बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
सहकारी ठगी

पर्सामा रविविरुद्ध मुद्दा दर्ता गर्न किन भयो ढिलाइ ?

प्रहरी भन्छ, ‘सम्पत्ति शुद्धीकरणको मुद्दामा समय लाग्नु स्वाभाविक’
मङ्गलबार, १९ चैत २०८१, १६ : ००
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सक्रिय राजनीतिमा फर्किएका छन् । सोमबार पार्टीको बैठकमा सहभागी भएका लामिछानेले त्यसअघि सञ्चारकर्मीहरूसँग आफ्नो धारणा राखेका थिए । सो क्रममा उनले पर्सामा थाँती रहेको आफूविरुद्धको मुद्दाको विषयमा चर्चा गरे । 

पूर्वगृहमन्त्रीसमेत रहेका रवि मंगलबार सभामुख देवराज घिमिरेसँग छलफल गर्न सिंहदरबार पुगे । सभामुखसँगको भेटपछि उनले यसै प्रसङ्गलाई पुनः दोहोर्‍याए ।

लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाए । पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रूपमा प्रयोग गरिरहेको जिकिर गरे । 

उनले भने, ‘म एउटा कुरा भनेर जान्छु, बिहीबारको दिन म एक जना मान्छे यो देशका चार वटा अदालतमा उपस्थित हुनुपर्छ । सम्भव छ ? पर्साको विलम्बलाई तपाईँहरू र आम नागरिकहरूले जसरी हेरेका छन् त्यसरी नै सामान्य हिसाबले हेरेको छु । मैले सकेसम्म कानुनी प्रक्रियाहरू टुंगिउन्, मुद्दा कहाँ लगाउने हो लगाउन्, त्यो सबै सकियोस् भनेर कुरेर बसेको हो । अदालतलाई, प्रक्रियालाई सम्मान गर्नुपर्छ, कतिपय प्रश्न पनि आउलान् भनेर कुरेर बसेको थिएँ । तर सरकारले त्यसलाई हतियार बनाएर राखेर पर्सा झुन्ड्याइरहेको छ । मान्छे लगाएर हालिएको मुद्दा, हदम्याद छैन । सबै थाहा छ, जगजाहेर छ । सरकार छोपेका छौँ भन्छ, हामी नाङ्गो देखिरहेका छौँ । सरकार छोपेँ भन्ठान्छ, यही तीनकुनेले छोपेको जस्तो । नाङ्गो भइसक्यो, देखिएको छैन ।’

  • के छ पर्साको मुद्दाको अवस्था ?

कास्की प्रहरीको हिरासतमा रहेको बेला गत मंसिर २४ गते रवि लामिछानेलाई काठमाडौँ हुँदै सिमरा विमानस्थलमार्फत पर्सा लगिएको थियो । वीरगञ्जको सानोपाइला सहकारीबाट लामिछाने गोर्खा मिडियामा आबद्ध हुँदा ८ करोड ५६ लाख रुपैयाँ गैरकानुनी रूपमा ऋणस्वरुप सारिएको  अभियोगमा मंसिर २५ मै जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले ५४ वटा प्रश्नसहित लामिछानेको बयान लिए ।

तर हालसम्म पनि उनीविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय पर्साले बुझाउन सकेको छैन । कास्कीसहित काठमाडौँ, रुपन्देही र चितवन गरी चार वटा जिल्लामा रविविरुद्ध दर्ता भएका मुद्दामा सुनुवाइ भई धरौटीमा रिहाइ भइसक्दा पनि पर्सामा अस्वाभाविक रूपमा मुद्दा दर्ता लम्बाइएको आरोप लागेको छ ।

सरकारले हतियारका रूपमा उक्त मुद्दा प्रयोग गरेको र मुद्दा चलाउन आफू अनुकूल माहौल पर्खिरहेको आरोप लागिरहँदा जिल्ला प्रहरी कार्यालय पर्साले भने उक्त आरोपमा सत्यता नभएको दाबी गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले अनुसन्धानमै शंकास्पद ढिलाइ भएको आरोप सत्य नभएको बताए । लामिछानेविरुद्ध ठगी र संगठित अपराधमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयसमक्ष प्रतिवेदन पेस गरेको र कार्यालयले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गरी पेस गर्न निर्देशन गरेपछि प्रतिवेदन बुझाउन ढिलाइ भएको उनको भनाइ छ ।

‘सम्पत्ति शुद्धीकरणको मुद्दामा केही समय पनि लाग्छ । सबै डाटाहरू संकलन गर्नुपर्छ । एक जना मान्छेको मात्रै मुद्दा भएको भए सजिलो हुन्थ्यो, धेरै जनाविरुद्ध अभियोग छ,’ उनले भने, ‘त्यस कारणले प्रमाणहरू संकलन गर्न केही समय लागेको हो । नत्र अन्य अनुसन्धान अघि बढिरहेको छ ।’

अन्य अभियोजनामा अनुसन्धान सकिएको र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अन्तिम चरणमा रहेकाले चाँडै प्रतिवेदन पेस हुने उनले बताए । ‘सम्पत्तिको विवरण संकलनका लागि पत्राचार भएका चिज प्राप्त हुन बाँकी छ, त्यसको फलोअप भइरहेको छ । हामी चाँडै पेस गर्छौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप