माइक्रोसफ्टले किन बन्द गर्यो सांघाईको एआई ल्याब ?

बेइजिङ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले सांघाईमा रहेको आफ्नो एआई ल्याब बन्द गरेको छ । कम्पनीले सांघाईको झाङजियाङ हाई–टेक जोनमा रहेको आईओटी न्ड एआई इन्साइडर ल्याब बन्द गरेको हो । भूराजनीतिक तनाव चर्किरहेको समयमा कम्पनीले चीनबाट आफ्नो व्यवसायबाहिर लगिरहेको छ ।
चीनमा इन्टरनेट अफ थिङ्स (ओईओटी) र कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विकासमा मद्दत गर्न कम्पनीले सांघाईमा ल्याब खोलेको थियो । ल्याब यो वर्षको सुरुमै भएको भएको ल्याबमा काम गर्ने मान्छेहरूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी)ले एउटा समाचार छापेको छ ।
एससीएमपीका रिपोर्टरहरू हालै ल्याबमा जाँदा त्यहाँ अन्धकार रहेको र कोही मान्छे नभएको बताइएको छ । ल्याबमा टाँसिएको लोगो र सबै सामानहरू झिकेर लगिएको पाइयो ।
कम्पनीले सो ल्याब २०१९ मा खोलेको थियो । पाँच वर्षसम्मको सञ्चालनमा ल्याबले सय वटा कम्पनीसँग सामेल भएका २५८ वटा परियोजनालाई टेवा दिएको थियो । ल्याबले झन्डै १० हजार मानिसलाई तालिम दिएको पनि आधिकारिक डेटाले देखाएको छ ।
२०२४ को जुनसम्ममा ल्याबले समर्थन गरेका ५० भन्दा धेरै कम्पनीले १ अर्ब ३० करोड डलर बाह्य लगानी ल्याएका थिए । तर यो वर्षको जनवरी वा फेब्रुअरीदेखि ल्याब बन्द रहेको बताइएको छ । अहिलेसम्म कम्पनीले ल्याब बन्द भएको खबरमा कुनै टिप्पणी गरेको छैन ।