लोसपा नेपालको महाधिवेशन पुनः सर्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महाधिवेशन सर्ने भएको छ । वैशाख २६ गतेका लागि तय भएको महाधिवेशनको तयारी नपुगेको कारण सर्ने अवस्था आएको सो पार्टीका एक नेताले बताए ।
अहिले स्थानीय तहको अधिवेशन मात्र सुरु भएको छ । जिल्ला, प्रदेशको अधिवेशन बाँकी नै छन् । ‘अहिले स्थानीय तहको अधिवेशन नै सकिएको छैन,’ ती नेताले भने, ‘दोस्रो पटक म्याद थपिएको समय पनि चैत १७ गते सकिएको छ, अब पुनः म्याद थप्ने तयारी भइरहेको छ । मलाई लाग्दैन वैशाख २६ गते महाधिवेशन हुन्छ ।’
लोसपा नेपालको यो पहिलो महाधिवेशन हो । कांग्रेस छाडेर महन्थ ठाकुरले तमलोपा गठन गरेका थिए । तमलोपा राजपा, जसपा नेपाल हुँदै लोसपा भएको हो ।
तमलोपा हुँदा २०७१ मा नवलपरासीमा एक पटक महाधिवेशन भएको थियो । त्यसयता पार्टीको महाधिवेशन नै भएको छैन । पटक पटक महाधिवेशनका लागि मिति तय गरे पनि कुनै न कुनै बहानामा टर्दै आएको छ । वैशाख २६ गतेका लागि तय भएको महाधिवेशन पनि पुनः सर्ने अवस्था आइसकेको छ ।
लोसपा गठन भएको तीन वर्षभन्दा बढी भइसकेको छ । राजनीतिक दलसम्बन्धी ऐनमा पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने प्रावधान छ ।
तर, लोसपा नेपालमा महाधिवेशन गर्ने हतारो कुनै पनि नेतालाई छैन । ‘पार्टी नेतृत्व परिवर्तन हुने भएको भए, नेताहरूलाई चासो हुन्थ्यो । पार्टीको अध्यक्षमा महन्थ ठाकुर नै रहने निश्चित भएपछि किन हतार गर्नु ?,’ पार्टीका एक पदाधिकारीले टिप्पणी गरे ।
पार्टीमा ठाकुरलाई अध्यक्षबाट विश्राम लिन दबाब नपरेको होइन, तर उनले अहिले नै विश्राम लिने कुनै संकेत दिएका छैनन् । ‘अध्यक्ष ठाकुरको उमेर पनि पुगिसकेको छ, स्वास्थ्यले पनि साथ दिइरहेको छैन । त्यसैले अध्यक्षको अभिभावक भूमिकामा रहेर कार्यकारी अध्यक्ष अरू कसैलाई दिनुहोस् भनेर पटक–पटक प्रस्ताव गएको हो, तर उहाँले कहिले पनि त्यो प्रस्तावलाई स्वीकार गर्नुभएन,’ ती पदाधिकारीको भनाई छ । त्यसैले अब नेताहरूले पार्टी नेतृत्वको बारेमा चासो लिन पनि छाडिसकेका छन् ।
मधेस आन्दोलन चलिरहेकै बेला महन्थ ठाकुरले नेपाली कांग्रेसबाट विद्रोह गरेर २०६४ वैशाख १० गते तमलोपा गठन गरेका थिए । त्यसयता, अध्यक्ष ठाकुरले उपेन्द्र यादव जस्तै विभिन्न दलसँग एकीकरण गर्दै, विधान फेर्दै आइरहेका छन् । १७ वर्षदेखि उनी निरन्तर पार्टीको नेतृत्वमा छन् ।
२०७१ सालमा तत्कालीन तमलोपाको महाधिवेशन नवलपरासीमा भएको थियो । महाधिवेशनपछि २०७२ मा मधेस आन्दोलन सुरु भएको थियो । मधेस आन्दोलनपछि २०७४ मा विभिन्न पार्टी मिलेर राजपा बनेको थियो । त्यसपछि २०७७ मा समाजवादी पार्टीसँग एकीकरण गरेर जसपा बनेको थियो । २०७८ मा विभाजन भएर लोसपा बन्यो ।
२०७४ वैशाख ७ गते महिन्द्रराय यादव नेतृत्वको तत्कालीन तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र अनिल झा नेतृत्वको तत्कालीन संघीय सद्भावना पार्टीबिच एकीकरण भई राष्ट्रिय जनता समाजवादी पार्टी नेपाल गठन भएको थियो ।
सो पार्टीमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव र महेन्द्र राय यादवसहितको एउटा अध्यक्षमण्डल बनाइएको थियो ।
दुई–दुई महिनामा अध्यक्षमण्डलको संयोजक रहने चक्रीय प्रणालीमा पार्टी सञ्चालन गरिएको थियो । चक्रीय प्रणाली भएपछि सबैको सहमतिमा ठाकुर २२ महिनासम्म अध्यक्षमण्डलको संयोजक भएर काम गरे । पछि दुई–दुई महिनाको चक्रीय प्रणाली सुरु भएको थियो । तत्कालीन राजपा नेपालको विधान २०७४ मा एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने उल्लेख थियो ।
तर राजपाको तीन वर्ष अलमलमै बित्यो । यहाँसम्म कि तत्कालीन राजपाले महाधिवेशनको मिति सार्नका लागि दुई पटक आफ्नो विधान नै संशोधन गर्यो । २०७५ वैशाखमा पहिलो पटक एकीकरण भएको दुई वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरी विधान सच्याएर आयोगलाई बुझाइएको थियो । यद्यपि, त्यो अवधिमा पनि महाधिवेशन हुन सकेन ।
त्यसपछि २०७६ वैशाखमा दोस्रो पटक पनि विधान संशोधन गरेर एकीकरण भएको तीन वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख गरेर सोही सालको असार २९ गते आयोगलाई बुझाइयो । तर पार्टी महाधिवेशन गराउन सकेन ।
तीन वर्षको अवधिमा एकता महाधिवेशनका लागि तत्कालीन राजपा नेपालले विभिन्न मितिहरू तय गरेको थियो । तर सो पार्टीभित्रको आन्तरिक विवादले मिति सरेको सरेकै भयो ।
लोसपाको अन्तरिम विधान २०७८ मा महाधिवेशन प्रत्येक पाँच वर्षमा हुने उल्लेख छ । तर विशेष कारणवश तोकिएको समयमा हुन नसकेमा अधिकतम ६ महिनासम्म थप गर्न सकिने बताइएको छ ।
राजपाले पहिलोपटक २०७६ वैशाख ७–९ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सो मितिमा महाधिवेशन हुन नसकेपछि २०७६ वैशाख १३ गते पत्रकार सम्मेलन गरेर २०७६ कात्तिक २८ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने जानकारी गराएको थियो ।
त्यसका लागि तत्कालीन अध्यक्षमण्डल सदस्य महन्थ ठाकुरको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका सबै सदस्यहरू रहने गरी महाधिवेशन मूल आयोजक समिति र उनकै संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समिति समेत गठन गरिएको थियो ।
महाधिवेशन सम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार संयोजक ठाकुरलाई नै दिइएको थियो । यस्तै लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो ।
त्यस अवधिमा पार्टी समायोजनको काम सकाएर प्रदेश, जिल्ला, पालिका यहाँसम्मकी वडासम्म अधिवेशन सम्पन्न गर्ने मिति समेत तय गरिसकेको थियो ।
तर पार्टीभित्र छ जना शीर्ष नेताको बिचमा रहेको आन्तरिक विवादले समायोजनको काम नै अगाडि बढ्न सकेन । बरु नेताहरूले जिल्ला जिल्लामा समान्तर कमिटी समेत बनाउन थालेका थिए ।
त्यसपछि २०७७ वैशाख १० गते मध्यराति तत्कालीन राजपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालसँग एकीकरण गरेर जसपा नेपाल गठन भएको थियो ।
जसपा नेपालमा दुई जना अध्यक्ष रहने तय भयो । त्यसमा महन्थ ठाकुर पहिलो वरियताका अध्यक्ष बने । जसपा गठनपछि बनेको अन्तरिम विधानमा पाँच वर्षभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने उल्लेख गरेको थियो । त्यसअघि पार्टी समायोजनका सम्पूर्ण कार्य सम्पन्न गर्ने निर्णय पनि भएको थियो ।
पार्टी समायोजनको काम सुरु भएपछि राजपा जस्तै जसपामा पनि आन्तरिक विवाद सुरु भयो । एक वर्ष विवादमै बित्यो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली नेतृत्वको तत्कालीन सरकारमा सहभागी हुने विषयलाई लिएर जसपाभित्र उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबिच उत्पन्न विवादले पार्टी एक रहन सकेन । त्यसपछि जसपाबाट अलग भएर महन्थ ठाकुरले आफ्नो अध्यक्षतामा लोसपा गठन गरे ।
लोसपाको अन्तरिम विधान २०७८ मा महाधिवेशन प्रत्येक पाँच वर्षमा हुने उल्लेख छ । तर विशेष कारणवश तोकिएको समयमा हुन नसकेमा अधिकतम ६ महिनासम्म थप गर्न सकिने बताइएको छ ।
विभिन्न विवादका बाबजुद पनि दुई वर्षमा केन्द्रीय कार्य समिति सार्वजनिक भएको थियो । केन्द्रीय समिति घोषणामा असन्तुष्टि जनाउँदै राजेन्द्र महतो पार्टी छाडेर गइसकेका छन् । केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन ।
त्यस्तै, स्थानीय, जिल्ला तथा प्रदेश समितिले पनि पूर्णता पाएको छैन । भातृ संगठनहरूको अवस्था उस्तै छ । यस्तो भद्रगोल अवस्थामा पनि पार्टीले महाधिवेशनको मिति घोषणा गरेको छ । तर तयारी नपुगेको कारण त्यसलाई स्थगित गर्ने सोचमा नेताहरू पुगिसकेका छन् ।
यद्यपि, पार्टीका महासचिव मनिष मिश्रले महाधिवेशनको मिति सार्ने कुनै कुरा नभएको बताउँछन् । तोकिएको समयमा नै महाधिवेशन हुने गरी तयारी चलिरहेको उनले रातोपाटीलाई बताए । ‘बुधवार सचिवालयको बैठक छ । त्यो बैठकले महाधिवेशनको तयारी बारे छलफल हुन्छ,’ उनले भने, ‘महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको छ, तोकिएको समयमा नै महाधिवेशन हुन्छ ।’