मिशनमा भएको ढिलाईको जिम्मेवारी लिँदै फेरि चढ्न तयार भए सुनिता र विलमोर

वासिङटन डीसी । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर महिनौं अन्तरिक्षमा अलपत्र परेपछि मार्च १८ मा पृथ्वीमा फर्किएका थिए । आठ दिनलाई भनेर अन्तर्राष्ट्रिय स्पेश स्टेशन (आईएसएस)मा गएको यो जोडी २७८ दिन अन्तरिक्षमै बस्नुपर्यो ।
मिशनमा भएको ढिलाईको जिम्मेवारी आफैंले लिने भन्दै सोमबार दुबैले बोइङको स्टारलाइनरमा फेरि चढ्न तयार रहेको बताएका छन् । खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले नौ महिनाभन्दा बढी समयपछि यी दुईलाई अन्तरिक्षबाट फिर्ता ल्याएको थियो ।
दुबै जना बोइङकै स्टारलाइनर क्याप्सुलबाट पृथ्विमा फर्किने योजना थियो । तर, स्टारलाइनरमा समस्या देखिएपछि सेप्टेम्बरमा यान रित्तै धर्तिमा फर्कियो । आफूहरूले केवल आफ्नो काम गरिरहेको र आफ्नो परिवारभन्दा मिसनलाई प्राथमिकता दिइरहेका दुबैले भनेका छन् ।
बोइङको स्टारलाइनर क्याप्सुलको असफल उडानमा आफूले केही गल्ती गरेको विल्मोरले पनि स्वीकार गरे । ‘म सुरुआत गर्नेछु अनि औंला पनि आफैंतिर उठाउँनेछु । म आफैलाई दोष दिन्छु । यदि मैले केही महत्त्वपूर्ण प्रश्नहरू सोधेको भए, सायद परिस्थिति परिवर्तन हुन सक्थ्यो,’ विल्मोरले भने । यो असफलताको लागि सम्पूर्ण टोली जिम्मेवार रहेको पनि उनले स्वीकार गरे । आफूहरू फेरि पनि स्टारलाइनरमा उडान गर्नेपनि दुबैले बताए ।
‘हामीले ती सारा समस्याहरू समाधान गर्नेछौं, जुन हामीले सामना गरेका थियौं, हामी यसलाई ठीक गर्नेछौं । हामी यसलाई सफल बनाउनेछौ,’ विल्मोरले भने । स्टारलाइनरमा धेरै सम्भावना रहेको र आफू यसलाई सफल भएको हेर्न चाहेको उनको भनाई थियो । विलियम्स र विल्मोरले अन्तरिक्षमा २८६ दिन बिताए । यो उनीहरूको लागि तय भएको समयभन्दा २७८ दिन बढी हो ।
जुन ५ मा बोइङको स्टारलाइनर क्याप्सुलको पहिलो अन्तरिक्ष उडानमा चढेर दुबै आईएसएस गएका थिए । आईएसएसमा पुग्नुअघि थ्रस्टरहरूमा समस्या आएको अनि हेलियम चुहावटलगायत प्राविधिक समस्याका कारण अन्तरक्षयात्रीहरूले यानमा हस्तक्षेप गर्नुपर्यो । यानमा के समस्या भएको हो भनेर खुट्याउन नसक्दा इन्जिनियरहरूले के गर्ने भनेर निर्णय गर्न सकेनन् । जसको कारण सुनिता र विलमोरलाई फिर्ता ल्याउने मिति पटक पटक पछाडि सारियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी
-
राप्रपाले पनि गर्यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन
-
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी