बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
रुस युक्रेन युद्ध

अब युक्रेनले चित्त बुझाउनुको विकल्प छैन

जेलेन्स्कीले नेटोको मुख ताक्न छोड्नुपर्छ
मङ्गलबार, १९ चैत २०८१, १३ : ३०
मङ्गलबार, १९ चैत २०८१

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्नेबारे युद्धविराम र सम्झौता वार्ता पर्खदै छन् । यतिबेला उनले जारी दर्दनाक द्वन्द्वको यस अघिका अध्यायबारे सोच्दा राम्रै हुन सक्छ । रुसले युक्रेनमा आक्रमण गर्न सुरु गरेको नौ महिनापछि अर्थात् सन् २०२२ को नोभेम्बरमा अमेरिकी सेनाध्यक्ष मार्क मिलेले न्यूयोर्कको ‘इकोनोमिक क्लब’ मा एउटा संभाषण दिएका थिए । तिनताका उनको बुझाइ विवादास्पद भयो । उनले राखेका विषय विवादास्पद हुँदाहुँदै पनि त्यहाँ उनले यो युद्धको नियति के हुन्छ भन्नेबारे केही सङ्केत दिएका थिए ।

मार्क मिलेले युद्धको निर्मम तथ्य बुझेका थिए । युद्धबारेका ठट्टा र नक्कल झट्ट हेर्दा रमाइला त हुन्छन् तर, युद्धको परिणामचाहिँ युद्धभूमिमै निर्धारण हुन्छ । नेताले घुमाएर गर्ने गफमा हुँदैन । रुसले कब्जा गरेका सबै भूभाग ल्याएरै छोड्ने युक्रेनको होहल्लालाई खारेज गर्दै मिलेले भनेका थिए, ‘सम्भवतः सैन्य बाटोबाट जित हासिल हुँदैन होला ।’

साथै उनले युक्रेनको प्रत्याक्रमण आफ्नो क्षमताको सीमामा पुगिसकेको पनि विस्तृतमै बताएका थिए । उनका अनुसार युक्रेन युद्ध ‘स्टेलमेट’ अर्थात् गत्यावरोधमा पुगेको थियो । युक्रेनका लागि सबैभन्दा राम्रो विकल्प भनेको ‘सम्झौताको अवसर’ सदुपयोग गर्नु नै थियो ।

मिलेको विश्लेषणले हामीलाई जनरल कार्ल भोन क्लजविजको विश्लेषण सम्झाइदिन्छ । अन्य राज्यविरुद्ध प्रयोग हुने हिंसाको सान्दर्भिकता उनको उक्तिले भन्छ, ‘युद्ध भनेको फरक स्वरूपमा राजनीतिकै निरन्तरता हो ।’

आफ्ना नागरिकलाई मर्न वा अन्य राज्यका मानिस मार्न पठाउने कामले कुनै व्यावहारिक राजनीतिक लक्ष्य हासिल गराउँदैन भने शक्तिको सैन्य स्वरुपको प्रयोगको कुनै अर्थ हुँदैन । यस अनुसार यदि युक्रेनले हिंसाको माध्यमबाट प्राप्त हुने सीमा भेटिसकेको छ भने अब युद्ध जारी राख्ने कुरा कसरी सिद्ध हुन सक्छ ?

तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मार्क मिलेको टिप्पणीबाट आफूलाई अलग्गै राख्न खोज्यो । त्यसै कारण पनि उक्त प्रस्ताव अघि बढेन तर, परिस्थिति उस्तै रहेन । एक वर्षपछि नै अर्का प्रभावशाली कमाण्डर त्यस्तै निचोडमा पुगे । मार्क मिलेका तत्कालीन युक्रेनी समकक्षी भालेरी जालुझ्नी एक काबिल कमाण्डर हुन् । उनले नै सुरुवाती समयमा किभ कब्जा गर्न आएको रुसी फौजलाई हराएर युक्रेनलाई प्रत्याक्रमणको स्थितिमा पुर्‍याएका थिए । सन् २०२३ को अन्त्यसम्म आइपुग्दा उनले असहजतापूर्वक स्वीकार गरे । अब युक्रेन ‘स्टेलमेट’ मा पुग्यो । 

युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गर्दैछ । यतिबेला अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्स युद्धको कुरुप यथार्थको सामना गरिरहेका छन् । तथ्यहरूको आकलन गरेर उनीहरू मार्क मिले र जालुन्झीको तर्कसँग सहमत हुन पुगेका छन् ।

जालुझ्नीले जेलेन्स्कीलाई यो यथार्थ बुझाउन महिनौँ प्रयत्न गरे । मैले सैन्य क्षेत्रमा यस्तो पहल पहिले कहिल्यै देखेको थिइनँ । तमाम प्रयासका बाबजुद उनलाई असफलता नै हात पर्‍यो । त्यसपछि उनी सार्वजनिक रूपमा पोखिन थाले । उनले ‘द इकोनोमिष्ट’ पत्रिकालाई यसबारे नोभेम्बर २०२३ मा एउटा अन्तर्वार्ता दिए । उनले उक्त अन्तर्वार्तामा आफ्नो भनाइ प्रस्ट पार्दै भनेका थिए, ‘रुस–युक्रेन युद्ध नयाँ चरणमा प्रवेश गरेको छ । यो अवस्थालाई हामी सैन्य क्षेत्रमा अवस्थितिको युद्ध भन्छौँ । यसलाई अर्को भाषामा घर्षणकारी युद्ध भन्छौँ । यस्तो अवस्था पहिलो विश्वयुद्धमा पनि आएको थियो । यसको फाइदा रुसलाई हुन्छ । यो अवस्थामा रुसले आफ्नो सैन्य शक्ति पुनर्निर्माण गर्न पाउँछ । अन्ततः यसले युक्रेनको सैन्य शक्ति र राज्यलाई नै खतरामा पार्छ ।’

यो अन्तर्वार्ताको तीन महिनापछि उनी युक्रेनको कमान्डर रहेनन् ।

अहिले युद्ध चौथो वर्षमा प्रवेश गर्दैछ । यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्स यही कुरुप यथार्थको सामना गरिरहेका छन् । तथ्यहरूको आकलन गरेर उनीहरू मार्क मिले र जालुन्झीको तर्कसँग सहमत भएका छन् । यदि मार्क मिलेले सुरुमा भनेकै बेला सन् २०२३ को सुरुमै यो युद्ध अन्त्य भएको भए आज युक्रेनको अवस्था कस्तो हुन्थ्यो होला त ?

यसबिचमा करिब तीन लाख युक्रेनी सेना या त मारिए या गम्भीर घाइते छन् । उनीहरू जोगिन सक्थे । अन्य हजारौँ नागरिक अझै जीवित हुन सक्थे । ध्वस्त भएका वा क्षतिग्रस्त २० लाखभन्दा धेरै घर र अपार्टमेन्टहरू अझै सकुशल रहन्थे । युक्रेनको सात भागको एक भाग ऊर्जा पूर्वाधार जुन अहिले आधाभन्दा धेरै नष्ट भएको छ, त्यसले पक्कै उज्यालो र न्यानो दिइरहेको हुने थियो । तीन वर्ष युद्ध चलेपछि युक्रेनको अर्थतन्त्र युद्ध सुरु हुनु अघिको तुलनामा १० प्रतिशत सानो भएको छ । एक चौथाइ हाराहारी नागरिक विस्थापित भएका छन् । करिब १५ प्रतिशतले त देशै छोडेका छन् ।

महिना अघि डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउसमा जब ‘तिमी युद्ध जितिरहेका छैनौ’ भने, ट्रम्पको भन्ने शैली कठोर थियो । खासमा अमेरिकाको आपूर्तिजन्य सहयोग बेगर जेलेन्स्कीको फौज युद्ध मैदानमा टिक्न सक्दैन । ट्रम्पको भनाइले यही आधारभूत तथ्यलाई राम्रोसँग उजागर गरेको थियो । ट्रम्पले थपेका थिए, ‘अब तिमीसँग खेल्नलाई कुनै कार्ड बाँकी छैन ।’

यस मामिलामा ट्रम्प प्रशासन विवादका लागि तयार छैन । ट्रम्पले आफ्नो निर्वाचन अभियानका दौरान पटक–पटक ‘म युद्ध रोक्न चाहन्छु’ भन्ने गरेका थिए । गत हफ्ता एलन मस्कले ‘एक्स’मा लेखे, ‘स्टेलमेटमा पुगेको तथा युक्रेनले हार्ने युद्ध लम्ब्याएर अनवरत मानिसहरू मारिएको समाचार सुन्दा बिरामी हुन लागिसकियो । यो युद्ध प्रत्येक महिना जति लम्बिन्छ, युक्रेन थप नराम्रो अवस्थामा पुग्दै जानेछ ।’

युक्रेनको सेनाले धर्तीकै दोस्रो शक्तिशाली सेनासँग डटेर लडेको छ । अब जेलेन्स्कीसामु साँच्चै धेरै विकल्प छैनन् । अब जति विकल्प छ, तिनैको प्रयोग गरेर कुरुप तर दिगो शान्तिको सम्झौता गर्नुमै भलो हुनेछ ।

अब निर्मम तथ्यलाई अस्वीकार गर्ने, सम्झाएर नसकिने ट्रम्पलाई फकाउन खोज्ने वा हुनै नसक्ने नतिजाको आशा गर्नु व्यर्थ छ । बरु जेलेन्स्कीले उनी र उनका बहादुर सेनाले के–के जिते भन्ने कुरामा ध्यान दिनु उचित हुन्छ । उनीहरूले युक्रेनलाई विश्व मानचित्रबाटै मेटाइदिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रयास असफल पारिदिएका छन् । युक्रेनको सेनाले धर्तीकै दोस्रो शक्तिशाली सेनासँग डटेर लडेको छ । अब जेलेन्स्कीसामु साँच्चै धेरै विकल्प छैनन् । अब जति विकल्प छ, तिनैको प्रयोग गरेर कुरुप तर दिगो शान्तिको सम्झौता गर्नुमै भलो हुनेछ ।

जेलेन्सीले यो यथार्थ जतिबेला स्वीकार्छन् त्यतिबेलाका लागि मेरा सात सुझाव छन् ।

पहिलो, यो खेलमा सबैभन्दा महत्त्वपूर्ण खेलाडी अमेरिकी राष्ट्रपति ट्रम्प नै हुन् भन्ने जेलेन्स्कीले बुझ्नु पर्छ । ट्रम्पको धारणा फेर्न धेरै अप्ठ्यारो छ । यसै पनि ट्रम्प जेलेन्स्कीले यो युद्ध अनावश्यक रूपमा भड्काएको ठान्छन् र मन पराउँदैनन् । ट्रम्प पुटिनलाई मन पराउँछन् । उनलाई मजबुत नेता ठान्छन् । ट्रम्पलाई युक्रेनको खासै मतलब छैन । ट्रम्प र भान्सले गत महिना जेलेन्स्कीसँग ह्वाइट हाउसमा जस्तो व्यवहार गरे, त्यो अनपेक्षित पटक्कै थिएन । बरु यो घटना टेलिभिजनमै संसारलाई देखाइयो, त्योचाहिँ अनपेक्षित हो । जेलेन्स्कीले ट्रम्पसँग फेरि कुरा गर्नुपर्छ । त्यसका लागि जेलेन्स्कीले गरेको पछिल्लो ‘पश्चाताप’ ले मात्र पुग्दैन । उनले अमेरिका र त्यहाँका राष्ट्रपतिप्रति ठुलै सम्मान देखाउन सक्नु पर्छ ।


युक्रेनले युद्धको विकल्पमा जेलेन्स्कीले खोजेजस्तो ‘न्यायपूर्ण र दिगो शान्ति’ हुन गाह्रो छ । बरु विस्तारित युद्धविराम वा कोरियाको जस्तै युद्धविराम मार्फत मान्छे मारिने क्रम रोकिनेसम्म हुन सक्छ ।


मेरो सल्लाह मान्ने हो भने जेलेन्स्कीले फेसबुकका साहु मार्क जुकर्बर्गले जस्तै ट्रम्पलाई फकाउनु पर्छ । गत मार्चमा नेटोका महासचिवले ट्रम्पलाई भेट्दा जसरी खातिरदारी गरेका थिए, त्यसबाट पनि जेलेन्स्कीले सिक्न सक्छन् ।

दोस्रो, युक्रेनको १४ सय किलोमिटर सीमाना महाशक्ति राष्ट्रसँग जोडिएको छ । यो भौगोलिक तथ्य जेलेन्स्कीले स्वीकार्नु पर्छ । युक्रेन महाशक्तिको छायाबाट उम्किन सक्दैन । मेक्सिको र क्यानडालाई अमेरिकाको छिमेकमा रहँदा त्यही नियति भोग्नु परिरहेको छ । युक्रेनले आफ्नो छिमेकमा रहेको आक्रामक छिमेकीको प्रभाव क्षेत्रलाई मानेरै अघि बढ्नुपर्ने हुन्छ । जेलेन्स्कीले मेक्सिको र क्यानडाको अमेरिकासँगको सम्बन्धको इतिहास बुझ्नु पर्छ । अहिलेमात्र नभएर गएका तीन शताब्दीमै अमेरिकाले चाहेको बेला दुवै मुलुकका भूभाग खोसिएका छन् । युक्रेनले आफनो नजिकमा रहेका कजाकस्तान, मंगोलिया तथा फिनल्यान्डकै विगत हेरेर पनि धेरै कुरा सिक्न सक्छ ।

तेस्रो, युक्रेनले युद्धको विकल्पमा जेलेन्स्कीले खोजेजस्तो ‘न्यायपूर्ण र दिगो शान्ति’ हुन गाह्रो छ । बरु विस्तारित युद्धविराम वा कोरियाको जस्तै युद्धविराम मार्फत मान्छे मारिने क्रम रोकिनेसम्म हुन सक्छ । यस्तो हुँदा युक्रेन र रुसको सम्बन्ध शीतयुद्धताका नेटो र सोभियत संघको सम्बन्ध जस्तो हुन्छ । त्यसबेला पनि पुटिनले युक्रेनलाई वशमा राख्ने आफ्नो आकाङ्क्षा छोड्ने छैनन् । युक्रेनीहरू रुसले कब्जा गरेको आफ्नो २० प्रतिशत भूभाग फिर्ता गर्ने चाहना छोड्ने छैनन् । यस्तो संस्करणको शीत युद्धमा भड्कावहरू रोक्नुपर्ने, महत्त्वपूर्ण सुरक्षा व्यवस्था कायम गर्नुपर्ने तथा निरन्तरको निगरानी गर्नुपर्ने चुनौती विद्यमान हुनेछन् ।

चौथो, यसरी अस्थायी युद्धविराम गरेर पुटिनलाई फेरि हतियारबद्ध हुने अवसर दिनु हुँदैन । अब जेलेन्स्कीले नेटोको मुख ताक्न छोड्नुपर्छ । यसै पनि ट्रम्पका लागि नेटोमा युक्रेनको सदस्यता अब छलफलको विषयमै पर्दैन ।

यो खेलमा सबैभन्दा महत्त्वपूर्ण खेलाडी अमेरिकी राष्ट्रपति ट्रम्प नै हुन् भन्ने जेलेन्स्कीले बुझ्नु पर्छ । ट्रम्पको धारणा फेर्न धेरै अप्ठ्यारो छ । यसै पनि ट्रम्प जेलेन्स्कीले यो युद्ध अनावश्यक रूपमा भड्काएको ठान्छन् र मन पराउँदैनन् ।

पाँचौँ, जेलेन्स्की आफूले पाउन सक्ने भनिएका सुरक्षा प्रतिबद्धताबारे यथार्थवादी बन्न सक्नुपर्छ । युरोपका मुलुकहरू एक्ला–एक्लै सुरक्षा प्रतिबद्धताको कुरा गरिरहेका छन् । युरोपका देशहरू आफूले सकेको सुरक्षा दिने कुरा गर्दैछन् । सबैभन्दा बलियो प्रतिबद्धता बेलायतका प्रधानमन्त्री केयर स्टार्मरको तर्फबाट आएको छ । उनले युक्रेनमा आफ्ना सिपाहीहरू नै लैजानेसम्म भनेका छन् । राम्रोसँग सुन्ने सबैले ठम्याउन सक्छन्, स्टार्मरको प्रतिबद्धतामा अमेरिकाको साथ खोजिएको छ । तर, अमेरिकी रक्षामन्त्री पेटे हेग्सेथले यस्तो सम्भावना खारेज गरिसकेका छन् ।

उनले युक्रेनमा जाने, शान्ति स्थापना गर्ने सेना पनि गैर नेटो मुलुकबाट पठाउनु पर्ने तथा नेटोको धारा–५ अनुसार हुनु नहुने बताइसकेका छन् । अब जेलेन्स्की अझै विकल्प खोज्दै जान्छन् भने उनले पुग्ने ठाउँ अर्को छ । ट्रम्पले केही अघि ‘चीनले सघाउन सक्छ’ भनेका थिए । उनले त्यो विकल्प पनि सोच्नुपर्ने हुन्छ । युक्रेन र रुसको शान्ति सम्झौताको साक्षीका रूपमा अमेरिका, युरोप र चीन हुँदा राम्रो हुन्छ ।

छैटौँ, जेलेन्स्की र ट्रम्पबिच मिल्न सक्ने कुरा भनेको युक्रेनले खोजेको शान्ति दिगो हो भन्नेमा हुन्छ । पुटिनलाई अर्को आक्रमणको तयारीको समय दिनु हुँदैन । ट्रम्प यसै पनि आफ्नो ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनका लागि दीर्घकालीन विरासत दिलाउन खोज्दै छन् । यदि उनले ‘गज्जब’ भनेर घोषणा गरेको शान्ति तत्कालै वा केही वर्षमै विस्फोटक अवस्थामा पुग्यो भने त्यो उनको नराम्रो असफलता हुन्छ । यही कुरा जेलेन्स्कीका लागि अवसर र चुनौती दुवै हो । यसैलाई समाएर उनी रुससँग भरपर्दो सम्झौता गर्न सक्छन् ।

र, अन्त्यमा सातौँ, युक्रेनको उज्यालो भविष्यको आशा युरोपसँगको सम्बन्धमा जोडिन आइपुग्छ । शान्ति सम्झौताले युरोपसँगको बलियो आर्थिक सबन्धलाई मार्ग प्रशस्त गर्नुपर्छ । भविष्यमा युरोपेली संघमा जाने समेत सम्भावनालाई खुला राख्नु पर्छ । आउँदो एक वा दुई दशकमा युरोपको आर्थिक तथा सैन्य विकासले युरोपलाई पुटिनको अधिनायकवादी शासनकै अगाडि उदाउँदो भूराजनीतिक खेलाडी बनाउँदैछ । सुरक्षा केन्द्रित रुसले युक्रेनलाई चेपुवामा पारेर आफ्नो रणनैतिक चालबाजी पक्कै अघि सार्नेछ । यदि युक्रेनले चलाखीपूर्वक आफूलाई दीर्घकालीन शान्तिको बाटोमा पुर्‍यायो भने उसले पश्चिम जर्मनी, दक्षिण कोरिया तथा फिनल्यान्ड जस्तै गरी २१औँ शातब्दीको चमत्कार बन्ने अपेक्षा राख्न सक्नेछ ।

(फरेन पोलिसीबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ग्राहम एलिसन
ग्राहम एलिसन
लेखकबाट थप