बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि नबिल बैंकद्वारा देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न

मङ्गलबार, १९ चैत २०८१, १३ : ३५
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । नबिल बैंकले सोमबार काठमाडौँमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रमको उद्घाटन बैंकको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेका थिए । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरुको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैंक प्रतिबद्ध रहेको बताएका छन् । उनले बैंकिङ क्षेत्रमा महिलाहरुका लागि केही अप्ठ्याराहरु भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए । उनले आर्थिक विकासमा महिलाको सहभागिताको महत्वलाई बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेषलाई हटाउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा नबिल बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरुको नेतृत्व बढाउन जरुरी रहेकामा जोड दिए । उनले बैंकिङ क्षेत्रको नेतृत्वमा अझै पनि महिलाहरुको प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यसप्रकारका कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेणाका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । 

कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले नबिल बैंकले आयोजना गरेको कार्यक्रम लैंगिक समानता कायमको लक्ष्यप्राप्तिमा महत्वपूर्ण पहल भएको बताइन् । महिलाहरुको सशक्तीकरणमा पुरुषहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले आफ्नो घर, कार्यस्थल तथा समाजमा महिलाहरुको साथ दिन सबैलाई आग्रह गरिन् । 

कार्यक्रममा ‘द सि–सिफ्टः नेभिगेटिङ ब्यारियर्स एण्ड क्याटलाइजिङ लिडरसीप’ शीर्षकको समूहगत छलफलका क्रममा वक्ताहरुले महिलाहरुले पनि विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने र त्यसका लागि योग्य भएकामा जोड दिए । छलफलका क्रममा  पर्यावरण अभियन्ता सिलसिला आचार्य, रोजी कट्टेल र डा. रामजी रामले महिलाको सहभागिता, सशक्तीकरण र अवसर सृजनालगायतका क्षेत्रमा धारणा राखेका थिए भने कान्तिपुरका वरिष्ठ उप–सम्पादक यज्ञ बन्जाडे मध्यस्थकर्ताको भूमिकामा थिए । कार्यक्रममा नबिलका उच्चपदाधिकारीहरुका साथ दुई सयभन्दा बढी महिला तथा पुरुष कर्मचारीहरुको सहभागिता थियो । 

नबिल बैंकले यसबाहेक पनि महिलाका विषयलाई केन्द्रित गरी मार्च महिनाभर विभिन्न  कार्यक्रम आयोजना गरिसकेको छ । बैंकले लैंगिक समानता प्रवद्र्धन, महिला सशक्तीकरण, जनचेनता अभिवृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि र सहयोगी समुदाय निर्माणको उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ । 

बैंकले आयोजना गरेको मार्च इन टु वेलनेस कार्यक्रमबाट काठमाडौँ उपत्यका र बाहिरका गरी ३५ महिला कर्मचारी लाभान्वित भएका थिए भने वेलविइङ अफ वुमन सेसनमार्फत उपत्यकामा कार्यरत १०० महिला कर्मचारीले लाभ लिएका थिए । बैंकले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देशव्यापी वृहत्त र्‍याली आयोजना गरेको थियो । जसमा नबिल बैंकका मुलुकभर रहेको विभिन्न शाखामा कार्यरत एक हजार २०० सयभन्दा बढी कर्मचारीको सहभागिता थियो ।  

बैंकले कार्यस्थलमा हुने हिंसाजन्य गतिविधि र रोकथामका उपायका सम्बन्धमा कोशी प्रदेशमा ६८ जना महिला कर्मचारी सम्मिलित कार्यक्रम आयोजना गरेको थियो । साथै मधेस प्रदेशमा सुरक्षित र मर्यादित कार्यस्थल शीर्षकको कार्यक्रम आयोजना गरी ५० जना कर्मचारीलाई अभिवृद्धि गरेको थियो । साथै नबिलले बैंकमा कार्यरत सबै कर्मचारीलाई लक्षित गरी रजस्वलाको विषय र चुनौतीका सम्बन्धमा कार्यक्रम आयोजना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप