बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

राजावादी आन्दोलन र माओवादी दायित्व

मङ्गलबार, १९ चैत २०८१, १७ : ४६
मङ्गलबार, १९ चैत २०८१

राज्य व्यवस्था विभिन्न प्रकारका हुन्छन् । जुनसुकै राज्य व्यवस्था पनि त्यसका सञ्चालकले आफू र आफ्नो वर्ग अनुकूल निर्माण गरेका हुन्छन् । समाज विकासक्रम सँगै पुराना राज्य व्यवस्था जान्छन् र नयाँ आउँछन् । सत्तासीन वर्ग पुरानो राज्य व्यवस्था परिवर्तनको पक्षमा हुँदैन । तर जनता क्रान्तिकारी हुन्छन् । उनीहरू सधैँ परिवर्तन चाहन्छन् । यद्यपि समाज विकासको रथलाई अगाडि बढ्न कसैले रोक्न र छेक्न सक्दैन । 

पुरानो राज्य व्यवस्थाको सत्तामा रहेर जनतामाथि अत्याचार गर्दै सुख–सयल गरेर बसेका मुठीभरका व्यक्ति र समूहले नयाँ राज्य व्यवस्थाको आगमनलाई अवरोध गर्छन् । निश्चय नै यही क्रममा पुरानो राज्य व्यवस्थाको ध्वंसका निम्ति कहिलेकाहीँ सचेत र सशस्त्र विद्रोहको आवश्यकता हुने गर्छ । त्यो सचेत सशस्त्र विद्रोहले पुरानो राज्य व्यवस्थाको ध्वंस गरेर नयाँ राज्य व्यवस्थाको निर्माण गर्छ । तर पुरानो सत्ता र व्यवस्थामा ऐस–आरामका जिन्दगी बिताएर बसेका केही सीमित व्यक्ति नयाँ सत्ता र व्यवस्थामा अन्तर्घुलन हुन सक्दैनन् । त्यस कारण उनीहरूले पुरानै शासनसत्ता र व्यवस्था चाहन्छन् । र त्यो प्राप्तिका निम्ति लामो समयसम्म निरन्तर प्रयास गरिरहन्छन् । 

दश वर्षको महान् जनयुद्ध र १९ दिने जनआन्दोलनको रापतापले नारायणहिटीको राजगद्दीबाट च्युत भएका ज्ञानेन्द्र शाह र उनका समर्थक राजावादी पछिल्लो समय सलबलाउन थालेका छन् । विशेषतः गएको फागुन ७ गते उनले पोखराबाट दिएको संविधानविपरीत अभिव्यक्तिपछि विकसित घटनाक्रम चिन्ताजनक र दुःखद छन् । पोखराबाट काठमाडौँ फर्कंदा उनलाई स्वागत गर्ने नाममा राजावादीले शक्ति प्रदर्शन गरे । उनकै निर्देशनमा पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाको निम्ति संयुक्त जनआन्दोलन समितिको गठन भयो । चैत १४ गते विवादित व्यापारी तथा राजावादी व्यक्ति दुर्गा प्रसाईंलाई उनले निर्मल निवासमा भेट दिए । त्यस संदिग्ध भेटघाटलगत्तै दुर्गा प्रसाईंलाई राजावादीहरूको आन्दोलन समितिको कमान्डर ठोस गरियो । ज्ञानेन्द्र शाहको निर्देशनमा गठित राजावादी आन्दोलन समितिले चैत १५ गते तीनकुने क्षेत्रमा आयोजना गरेको कथित आन्दोलन हिंसात्मक बन्न पुग्यो । त्यस दिन हत्या, हिंसासँगै तोडफोड, आगजनी र लुटपाट समेत मच्चियो । 

ज्ञानेन्द्र र उनका समर्थकका यी क्रियाकलाप र गतिविधि अप्रत्याशित चाहिँ होइनन् । दुनियाँभरका ऐतिहासिक घटना क्रमले के देखाउँछन् भने पुरानो राज्य व्यवस्थाका सत्तासीन वर्ग जबजब सत्ताबाट फ्याँकिन्छ; तबतब उसले आफ्नो पुरानो सत्ता र व्यवस्था पुनरागमनका निम्ति लामो समयसम्म टाउको उठाइरहन्छ । तर जबजब ती पश्चगामी टाउकाहरू उठिरहन्छन्; तबतब अग्रगामी जनताले तिनलाई कहिल्यै नउठ्ने गरी पैतालामुनि किचिदिन्छन् । निश्चय नै ज्ञानेन्द्र शाहको नेतृत्वमा भइरहेको राजावादी आन्दोलनको जगमा आज नेपालमा राजतन्त्रले टाउको उठाउने कोसिस गरिरहेका छन् । के कुरा निश्चित छ भने इतिहासले रछ्यानमा मिल्काइसकेको नेपालको राजतन्त्रले फेरि टाउको उठाउन खोज्छ भने नेपाली जनताले त्यसलाई टुलुटुलु हेरेर बस्नेवाला छैनन् । उनीहरूले त्यसलाई अब फेरि कहिल्यै नउठ्ने गरी आफ्ना पैतालाले कच्याककिच्चिक पारिदिनेछन् ।  

लुकेको कुरा होइन, दक्षिणतिरका हिन्दु अतिवादीहरू नेपालको धर्म निरपेक्षताप्रति सकारात्मक छैनन् । उनीहरूको भित्री मनसाय नेपाल हिन्दुराष्ट्र बनोस् भन्ने नै हो । नेपालको निम्ति हिन्दु राष्ट्रको बलियो आधार भनेको हिन्दु राजसंस्था नै हो । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले त पटक–पटक नेपालमा हिन्दु राजसंस्था फर्काउने चाहना व्यक्त गरिरहेका छन् । त्यस कारण ठोकेरै भन्न सकिन्छ कि उनीहरू नेपालमा राजसंस्थासहितको हिन्दुराष्ट्र निर्माण भएको देख्न चाहन्छन् । त्यसैले ती दक्षिणतिरका हिन्दु अतिवादीको यो मनसाय बुझेका ज्ञानेन्द्रले उनीहरूसामु आफूलाई नेपालको राजगद्दीमा पुनः बसालिदिन हारगुहार गरिरहेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई उनले यही प्रसङ्गमा पटक–पटक लखनउ पुगेर भेटिरहेका छन् । आशीर्वादका निम्ति स्वदेश, विदेशका जीवित र निर्जीव शक्तिकेन्द्र र शक्तिपीठहरू धाइरहेका छन् । 

अर्को कुरा, गणतन्त्रपछिका प्रायः सरकारले जनअपेक्षा अनुरूपका काम गर्न सकेनन् । वाइडबडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, गिरीबन्धु टी स्टेट काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, भुटानी शरणार्थी काण्ड, सुन काण्ड, सरकारी जग्गा काण्ड आदि–इत्यादि कैयौँ काण्डमा फसेर सरकार दुर्गन्धित हुनुले पनि ज्ञानेन्द्र शाह तथा उनका समर्थकलाई उत्साह मिलेको छ । अर्थात् गणतन्त्रको विपक्षमा जनमत तयार गर्दै राजावादी आन्दोलन संगठित गर्न मद्दत गरेको छ । तर गलत चिजको विकल्प झन् गलत चिज हुन सक्दैन, त्यसको विकल्प राम्रो चिज हो । 

पुरानो र पिछडिएको प्रतिगामी सोच र चिन्तनको विकल्प झन् पुरानो र झन्  पिछडिएको, थोत्रिएको र लत्रिएको सोच र चिन्तन हुनै सक्दैन; त्यसको विकल्प अग्रगामी सोच र चिन्तन मात्र हुन सक्छ ।


पुरानो र पिछडिएको प्रतिगामी सोच र चिन्तनको विकल्प झन् पुरानो र झन्  पिछडिएको, थोत्रिएको र लत्रिएको सोच र चिन्तन हुनै सक्दैन; त्यसको विकल्प अग्रगामी सोच र चिन्तन मात्र हुन सक्छ । गलत पात्र र प्रवृत्तिको विकल्प झन् गलत पात्र र प्रवृत्ति हुन सक्दैन; त्यसको विकल्प सही पात्र र सही प्रवृत्ति हो । गलत राज्य व्यवस्थाको विकल्प झन् गलत राज्य व्यवस्था होइन, त्यसको विकल्प उचित र वैज्ञानिक राज्य व्यवस्था हो । सामन्तवादको  विकल्प दास युग हुन सक्दैन, त्यसको विकल्प पुँजीवाद हो । पुँजीवादको विकल्प सामन्तवाद हुन सक्दैन, त्यसको विकल्प समाजवाद हो । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, त्यसको विकल्प समाजवादी जनगणतन्त्र हो । 

आज संसद्को पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेकपा (एमाले) सरकारमा छन् तर उनीहरूले देश, जनता र गणतन्त्रको पक्षमा सकारात्मक सन्देश दिन सकिरहेका छैनन् । देश, जनता र गणतन्त्रले यिनीहरूबाट भोलिका निम्ति पनि केही आशा, अपेक्षा गरेको देखिँदैन । किनकि देश, जनता र गणतन्त्रको पक्षमा हिजो पनि उनीहरूको उल्लेख्य भूमिका थिएन । 

कथित राष्ट्रिय मेलमिलापको नीतिअन्तर्गत राजतन्त्र मान्ने सर्तमा नेपाली कांग्रेसका तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला २०३३ पुस १६ मा भारतबाट नेपाल फर्केका थिए । नेपाल फर्किने क्रममा उनले भनेका थिए, राजाको टाउको र मेरो टाउको एउटै अचानोमा छ । नेपालमा कम्युनिस्टहरू बढिरहेकोतिर लक्षित गर्दै उनको भनाइ थियो— नेपालमा राजतन्त्र र प्रजातन्त्र दुवै खतरामा छन् । उनले राजतन्त्र र प्रजातन्त्र एकअर्काको पूरक भन्दै राजतन्त्रबिना प्रजातन्त्र रहन नसक्ने र प्रजातन्त्रबिना राजतन्त्र रहन नसक्ने तर्क गरेका थिए । नेपाली राजतन्त्रको पछिल्लो चरणमा शेरबहादुर देउवा सरकारको विरुद्धमा ज्ञानेन्द्र शाहको कु र त्यसपश्चात् पुनः शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गरेलगत्तै प्रतिगमन पूरै सच्चियो भन्ने सिंगो नेपाली कांग्रेस र देउवाको अभिव्यक्तिले नेपाली कांग्रेसको तत्कालीन राजतन्त्रप्रतिको दृष्टिकोणलाई प्रस्ट पारेकै थियो । 

पुरानो राज्य व्यवस्थाका सत्तासीन वर्ग जबजब सत्ताबाट फ्याँकिन्छ; तबतब उसले आफ्नो पुरानो सत्ता र व्यवस्था पुनरागमनका निम्ति लामो समयसम्म टाउको उठाइरहन्छ । तर जबजब ती पश्चगामी टाउकाहरू उठिरहन्छन्; तबतब अग्रगामी जनताले तिनलाई कहिल्यै नउठ्ने गरी पैतालामुनि किचिदिन्छन् ।



२०६२/०६३ को जनआन्दोलनको बेला गणतन्त्रको पक्षमा जनलहर सिर्जना भइरहँदा बिस्तारै नेपाली कांग्रेसको मन गणतन्त्रतिर आकर्षित भइरहेको अवस्थामा पनि नेकपा (एमाले) राजतन्त्रको पक्षमा अडिग देखिन्थ्यो । देउवाको पुनस्र्थापनालाई उसले प्रतिगमन आधा सच्चिएको दाबी गर्दै प्रधानमन्त्रीका निम्ति दरखास्त दिन राजदरबार धाइरहन्थ्यो । त्यति नै बेला कमरेड केपी ओली एउटा सिद्धान्त प्रतिपादन गर्दै भन्थे, ‘नेपालमा गणतन्त्र स्थापना गर्न सकिन्छ भन्नु र बयलगाडा चढेर अमेरिका पुग्न सकिन्छ भन्नु उस्ताउस्तै हो ।’
यी तथ्यका आधारमा भन्न सकिन्छ, हिजो गणतन्त्र स्थापना गर्दा नेपाली कांग्रेस र नेकपा (एमाले) को भूमिका स्पष्ट थिएन । जनता र जनआन्दोलनको आँधीबेरीले उनीहरूलाई गणतन्त्रको घेराभित्र जबर्जस्त धकेलिदिएको मात्र हो । तसर्थ आज गणतन्त्रप्रति उनीहरूको प्रतिबद्धता कस्तो छ ? भोलि गणतन्त्रमाथि आक्रमण भइरहँदा त्यसको रक्षार्थ उनीहरूको भूमिका कस्तो रहन्छ ? कुनै दिन गणतन्त्र र राजतन्त्रबिच फेरि एकपटक निर्णायक लडाइँ भइहाल्यो भने उनीहरू के गर्लान्, यसै भन्न सकिने स्थिति छैन । तथापि नेपाली कांग्रेस र नेकपा (एमाले) लाई पनि सहभागी गराएर गणतन्त्रवादी मोर्चा बलियो बनाउनका निम्ति माओवादी लगायत गणतन्त्रवादीहरू सधैँ लचिलो हुनु आजको आवश्यकता हो ।

राजावादी आन्दोलनको मुख्य मक्सद गणतन्त्रलाई विस्थापित गरेर राजतन्त्र पुनस्र्थापना गर्नु हो । राजतन्त्र पुनस्र्थापना गर्नु भनेको पछाडि फर्किनु हो, आजको भन्दा पनि झन् गलत राज्य व्यवस्था पुनस्र्थापना गर्नु हो । 

गणतन्त्रको एजेन्डा माओवादीको हो । गणतन्त्र स्थापनाका निम्ति माओवादीका हजारौँ नेता तथा कार्यकर्ता सहिद भएका हुन् । गणतन्त्र ल्याउनकै लागि कैयौँ माओवादी कार्यकर्ता अङ्गभङ्ग अवस्थाका जिउँदा सहिद भएका छन्; हजारौँ नेता तथा कार्यकर्ता बेपत्ता छन्; हजारौँ नेता तथा कार्यकर्ताले आफ्ना व्यक्तिगत जीवन बर्बाद पारेका छन् । तसर्थ हिजो नेपालमा गणतन्त्र स्थापनाका निम्ति सबभन्दा बढी योगदान माओवादीकै थियो भन्ने कतै लुकेको र छिपेको होइन । आज त्यसको रक्षा र आवश्यकता अनुसार विकास गर्ने मुख्य दायित्व पनि माओवादीकै हो । माओवादीका पनि कैयौँ कमी–कमजोरी र सीमा छन् । यसबारे स्वयं माओवादीभित्रै बहस र छलफल चलिरहेका छन् । कैयौँ कमी–कमजोरी र सीमाका बाबजुद पनि माओवादीको विकल्प माओवादी नै हो, किनकि गणतन्त्रको रक्षा र विकास गर्दै मुलुकको आमूल परिवर्तन गर्ने शक्ति माओवादी नै हो । माओवादी भन्दा क्रान्तिकारी शक्ति आज नेपालमा अर्को छँदै छैन, हुनै सक्दैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र छन्त्याल ‘अमर’
खगेन्द्र छन्त्याल ‘अमर’
लेखकबाट थप