बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

राजेश हमाल भन्छन्, ‘व्यक्ति खराब हो कि व्यवस्था’ सोच्नुपर्ने अवस्था आयो’

मङ्गलबार, १९ चैत २०८१, १२ : ४८
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । अभिनेता राजेश हमालले ‘व्यक्ति खराब हो कि व्यवस्था’ भन्ने विषयमा जनताले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा हमालले यस्तो धारणा राखेका हुन् । 

फिल्म ‘नरसिंहा अवतार’को कार्यक्रममा पत्रकारले पछिल्लो राजनीतिक घटनालाई कसरी हेर्नुहुन्छ  ? प्रश्न गरेका थिए । जवाफमा हमालले भने, ‘हामीलाई २०–२५ वर्षपछि कता–कता आफू चुकेको जस्तो लाग्छ । बारम्बार हामीलाई जसले नेतृत्व दिनुपर्ने हो उहाँहरूबाट हामीले धोका पाएको महसुस गर्छौ । हामीले नै बोकेर सत्तामा पुर्याएकाहरुबाट हामी निराश हुन्छौँ । उहाँहरूबाट अपेक्षा अनुसारको काम हुँदैन । अनि हामी निराश हुन्छौँ । यसैले, खराब व्यक्तिमा हो कि व्यवस्थामा भन्ने विषयमा हामीले निर्णय गर्नुपर्छ ।’

के देशले राजा खोजेको नै हो भन्ने विषयमा हमालले देशले नेपाली जनताले एउटा सही व्यक्ति खोजेको धारणा राखे । 

‘हामीले नेतृत्वदायी भूमिकामा एउटा सही व्यक्ति खोजेका हौँ । तर, हामीले नै ल्याएका व्यक्तिबाट काम नभएपछि हामी फेरि सोच्न थाल्छौँ’, हमालले थपे ‘हामीले गरेको छनोट सही छ कि छैन भन्ने विषयमा हामीले नै गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।’

नेपाली जनता हरेक कालखण्डमा गएर आफूले गरेको निर्णयमा पछुताउने गरेको हमालको भनाई छ । 

हमालले नयाँ पुस्ता वा पुरानो पुस्ता भन्दा पनि सही व्यक्ति आउनुपर्ने दोहोर्‍याए । हमालले आफू राजनीतिक मैदानमा अहिले नरहेको बताए । तर, एक नागरिक भएका नाताले देशको विकास र समृद्धि हेर्न चाहेको उनको तर्क छ । 

हमाल ‘नरसिंहा अवतार’ मार्फत ८ वर्षपछि अभिनयमा कमब्याक गर्दै छन् । फिल्म जेठ ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप