अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति

काठमाडौँ । अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएको भन्दै भुटानका राजनीतिक दल तथा सङ्घ–संस्थाले आपत्ति जनाएका छन् ।
भुटान पिपल पार्टीका अध्यक्ष बलराम पौड्याल, ड्रुक नेशनल कांग्रेस–प्रजातान्त्रिकका अध्यक्ष रिन्जिन दोर्जी, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राई र भुटान स्वतन्त्र जनमञ्चका महासचिव डीबी सुब्बाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
करिब दुई दशकअघि विश्वका विकसित देशहरूले दीर्घकालीन समाधानको नाममा नेपालमा शरण लिएका भुटानी शरणार्थीलाई तेस्रो देश पुनर्वास प्रक्रियाका लागि आह्वान गरेको र यसअन्तर्गत कानुनी प्रक्रिया पूरा गरी क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड, नेदरल्याण्ड, नर्वे, संयुक्त राज्य अमेरिका, डेनमार्क र बेलायतमा भुटानी शरणार्थी पुनर्वास हुनेक्रम बढेको उनीहरूले विज्ञप्तिमा जनाएका छन् ।
तीमध्ये अधिकांश भुटानी शरणार्थीले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुने अवसर प्राप्त गरे पनि केही दिनअघि मात्र संयुक्त राज्य अमेरिकामा पुनर्वास भएका मध्ये दश जना भुटानीलाई देश निकाला गरिएको र चार्टर विमानद्वारा पारो विमानास्थल पु¥याइ भुटान सरकारलाई हस्तान्तरण गरिएको जानकारी पाइएको उनीहरूले जनाएका छन् ।
तर अमेरिकी अधिकारी फर्किए लगत्तै भुटानले ती मानिसलाई मध्यरातमा सरकारी साधनमा राखी भारतीय सीमापार गराएको उनीहरूको आरोप छ । ‘यसरी सीमापार गराइएकामध्ये आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी नेपालस्थित शरणार्थी शिविरमा पुगे तर अन्य सात जना सम्पर्कविहीन रहेको हुँदा हामी सबै स्तब्ध र चिन्तित भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
भुटानले संरक्षण गर्ने जिम्मेवारी लिएका नागरिकलाई पुनः देश निकाला गर्ने कार्यले सन १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणापत्रको प्रत्यक्ष उल्लङ्घन भएको र भुटानले वकालत गर्दै आएको कथित लोकतन्त्रको उपहास मात्र होइन, वास्तविकता पनि उदाङ्गो पारेको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘भटान सरकारले केही दिनअघि अमेरिकाबाट निर्वासित भएका भुटानीहरूलाई स्वीकारे पनि तत्कालै न्यूनतम मानवअधिकारको प्रत्याभूति दिनुको सट्टा रातारात फेरि देश निकाला गर्ने दुष्ट कार्य गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । भुटानको यस्तो अमानवीय कार्य भर्त्सना योग्य तथा निन्दनीय रहेको उनीहरूले जनाएका छन् ।
‘हामी नेपाल र भारत सरकार, मानव अधिकार संगठनहरू, पत्रकार जगत, अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित पक्षहरूलाई यी पीडितहरूको मानवको रूपमा बाँच्न पाउने न्यूनतम अधिकार सुनिश्चित गर्न सहयोगका लागि अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
कथित प्रजातन्त्रको घोषणा पश्चात् पनि भुटान सरकारको आफ्ना नागरिकहरूलाई बलपूर्वक देश निष्कासन गर्ने वा बेपत्ता पार्ने अभ्यासमा सुधार नआएको हालैको घटनाक्रमले पुष्टि गरेको उनीहरूको ठहर छ । संयुक्त राज्य अमेरिकाले दश जना भुटानीलाई भुटान सरकार समक्ष हस्तान्तरण गरिएको भनिए पनि केवल तीन जना सम्पर्कमा आएको र उनीहरू नेपालको अध्यागमनको हिरासतमा रहेको तर अन्य सात जनाको अवस्था अझैसम्म अज्ञात रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘हामी विश्वका सबै संस्थाहरू, अन्तर्राष्ट्रिय समुदाय, एम्नेष्टी इन्टरनेश्नल र विशेष गरी भारत र नेपालस्थित अमेरिकी दूतावासलाई उनीहरूको खोजी गर्न र राज्यविहीनता एवं पहिचानविहीनता हुने स्थितिबाट बचाउन अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले विश्व समुदायसँग हालै भुटानबाट गलत तरिकाले निष्कासित गरिएका र तीन दशक अघिदेखि स्वदेश फर्कन लालायित सबै भुटानीलाई आफ्नै देशमा सहज रूपले बस्नसक्ने वातावरण सिर्जना गर्न हेतु दीर्घकालीन समाधानको पहल र समर्थनका लागि पनि माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू
-
जल्दै गरेको अवस्थामा उद्धार गरिएकी किशोरीको मृत्यु
-
तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ
-
‘राज्यले पटक पटक धोका दियो, अब जितिन्छ कि बितिन्छ भन्दै आन्दोलनमा उत्रियौँ’
-
आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अदालतमा मुद्दा दायर
-
बुटवलको कृषि उपजका सटर टेन्डर तत्काल खोल्न व्यवसायीको माग