कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
मंगलबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो । तर सुनुवाई पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
आज कुलमान र हितेन्द्रदेवको रिटलाई विशेष प्राथमिकता दिई सुनुवाई भएको थियो । चुडाल र पाण्डेयको इजलासमा ४२ वटा मुद्दाको पेसी तोकिएकोमा २ रिटमाथिको सुनुवाइलाई प्राथमिकतामा राखी इजलासले ३४ मुद्दाका रिटमाथिको पेसी ‘हेर्न नभ्याइने’मा पठाएको थियो । बाँकी ६ वटा रिट हेर्न नमिल्नेमा परेका थिए ।
गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले कुलनमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध चैत १३ गते घिसिङ गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।