‘मुख कुल्ला’ र ‘प्रतिगमन’ बिर्सेर नजिकिँदै ओली–नेपाल

काठमाडौँ । राजनीतिमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतासँग भेटघाट र छलफल गर्नु सामान्य मानिन्छ । सत्ता पक्षको नेता (प्रधानमन्त्री) र प्रतिपक्षका नेताबिचको भेटघाट र छलफललाई पनि सामान्य रूपमै लिइन्छ ।
यद्यपि, नेपाली राजनीतिमा केपी शर्मा ओली र माधवकुमार नेपालबिच भेटघाट हुनु सामान्य अर्थमा लिइँदैन । किनकि, यी दुई नेता ‘पानी बाराबार’को अवस्थामा रहँदै आएका छन् । खासगरी नेकपा एमाले विभाजनपछि यी दुई नेताबिच बोलचाल नै बन्द हुने अवस्था सिर्जना भएको हो ।
केही समय अघिसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमाले विभाजन गरेर अलग पार्टी बनाएका माधव नेपालको नाम उच्चारण गर्नसमेत मन पराउँदैन थिए ।
अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रममै माधव नेपाल र उनको पार्टीप्रति टिप्पणी गर्नुपर्दा भन्ने गरेका थिए– ‘यस्ताको के कुरा गर्नु ? नाम लिँदा पनि मुख कुल्ला गर्न मन लाग्छ !’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि ओलीको खरो आलोचना गर्दथे । यद्यपि उनले आलोचनाका क्रममा तल्लोस्तरका शब्द प्रायः प्रयोग गर्दैनथे । सभ्य भाषामै भए पनि अध्यक्ष नेपालले आफ्ना भाषणमार्फत राजनीतिक रूपमा ओलीलाई खुइल्याउन बाँकी राख्ने गरेका थिएनन् । ओलीप्रति टिप्पणी गर्दा माधव नेपालले प्रायः ‘झुट र बेइमान’को संज्ञा दिने गरेका थिए ।
‘ओली गुट जनताको बहुदलीय जनवादी पनि होइन । त्यो गुट व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुण्डमात्र हो,’ एकीकृत समाजवादीको एउटा दस्ताबेजमा भनिएको छ ।
‘राजनीतिमा स्थायी शत्रु र मित्र’ हुँदैन भनेझैँ केही दिन यताका घटनाक्रम र गतिविधि हेर्दा यी दुई नेता एक अर्काप्रति नजिकिने प्रयासमा रहेको सहजै बुझ्न सकिन्छ ।
तत्कालीन नेकपाकालमै ओली र माधवबिचको सम्बन्धमा खटपट पैदा भएको थियो । त्यसपछि ओलीले २ पटक गरेको संसद् विघटनले उनीहरूबिचको सम्बन्ध चिसिँदै पार्टी विभाजन गर्ने तहसम्म पुग्यो ।
‘यो पार्टी तत्कालीन पार्टी नेकपा (एमाले) को नेतृत्व गुटमा देखिएको व्यक्तिवादी अहंकारवाद, निरंकुश एवं स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध २०७८ भदौ २ गते विद्रोह गरेर गठन गरिएको पार्टी हो,’ पार्टी परिचयसम्बन्धी दस्ताबेजमा एकीकृत समाजवादीले भनेको छ ।
हुन पनि, प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई नेता नेपालले ‘प्रतिगामी’ संज्ञा दिँदै ओलीविरुद्धको आन्दोलनमा अगुवाइसमेत गरेका थिए । सोही कारण एमालेमा बस्न सक्ने अवस्था नभएपछि उनले आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे ।
नेपाल र ओलीबिच त्यसयता सामान्य ‘बोलचाल’ समेत हुने गरेको थिएन । यद्यपि तत्कालीन स्वार्थका लागि ०८० फागुन २२ गते साँझ एमाले अध्यक्ष ओली विष्णु पौडेल, शंकर पोखरेल, प्रचण्डसहित माधवकुमार नेपाललाई भेट्न कोटेश्वस्थित नेपालको निजी निवासमा पुगेका थिए । त्यतिबेला सरकार गठनका लागि नयाँ गठबन्धन बनाइएको र एकीकृत समाजवादीको समर्थन हासिल गर्न ओलीले माधवकुमार नेपालसँग भेट गर्नुपरेको थियो ।
त्यस यता ओली र नेपालबिचको सम्बन्धमा खासै सुधार आएको थिएन । २०७९ को निर्वाचनमा कांग्रेस र माओवादी लगायतका दलसँग गठबन्धन गरेका नेपाल अहिले विपक्षी कित्तामा छन् । जबकि ओली प्रधानमन्त्री छन् । ओलीले संसद् विघटन गरेपछि माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेको नेपाली कांग्रेस यतिबेला एमालेसँगको गठबन्धन र सत्ता सहकार्यमा जोडिएको छ ।
२०८४ को चुनाव अघिसम्म कांग्रेस–एमाले गठबन्धनको सरकार टिकाउने यी दुई दलबिच सात बुँदे सहमति नै छ । दुई दलको सोही सहमति अनुसार कांग्रेस–एमाले गठबन्धनमा ओली गत असार यता मुलुकको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको भूमिकामा छन् भने २०८३ पछि देउवा प्रधानमन्त्री हुने छन् ।
‘क्षतिको विवरण टिपाउनुहोला, म भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीलाई भनेर मर्मत गर्ने व्यवस्था मिलाउँला’, क्षतिग्रस्त भवन अवलोकनपछि प्रधानमन्त्री ओलीले नेताहरूलाई आश्वासन दिँदै भने, ‘यस्तो अराजक गतिविधिलाई क्षमा दिन सकिँदैन ।’
पछिल्ला समय एक पक्षले मुलुकमा राजा र राजसंस्था फर्काउने आन्दोलन चलाइरहेका छन् भने त्यसको काउन्टरमा गणतन्त्र पक्षधर दलहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन् ।
गत फागुन ६ यता पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकहरूका गतिविधि तीव्र बन्दै आएको छ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समर्थकको प्रदर्शनमा एक जना पत्रकारसहित अर्का एक जनाको ज्यान गुमेको छ । राजावादी समर्थकको सोही दिनको प्रदर्शन भड्किन पुग्दा तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा निजी तथा सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोड र लुटपाट हुन पुग्यो । त्यसक्रममा ज्ञानेन्द्र समर्थकहरूले अध्यक्ष नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा समेत आगजनी र तोडफोड गरे ।
कार्यालय तोडफोड र आगजनी भएको पर्सिपल्ट अर्थात् चैत १७ गते एमाले महासचिव शंकर पोखरेल आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालय निरीक्षणमा पुगे । त्यसको भोलिपल्ट अर्थात् सोमबार एमाले अध्यक्ष ओली पनि अचानक आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पुगे । संसद्मा सम्बोधन सकेर ओली एकीकृत समाजवादीको कार्यालय पुग्दा एकीकृत समाजवादीकै कतिपय नेता कार्यकर्ताहरू आश्चर्यमा परेका थिए ।
ओली नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुग्नु पछाडिको कारण थियो– वरिष्ठ पत्रकारसमेत रहेका एकीकृत समाजवादीका सल्लाहकार तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नु ।
त्यसक्रममा ओलीले आलोकनगर पुगेर स्वर्गीय कोइरालाको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पणमात्र गरेनन्, राजावादी आन्दोलनकारीले तोडफोड गरेको केन्द्रीय कार्यालय भवनको समेत अवलोकन गरे ।
कोइरालाप्रति श्रद्धाञ्जली र क्षतिग्रस्त भवनको अवलोकनपछि प्रधानमन्त्री ओलीले अध्यक्ष नेपाल, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष प्रकाश ज्वाला लगायतका नेताहरूबिच केहीबेर कुराकानी समेत गरे ।
‘क्षतिको विवरण टिपाउनुहोला, म भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीलाई भनेर मर्मत गर्ने व्यवस्था मिलाउँला’, क्षतिग्रस्त भवन अवलोकनपछि प्रधानमन्त्री ओलीले नेताहरूलाई आश्वासन दिँदै भने, ‘यस्तो अराजक गतिविधिलाई क्षमा दिन सकिँदैन ।’
प्रधानमन्त्री ओलीको आश्वासन सुनेका एकीकृत समाजवादीका नेताहरू पनि तत्कालै हौसिए । त्यसलगत्तै पूर्वमन्त्री समेत रहेका उपाध्यक्ष प्रकाश ज्वालाले प्रधानमन्त्री ओली, अध्यक्ष नेपाल, नेता झलनाथ खनाल, भीम रावल पार्टी कार्यालयमा बसेको तस्बिर आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै लेखे, ‘आइस ब्रेक !’
नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रचार विभाग उपप्रमुख दामोदर अर्याल एमाले र एकीकृत समाजवादीका नेताहरूबिचको दुरी घटिरहेको दाबी गर्छन् ।
माधव नेपालको पार्टी कार्यालय पुग्नुअघि संसद्मा सम्बोधन गरेका ओलीले नेपालको पार्टी समेत सहभागी रहेको विपक्षी मोर्चाले चैत १५ मा भृकुटीमण्डमा गरेको कार्यक्रमको तारिफ गरेका थिए ।
‘यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौँको प्रदर्शनी मार्गमा भव्य सभा गर्यो । आफ्नो धारणा सार्वजनिक गर्यो । सरकारलाई खबरदारी गर्यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो’, प्रधानमन्त्री ओलीले संसद्बाटै गणतन्त्रको पक्षमा भएको मोर्चाको कार्यक्रमबारे भने, ‘शालीन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु ।’
‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेको राजावादीहरूको चलखेल, निकट आइरहेको एमालेको ११ औँ महाधिवेशन तथा एमाले र एकीकृत समाजवादीका धेरैजसो नेता कार्यकर्ताको एकताप्रतिको भावनाको सम्मान गर्दै २०८४ अघि नै दुई पार्टीबिच एकता भए आश्चर्य मान्नुपर्दैन’, एमालेका एक पदाधिकारी तहका नेता भन्छन्, ‘घटनाक्रमहरूले ओली र नेपाललाई नजिक्याउँदै लगेका छन् ।’
नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रचार विभाग उपप्रमुख दामोदर अर्याल एमाले र एकीकृत समाजवादीका नेताहरूबिचको दुरी घटिरहेको दाबी गर्छन् ।
‘जति राजावादीको गतिविधि तीव्र हुन्छ । त्यति वामपन्थीबिच ध्रुवीकरण बढ्दै जान्छ’, अर्यालले रातोपाटीसँग भने, ‘दुई पार्टीका नेताहरूबिचको दुरी घटिरहेको छ । उदाहरणका रूपमा नेताहरूको पार्टी कार्यालयमा आवतजावत र भर्खरै सकिएको स्ववियु निर्वाचनको सहकार्यलाई लिन सकिन्छ ।’