सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने

काठमाडौँ । नेपाली सेफ सोसाइटी नेपालले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला २०८२ र अन्तर–कलेज कुकिङ कम्पिटिसन २०८२ आयोजना गर्ने भएको छ । सोसाइटीले पत्रकार सम्मेलनको आयोजना गरी यसमा व्यावसायिक स्टलहरुको बुकिङ खुला गरिएको जनाकारीसमेत दिएको छ ।
नेपाली सेफ सोसाइटी नेपाल (एनसीएस) र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (आईएनसीएस) को संयुक्त आयोजनामा आगामी वैशाख ४ मा एकेडेमी अफ कलिनरी आर्ट्स, कलेज लगनखेलमा अन्तर–कलेज कुकिङ प्रतियोगिता आयोजना हुन गइरहेको जानकारी गराएको हो ।
प्रतियोगितामा कलेज तहका विद्यार्थी सेफहरूले आफूमा रहेको पाक–कला प्रतिभाको सीप प्रस्तुत गरि नेपाली परम्परागत खानालाई नवप्रवर्तन मार्फत प्रस्तुत गर्ने अवसर प्राप्त गर्ने बताइएको छ । उक्त प्रतियोगिताले उत्कृष्ट कलेजका विद्यार्थी सेफहरूलाई सम्मानित गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने अवसर प्राप्त हुने विश्वास समेत आयोजकको छ ।
प्रतियोगितामा सहभागी हुनु सम्पूर्ण कलेजलाई विशेष आह्वान गरिएको र विजेता टोलीलाई नगद पुरस्कार, स्वरूप प्रथम एक लाख, द्वितीय पचहत्तर हजार र तृतीय पचास हजार, मेडलसहित सहभागी कलेजहरूलाई प्रमाणपत्र प्रदान गरिने जानकारी गराएको छ ।
त्यस्तै प्रदर्शनी तथा मेला वैशाख ६ गते भृकुटीमण्डपमा बिहान १० बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ । नेपाली खानाको मौलिकता, विविधता र यसको अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्यसहित कार्यक्रममा युरोप, दक्षिण अमेरिकालगायत ३६ राष्ट्रबाट नेपाली सेफहरूको उल्लेखनीय सहभागिता रहने जानकारी सम्मेलनमा दिइएको थियो ।
नेपाली खानाको विकास तथा प्रवर्द्धनका लागि व्यापारिक अवसरहरू प्राप्त हुने र विविध सांस्कृतिक कार्यक्रम, झाँकी तथा अवार्ड वितरण कार्यक्रम पनि समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।