बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

तीनकुने घटनाको निष्पक्ष आयोग बनाएर छानबिन नगरे अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी

मङ्गलबार, १९ चैत २०८१, १९ : १५
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले गत चैत १५ गतेको तीनकुनेको हिंसात्मक घटनाको सत्यतथ्य छानबिनका लागि निष्पक्ष आयोग बनाइनुपर्ने बताएका छन् । 

आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले उक्त घटनाको सत्यतथ्य सरकार र सरकारका अधिकारीहरूबाट हुन नसक्ने भन्दै छानबिन आयोगको माग गरेका हुन् ।भण्डारीले मानव अधिकार आयोगका अध्यक्ष एवं पूर्व न्यायाधीश तपबहादुर मगर निष्पक्ष मान्छे रहेको दाबी गर्दै उनकै संयोजकत्वमा तीनकुनेको घटनाको सत्यतथ्य छानबिन हुँदा सत्यतथ्य आउनसक्ने बताए । 

भण्डारीले उक्त घटना सरकार आफैँले नियोजित रूपमा घटाएको हुनसक्ने आशंका व्यक्त गर्दै छानबिन आयोग बनेर सत्यतथ्य बाहिर नआएसम्म भाटभटेनी लुट्ने, आगो लगाउनेजस्ता गतिविधिमा संलग्न भएका व्यक्तिबाहेक अरूलाई दोषारोपण गर्न र मुद्दा चलाउन नमिल्ने बताए । 

‘यो घटनाको वास्तविकता बाहिर ल्याउने काम सरकारले गर्दैन । यसले के देखाउँछ भने कतै सरकार आफैँले नियोजित रूपमा घटना घटाएको त होइन रु भन्ने प्रश्न अगाडि सर्छ । आन्दोलनकारीले यो घटना घटाएको हो कि प्रदर्शनकारीहरू साँच्ची नै अराजक भएर यो घटना घटेको हो भन्ने कुरा सत्यतथ्य बाहिर नआई कसैमाथि पनि आरोप लगाउन मिल्दैन, दोषारोपण गर्न मिल्दैन र कसैलाई पनि मुद्दा चलाउन मिल्दैन,’– उनले भने । 

तीनकुनेको उक्त आपराधिक घटनामा जोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री तथा सांसद डा धवलशमशेर जबरा, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालगायतलाई मुद्दा चलाइनुपर्ने अवस्था नरहेको उनको दाबी छ । घटनामा पूर्वराजा ज्ञानेन्द्रमाथि दोष लगाउन नमिल्ने उनको तर्क छ ।

आफूले आज नै हिरासतमा रहेका मिश्र, जबरालगायतका राप्रपा नेताहरूलाई भेटेर आएको बताउँदै उनले भने, ‘अहिले मिश्र, धवलमाथि मुद्दा चलाइनुपर्ने अवस्था छैन । राजा ज्ञानेन्द्रमाथि दोष लगाइनुपर्ने अवस्था पनि छैन । सबैभन्दा पहिला त यसको दोषी को हो ? पत्ता लगाउनुपर्छ ।’ 

उक्त घटनामा गणतन्त्रवादीको दृष्टिकोण एकपक्षीय, तथ्यद्वारा पुष्टि नभएको र लाञ्छनायुक्त रहेको उनले दावी गरे । सरकार र दलहरू लाञ्छनायुक्त ढंगबाट घटनालाई लुकाउने, छिपाउने र त्यसको दोष कसैउपर लगाउने कार्यमा व्यस्त र तल्लीन भएको उनको आरोप थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा एकपक्षीय रूपमा राजावादीलाई दोषारोपण गरेको बताउँदै उनले प्रधानमन्त्री अ‍ोलीले हिजो संसद्मा राजावादीहरूको विरुद्धमा दिएको अभिव्यक्ति तथ्यद्वारा समर्थित नरहेको र एकपक्षीय रहेको बताए । भण्डारीले सिङ्गो गणतन्त्रवादीहरू नै अहिले वायस भएको दाबी गरे । 

घटनाको सत्यतथ्य छानबिन नहुने हो र निष्पक्ष आयोग नबन्ने हो भने आफू उक्त घटनालाई संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोगमा पुर्याउन पहल गर्ने बताउँदै घटनालाई अन्तर्राष्ट्रियकरणका लागि सहयोग गर्न स्वतन्त्र नागरिक समाज, बुद्धिजीवीहरूसँग सहयोगको आह्वान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप