइन र निर्माण (डिजाइन एन्ड बिल्ड) निर्देशिका, २०८१ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामो समयदेखि रोकिएको छ,’ उनले भने, ‘उक्त निर्देशिका स्वीकृत भएपछि मात्रै ठेक्का खुलाउन सकिन्छ ।’ मन्त्रिपरिषद्बाट स्वीकृत हुनेबित्तिकै ठेक्का आह्वान गर्ने उनले बताए ।
बीपीको एउटा प्याकेज ठेक्का खुल्न बाँकी
बीपी राजमार्ग चारमध्ये तीन वटा प्याकेजको ठेक्का खोलिएको छ । कुल क्षतिग्रस्त २९.५ किलोमिटर सडक दुई लेनमा विस्तारसहित पुनर्निर्माण गरिनेछ । उक्त सडक पुनर्निर्माणका लागि सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ तीन वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वान सुरु गरिएको छ ।
हालसम्म सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ दुई वटा गरी तीन वटा प्याकेजको ठेक्का आह्वान भइसकेको छ । सबै प्याकेजमा ठेक्का आह्वान गरिएको मितिबाट ३० दिनको समयभित्र निर्माण कम्पनीले आवेदन दिनुपर्ने उल्लेख छ ।
गत फागुन २८ गते पहिलो प्याकेज सिन्धुलीतर्फको नेपालथोक–बर्खेखोला खण्डको ठेक्का गरिएको हो, जसको लम्बाई करिब पाँच किलोमिटर छ । त्यस्तै दोस्रो प्याकेज काभ्रे खण्डको डालाबेसीदेखि चार सयबेसीसम्मको ठेक्का आह्वान भएको छ । साढे ८ किलोमिटर खण्डमा चैत ५ मा ठेक्का आह्वान भएको हो ।
चारसय बेसीदेखि भकुन्डेबेसीको ११ किलोमिटर खण्डको चैत ७ गते ठेक्का आह्वान भइसकेको छ । साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गर्न चासो देखाएको हुनाले अब बाँकी रहेको एउटा प्याकेज जाइकाले निर्माण गर्नेबारे छलफल भइरहेको सडक विभागले जनाएको छ । डालाबेसीदेखि बर्खेखोलासम्मको करिब ५ किलोमिटर दूरीको अन्तिम प्याकेज जाइकालाई पुनर्निर्माण गर्न दिइने तयारी छ ।
यस्तै अरनिको राजमार्ग, थानकोट चित्लाङ, मेची राजमार्ग, कान्ति राजमार्गलगायत क्षतिग्रस्त सबै राजमार्ग निर्माणका लागि ठेक्का आह्वान भएको सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए ।
‘बाढीले क्षतिग्रस्त सबै राजमार्ग निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ । अब पुलहरूको बाँकी हो । पुल निर्माणको ठेक्का आह्वान गर्नका लागि डजाइन एण्ड बिल्ड निर्देशिका स्वीकृत हुनुपर्छ । यो स्वीकृत हुनेबित्तिकै पुलको ठेक्का आह्वान थाल्छौँ,’ उनले भने ।
गत असोज दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका सरकारले करिब १९ अर्ब बजेटको स्रोत सहमति प्रदान गरिसकेको छ । सडक तथा पुल गरी यस्ता २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको थियो ।
यसमध्ये १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । सोहीअनुसार मन्त्रालयले उक्त बजेटमा स्रोत सहमति गरेको हो ।
सडक पुनर्निर्माणका लागि करिब १६ अर्ब बजेट
बीपी राजमार्गलाई साढे आठ अर्ब बजेट स्रोत सुनिश्चितता दिइएको छ । मेची राजमार्गका लागि ६० करोड बजेट स्रोत सुनिश्चितता भएको छ ।
कुन राजमार्गका लागि कति बजेट ?
यसैगरी खुर्कोट–मिल्टी सडक पुनर्निर्माणका लागि ४० अर्ब रुपैयाँ, बिब्ल्याटे–माइपोखरी–सन्दकपुर सडक पुनर्निर्माणका लागि ५० करोड बजेट स्रोत सहमति भएको छ ।
कुन पुलका लागि कति बजेट ?
बाढी पहिरोबाट क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि सरकारले एक अर्ब ९० करोड १० लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेको छ ।
यसमध्ये सबैभन्दा ठुलो बजेट सुनकोशीस्थित उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार पुललाई छ । यस पुल पुनर्निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट स्रोत सुनिश्चितता भएको छ । यसैगरी लार्चा पुल पुनर्निर्माणका लागि २५ करोड रुपैयाँ बजेट स्रोत सुनिश्चितता भएको छ ।
यस्तो छ पुलतर्फको बजेट
स्रोतः सडक विभाग
यसैगरी लिपिङ पुलका लागि १० करोड, हेवा खोला पक्की पुल २५ करोड हेवा खोला बेलीब्रिज पाँच करोड, सुनकोशी खैरेनीटार पुल २५ करोड, बागमती बगुवा पुल (आरसीसी) १८ करोड, बागमती बगुवा बेलीब्रिज ६ करोड, पुवाखोला पुल (मेची) १७ करोड ७० लाख, पुवा खोला बेलीब्रिज ३ करोड ७० लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चितता भएको छ ।
यस्तै जोगवनी खोला बेलीब्रिजका लागि दुई करोड ७० लाख र खुर्कोट पुल पुनर्निर्माणका लागि १५ करोड रुपैयाँ बजेट स्रोत सुनिश्चितता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी