शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजावादीको आगजनी

मेसिनमा आगजनीपछि ‘म्यानुअल सिस्टम’ बाट जडीबुटी कम्पनी सञ्चालनको 'होमवर्क'

मङ्गलबार, १९ चैत २०८१, २० : ००
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । काठमाडौँको जडीबुटीस्थित 'जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी' शुक्रबारदेखि बन्द छ । ४३ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको उक्त कम्पनीको केन्द्रीय कार्यालय तथा प्रशोधन उत्पादन केन्द्रमा आगजनी भएपछि उक्त कम्पनीले उत्पादन बन्द गरेको हो । 

राजावादी प्रदर्शनका लागि जम्मा भएको भीडले अराजकता प्रदर्शन गरी कम्पनीमा जबरजस्ती तोडफोड र आगजनी गरेका थिए । उक्त आगजनीका कारण के कति क्षति भयो भन्ने मूल्याङ्कन भइनसकेको कम्पनीले जनाएको छ । यद्यपि प्रारम्भिक रिपोर्ट अनुसार भवन परिसरभित्र रहेको १३ वटा गाडी, केही मोटरसाइकल, प्रशासनिक भवन, उत्पादन भवन र सुरक्षा गार्ड बस्ने भवन समेत क्षतिग्रस्त भएको कम्पनीका अध्यक्ष बुद्धिसागर पौडेल बताउँछन् ।

 योसँगै प्रशोधन भवनमा रहेको ल्याब र अटोमेटेड रिफिलर मेसिन समेत जलेको उनको भनाइ छ । यद्यपि सवारी साधनमध्ये ४ वटा गाडी र केही मोटरसाइकल मात्रै कम्पनीको रहेको उनको भनाइ छ । 

अध्यक्ष पौडेल अबको केही दिनमै क्षतिको प्रारम्भिक मूल्याङ्कन गरिसक्ने र योसँगै कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा निर्णय लिने बताउँछन् । 

‘हामीले क्षतिको विवरणलाई मूल्याङ्कन गरिरहेका छौँ । यसका लागि २/३ दिन लाग्नसक्छ । घर, सवारी साधनदेखि इक्विपमेन्टसम्म परेका छन् । केही केमिकल र प्याकेजिङका लागि राखिएका सामान पनि परेका छन्,’ पौडेल भन्छन्, ‘कुन कुन कुराहरू पूर्ण क्षति भएको छ, कुन मर्मत गरेर चलाउन सकिन्छ, पूर्ण रूपमा क्षति भएका सामानलाई नयाँ किन्न र मर्मत हुने भए यसको लागि कति खर्च लाग्छ ? भन्ने थाहा भएपछि कति क्षति भयो भन्ने यकिन हुन्छ ।’ त्यसपछि कम्पनी पूर्ण क्षमतामा सञ्चालनमा आउन कति समय लाग्छ भन्ने स्पष्ट हुने उनको भनाइ थियो । 

  • ४० जनाको रोजीरोटीमा समस्या

आगलागी हुनुअघिको अवस्थामा उक्त कम्पनी सामान्य ढंगले चलिरहेको थियो । केन्द्रीय कार्यालय जडीबुटीबाहेक, सुनसरीको तरहरा, बाराको तामागढी र टीकापुरको कैलालीस्थित व्यावसायिक युनिट खडा गरेर कच्चा पदार्थको सङ्कलन तथा उत्पादन, प्रशोधन, प्याकेजिङ तथा मार्केटिङसम्बन्धी कामहरू हुँदै आएको कम्पनीले जनाएको छ ।

 त्यसमध्ये काठमाडौँ र तामागढीमा प्रशोधनको काम भइरहेको अध्यक्ष पौडेल बनाउँछन् । त्यसमध्ये काठमाडौँमा अटोमेटेड रिफिलर मेसिनबाट रिफिलिङ हुने भएकोले धेरै उत्पादन हुँदै आएको छ । गोरखामा पनि नयाँ व्यावसायिक युनिट स्थापनाका लागि प्रक्रिया अघि बढेको पौडेल बताउँछन् । 

त्यसमध्ये केन्द्रीय कार्यालय परिसरमा मात्रै करिब ४० जना दैनिक ज्यालादारीका कर्मचारी काम गर्दै आएका थिए । उत्पादन बन्दसँगै उनीहरूको आम्दानीको स्रोत बन्द भएको छ । त्यस्तै, उक्त कम्पनीले विभिन्न किसानबाट सुगन्धित तेल तथा औषधि उत्पादनका लागि सामान किन्ने गरेको त्यो पनि बन्द हुने अवस्था भएको छ । यो अवस्थामा उद्योगलाई छिटोभन्दा छिटो सञ्चालन कसरी गर्न सकिन्छ भन्नेमा ध्यान दिएको कम्पनीले जनाएको छ । 

  • ‘म्यानुअल सिस्टम’बाट उत्पादनको तयारी

अटोमेटेड रिफिलर मेसिन हुँदा मेसिनले उत्पादित सुगन्धित तेललाई बोटलमा भर्ने काम आफैँ गर्दै आएको थियो । यो मेसिनमा आगलागी भएपछि अब कर्मचारीले नै रिफिलिङ गर्नेगरी ‘म्यानुअल सिस्टम’बाट उत्पादन गर्ने होमवर्क थालिएको छ । परीक्षणका लागि भने वनस्पति विभागको ल्याबको प्रयोग गर्नसक्ने विकल्प रहेको पौडेल बताउँछन् । 

‘हामीसँग रिफिलर मेसिनबाट काम गर्ने कि म्यानुअल विधिबाट भन्ने विकल्प छ, मेसिन मर्मत हुन वा अर्को ल्याउन समय लाग्ने अवस्था भयो भने तत्कालको लागि म्यानुअल्ली काम गरेरै उत्पादन थाल्छौँ, उहाँहरूको रोजगारीलाई सकेसम्म गुम्न दिँदैनौँ । त्यसका लागि केही स्पेस निकाल्नुपर्छ,’ उनले भने । 

काठमाडौँका उत्पादन सम्भव नभएको अवस्थामा भो अहिले जडीबुटीस्थित कार्यालयमा हुँदै आएको उत्पादनलाई तामागढीमा सार्ने विकल्प हुनसक्ने उनको भनाइ छ । अहिले तामागढीमा प्रशोधन हुँदै आएको छ । त्यसैले त्यो केन्द्रलाई काठमाडौँको विकल्पको रूपमा हेरिएको हो । तरहरा र टिकापुरमा भने उत्पादन र संकलनको काम मात्रै हुँदै आएकोले त्यहाँबाट उत्पादन गर्ने सम्भावना देखिँदैन । गोरखामा पनि नयाँ केन्द्र सञ्चालनको तयारी भए पनि त्यो बनिसकेको उनको भनाइ छ ।  

  • सम्पत्तिको बीमा नहुँदा समस्या

जडीबुटी कम्पनीका सम्पत्तिमध्ये अधिकांश सम्पत्तिको बीमा नभएको पाइएको छ । भवन लगायतका धेरै सम्पत्तिको भने बीमा नरहेको अवस्था भएको उनको भनाइ छ । 

‘क्षति पुगेकोमध्ये चारवटा गाडी र मोटरसाइकलको बीमा रहेछ । १५/२० लाख थान भरेको सञ्चोको बोटल थियो, त्यसको पनि बीमा रहेछ, त्यसको बीमा क्षतिपूर्ति मागदाबी गर्छौं,’ पौडेल भन्छन्, ‘भवन र मेसिन र ल्याबको चाहिँ बीमा रहेनछ । भवन पूर्ण क्षति भएको छ, काम लाग्ला जस्तो छैन । हामीले क्षतिको मूल्याङ्कन गरिदिन  इन्जिनियरलाई रिक्वेस्ट गरेका छौँ, उहाँहरूले बताउनुहुन्छ ।’

भवन बनाउने, मेसिन मर्मत वा जडान गर्ने र ल्याब पुनर्स्थापना गर्न सरकारको सहयोग चाहिने अवस्था रहेको समेत उनी सुनाउँछन् । हामीसँग पनि केही स्रोत उपलब्ध हुन सक्छ, केही चाहिँ सरकारको सहयोग चाहिन्छ ।

  • कच्चा पदार्थ उत्पादनदेखि मार्केटिङसम्म गर्ने एकमात्र कम्पनी 

यो कम्पनीले जस्तै सामाग्री उत्पादन तथा गर्ने विभिन्न प्रतिस्पर्धी कम्पनी अहिले बजारमा धेरै छन् । तर, भ्यालु चेनका सबै काम गर्ने संस्था भने आफू एउटै मात्र रहेको कम्पनीको दाबी छ ।  

कम्पनीले जटामसी लगायतका केही जडीबुटी विभिन्न सामुदायिक तथा राष्ट्रिय वनबाट स्वीकृति लिएर सङ्कलन गर्ने गरेको छ । कतिपय जडीबुटी भने आफैँ उत्पादन गर्दै आएको छ भने केही प्रकारका जडीबुटी किसानसँग किनेर प्रशोधनको काम पनि गर्ने गरेको अध्यक्ष पौडेल बताउँछन् । 

प्राप्त भएका जडीबुटी प्रशोधन गरेर सुगन्धित तेल बनाउने र यस्तो तेल ‘होलसेल’ मूल्यमा बिक्री गर्ने काम पनि कम्पनीले गर्दै आएको छ । अहिले उक्त कम्पनीले १० प्रकारका इसेन्सियल आयल उत्पादन गर्दै आएको कम्पनीको तथ्यांक छ ।  

त्यस्तै, त्यस्ता तेलको आवश्यकता अनुसार प्याकेजिङ गरेर आफ्नै ब्राण्डमा बिक्री समेत गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले अहिले सन्चो लगायतका ७ प्रकारका हर्बल प्रोडक्टहरू बिक्री गर्दै आएको जनाएको छ । 

त्यस्तै, वस्तुको बिक्रीका लागि स्वदेशदेखि विदेशसम्म बजारीकरण र निर्यातको काम समेत गर्ने गरेको छ । त्यसमध्ये धेरैजसो उत्पादन भने विदेश नै जाने गरेको छ । सन्चो भने धेरैजसो नेपालमै बिक्री हुन्छ । यसरी प्रत्येक चरणका लागि विभिन्न कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भए पनि सबै कामका लागि एउटै प्रतिस्पर्धी नभएको अध्यक्ष पौडेल बताउँछन् ।

  • साबुनदेखि स्याम्पुदेखि पफ्र्युम उत्पादनको सम्भावना

अहिले कम्पनीले विभिन्न कारणले हर्वल केयर प्रोडक्ट र इसेन्सियल आयलमात्रै उत्पादन गर्दै आएको छ । तर, हर्बल साबुन, हर्बल स्याम्पु, पफ्र्युम लगायतका वस्तुको समेत उत्पादन गर्न सम्भव रहेको पौडेल बताउँछन् । 

अहिले रोजिन एण्ड टर्पेन्टाइन कम्पनीहरूले सामुदायिक जंगलहरू किनेर त्यहाँबाट सल्ला तथा अन्य वनस्पतिको खोटोहरू सङ्कलन गरेर बिक्री गर्ने काम गर्दै आएका छन् । त्यो सम्भावना समेत रहेको उनको भनाइ छ ।

  • यस्तो छ कम्पनीको संरचना र आर्थिक अवस्था

उक्त कम्पनीसँग अहिले २ करोड ७५ लाख १७ हजार रुपैयाँको चुक्ता पुँजी छ । त्यसमध्ये नेपाल सरकार ८०.७३ प्रतिशत वन पैदावार विकास समिति ३.३७ प्रतिशत नेपाल औषधि लिमिटेडको ३.३७ प्रतिशत कृषि विकास बैंक ४.८९ प्रतिशत सर्वसाधारणको लागि ९.६४ प्रतिशत शेयर हिस्सा रहेको छ । अहिले यो कम्पनीको तालुकदार मन्त्रालयको रूपमा वन मन्त्रालय रहेको छ ।

कम्पनीसँग बाराको तामागढीमा ५०० बिगाहा, सुनसरीमा ९५ हेक्टर क्षेत्रफलमा जग्गा रहेको छ उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा उक्त कम्पनीको खुद सञ्चित नाफा २७ करोड ७ लाख रुपैयाँ रहेको देखिएको छ । यद्यपि यो वर्षमा कम्पनी २ करोड ८४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप