बिहीबार, २१ चैत २०८१
ताजा लोकप्रिय

विदेशबाट फर्केर बगरमा तरभुजाखेती

मङ्गलबार, १९ चैत २०८१, १७ : ०३
मङ्गलबार, १९ चैत २०८१

देउखुरी । लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर २०७५ सालमा नेपाल आए । नेपाल फर्केपछि के काम गर्ने भन्ने उनलाई अन्योल थियो । साउदीमा पानीको मात्रा धेरै भएको र माटो कम भएको देशमा खेती गरेर आत्मनिर्भर भएको देखेकाले नेपालमा पनि केही गरौँ भन्ने सोचाइ आएको उनले बताए । 

नेपालमा कृषिमा सम्भावना देखेकाले परीक्षणका लागि बगरमा तरभुजाखेती गरेको उनी बताउँछन् । लमही नगरपालिका–६ ढिकपुरमा रहेको राप्ती नदीको बगरको १५ बिघा जमिन तरभुजाखेतीले हराभरा भएको छ । नेपाल बाहिरका विभिन्न देशमा रोजगारी गरी फर्किएका युवाहरुको लागत साझेदारीमा देशकै नमूना चक्लाबन्दी बगरखेती सञ्चालन गरेको पौडेलले बताए । 

उनले नेपालको जमिन बाँझो राखेर अर्काको भूमिमा पसिना बगाउनुभन्दा आफ्नै भूमिमा काम गर्नसमेत युवाहरुलाई सल्लाह दिन्छन् । युवा पलाएन रोकेर आफ्नो माटो हराभरा गरायो भने काम पनि हुने र आम्दानी पनि हुने उनको भनाइ छ । पाँचजना स्थानीयलाई कृषि फार्ममा रोजगारी दिएको र आफूले पनि काम गर्ने गरेको बताउँदै लगानीकर्ता पनि कामदार पनि दुवै बनेर खेतीपातीलाई समय दिने गरेको उनी बताउँछन् । 

सोही ठाउँका सुरज पाण्डे पनि विदेशबाट फर्केर तरभुजाखेतीमा लागेका उनी चार वर्ष दुबई बसेर फर्केर स्वदेशमै केही गर्नुपर्छ भनेर साथीहरुले सुरु गरेको तरभुजाखेतीमा जोडिएका हुन् । फल दिँदै गरेका बिरुवाले हरियो भएको राप्तीको बगर लमहीमा रहेको उद्यमी बहुउद्देश्यीय सहकारीको व्यवस्थापनमा निजी कृषि फार्म तथा विभिन्न देशमा रोजगारी गरी फर्किएका युवाहरुको लागत साझेदारी रहेको छ । 

सहकारी संस्थाको व्यवस्थापनमा निजी कृषि फर्मबाट तरभुजाखेती सुरु भएको सहकारीका सचिव विश्वप्रकाश अधिकारीले जानकारी दिए । ‘सहकारीले जग्गा खोज्ने काम गरेको थियो, स्थानीय युवाले खेती गर्ने सोचाइले जग्गाको माग गरे र जग्गा उपलब्ध गराएको हो,’ उनले भने । 

गर्मीको समयमा प्रशस्त फल्ने भएकाले दाङको हावापानीमा तरभुजा उत्पादन राम्रो हुने र प्रतिबिघा चार लाखदेखि पाँच लाख आम्दानी हुने आशा रहेको उनले सुनाए । मल्चिङ, खाल्डा खन्ने प्रविधि र लाइन बनाएर लगाउने तीन तरिकाले तरभुजा रोपण गरिएको छ । मल्चिङ प्रविधिबाट दाङमा खरभुजा खेती हुने गरेको छैन यो नै पहिलो अभ्यास भएको उनले बताए ।     हरियो कला, ग्रेकल्दा, बाहिर हरियो, भित्र रातो, बाहिर हरियो, भित्र पहेँलो र बाहिर पहेँलो भित्र रातो गरि छ जातको तरभुजा रोपिएको छ । छोटो समयमा उत्पादन हुने र प्रतिफल धेरै हुने भएकाले तरभुजाखेती गरेको उनले सुनाए ।

उत्पादित तरभुजा घोराही, तुलसीपुर, लमही, भालुवाङ, बुटवललगायतका सहरमा बिक्री गर्ने तयारी रहेको उनी बताउँछन् । प्रदेश र स्थानीय सरकारले स्वदेशमै केही गर्न चाहने किसानलाई प्रोत्साहन गरेमा व्यवसायलाई निरन्तरता दिन सकिने उनको धारणा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप