स्वास्थ्यमन्त्री पौडेलले भने– समय बाँकी छँदै अधिकतम प्रगति देखिनेगरी काम गर्नुस्

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् ।
मन्त्रालयअन्तर्गत विभिन्न महाशाखा तथा केन्द्रहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम प्रगति देखिनेगरी काम गर्न भनेका हुन् ।
मन्त्रालयको कार्य प्रगतिबारे नियमित बैठक राखेर जानकारी लिइरहेका पौडेलले मन्त्रालयअन्तर्गतका महाशाखा तथा केन्द्रहरूको नियमित रूपमा कार्य प्रगतिको रिपोर्टका आधारमा आवश्यक पृष्ठपोषण दिँदै आइरहेका छन् । यस क्रममा मंगलबार प्रगति कमजोर भएका महाशाखा तथा केन्द्रहरूलाई मन्त्री पौडेलले लक्ष्यअनुसार काम गर्न सजग बनाएका हुन् ।
‘दातृ निकायहरूबाट बजेट कटौतीका समस्या हाम्रा आम समस्या हुन्,’ मन्त्री पौडेलले भने, ‘समस्या जसले पनि देखाउन सक्छ । तर हामीले भएका स्रोतको अधिकतम उपयोग गरेर त्यसको समाधान पनि निकालौँ ।’ मन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेट प्रगतिको अधिकतम नतिजा निकाल्न बचेको समय सक्रिय भएर काम गर्न विभागीय प्रमुखलाई आग्रह गरे । ‘हामीसँग बजेटमा स्रोत छ तर सोचजस्तो कार्यान्वयन हुन नसकेको विषय समीक्षा गरौँ,' उनले भने, ‘अब ४ महिना बाँकी छ पूर्ण उपयोग र परिणाममुखी नतिजा दिनुहोला ।’
मन्त्री पौडेलले परम्परागत शैली बदलेर काममा नयाँपन आवश्यक रहेकाले नयाँ सोचका साथ काम गर्नेहरूलाई सदैव साथ रहने बताए । ‘तपाईंहरूको काम प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक छ भने भन्नुहोला,’ मन्त्री पौडेलले भने, ‘हामी त्यसमा हरसम्भव प्रयास गर्नेछौं ।’
स्वास्थ्यमा दाताको बजेट कटौतीले परेका समस्याबारे आफू जानकार रहेको भन्दै मन्त्री पौडेलले अनिवार्य आवश्यक विषयमा सरकारले विकल्प दिने प्रतिबद्धता जनाए ।