प्रकाशिएको वसन्त

अहिले विशेष गरेर सामाजिक सञ्जालमा जताततै कलाकार प्रकाश सपुत र ‘वसन्त’ चलचित्रको चर्चा चलेको पाइन्छ । वसन्त चलचित्रका निर्देशक तथा निर्माता प्रकाश सपुतले एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गरे भन्दै उनीमाथि गालीगलौज भएका पनि छन् । सपुतलाई जातीयताका हिसाबले नीच बनाउँदै नाजायज गाली–गलौज गरेको देखिन्छ । सामाजिक सञ्जालमा आएका कमेन्टलाई हेर्दा के प्रस्ट हुन्छ भने गालीकारहरू ओलीलाई प्रशंसा गरेकाले होइन तर सपुतको सफलता र लोकप्रियतालाई सहन नसकेर खनिएको प्रस्ट हुन्छ ।
ओलीलाई प्रशंसा गरेको कारणले गाली गरेको भए त त्यहीसँग सम्बन्धित टिप्पणीहरू हुन्थ्यो होला । तर अधिकतम कमेन्टमा जातीयतालाई गाँसेर गालीकारहरूले आफ्नो औकात देखाएका छन् । कसैले ओलीले पैसा खुवाएर बोल्न लगाएको आरोप लगाएका छन् त कसैले ओलीको डरले पो यसरी तारिफ गरेका हुन् भन्ने जस्ता हास्यास्पद आरोपहरू लगाउन भ्याएका छन् । ‘के निहँु पाउँ र कनिका बुकाउँ’ भनेझैँ प्रकाश सपुतको सफलतालाई सहन नसकेर उकुुसमुकुुस भएकाहरूलाई यो घटनाले आगोमा घिउ थपेसरह हुन पुगेको छ । गाली गर्ने प्रतियोगिता राख्ने हो भने विश्व रेकर्ड नै राख्ने क्षमता भएका सिपालु गालीकारहरू कागले कान लग्यो भन्दा कानै नछामी कागको पछाडि मरेर दौडिन पुगेको देखिन्छ ।
समाजका केही जान्ने–बुझ्ने वर्गहरू समेत प्रकाश सपुत राजनीतिमा प्रवेश गर्नलाई पो यसो गरेका हुन् कि भन्ने आकलन समेत गरेको देखिन्छ । तर वास्तविकता यस्तो छ । कलाकार सबैको साझा हुन्छ । भनिन्छ, कलाकारको कुनै जात, धर्म र अडिग आस्था हँुदैन । प्रकाश सपुुत पनि अरु नेपालीहरू जस्तै एक नागरिक हुन् । कुनै पनि विषयमा तर्क राख्न पाउने अधिकार उनलाई छ । कार्यक्रममा बोलाएर बोल्ने मञ्च दिएपछि प्रधानमन्त्रीजस्तो व्यक्तिको विषयमा नराम्रो बोल्ने त कुरै भएन । अझ अर्को कुरा त ओलीले सपुतको धेरै गीतहरूको लय र शब्दहरू समेत याद गरेको कुरा सपुतले त्यही मञ्चमा भन्नुभएको छ । यसको मतलब ओली पनि सपुतका फ्यान भएको प्रस्ट हुन्छ । त्यसो त राम्रो सिर्जनाले कसको पो मन छुँदैन र ? प्रधानमन्त्रीजस्तो व्यक्ति पनि आफ्नो फ्यान भएपछि स्वाभाविक रूपमा प्रकाश सपुत पनि भावनामा नबग्ने कुरै भएन । योबाहेक अरु के नै भएको हुन सक्छ र ? प्रकाश सपुतले ओलीको बखान गर्दैमा ओलीलाई बहुुमत मिल्ने होइन न एक रति आयु नै बढ्ने हो । सपुत आफ्नै कडा मिहिनेत, संघर्ष र बलिदानले बनेको एउटा सफल कलाकार हुन् । उनलाई आरोप लागेझैँ पैसामा बिकेको भन्ने कल्पनासम्म गर्न सकिन्न ।
यति सानो विषयलाई लिएर सपुतले कुनै महाअपराध गरेझैँ हंगामा मच्चाउनुपर्ने कुनै कारण नै छैन । ओलीको प्रसंग त एउटा सानो निहुँ मात्र हो । यही मौकालाई सदुपयोग गर्दै सपुतको सफलताबाट जलेकाहरूले सुनियोजित रूपमा उनलाई गिराउनका लागि चालेको घीनलाग्दो खेल हो ।
ओलीलाई प्रशंसा गरेको कारणले गाली गरेको भए त त्यहीसँग सम्बन्धित टिप्पणीहरू हुन्थ्यो होला । तर अधिकतम कमेन्टमा जातीयतालाई गाँसेर गालीकारहरूले आफ्नो औकात देखाएका छन् ।
करोडौँ रुपैयाँ खर्चेर दर्शक, श्रोताहरूलाई धित मर्ने मनोरञ्जन दिने र समाज परिवर्तनमा समेत ठुलो टेवा पुर्याउने चलचित्र वसन्तलाई बहिष्कार गरौँ भनेर प्रायोजित रूपमा अभियान नै गरेर हिँडेको देखिन्छ । प्रकाश सपुत अत्यन्त शान्त स्वभावका व्यक्ति हुन् । उनले कसैको केही बिगार्नुभएको छैन । उल्टै नयाँ–नयाँ कलाकारलाई गीत–संगीत र चलचित्रको क्षेत्रमा स्थान दिएर पनि उनले नेपाली कला र संगीतको क्षेत्रमा योगदान पुर्याएका छन् । त्यसैले वसन्त चलचित्र बहिष्कार गर्नु भनेको त्यहाँ भर्खर पाइला टेकेका असीमित सम्भावनाहरू बोकेका धेरै जनाको कलाकारिता नष्ट गर्न खोज्नु हो । उनीहरूको छोराछोरीहरू र परिवारको खुसी, हाँसो र रोजीरोटी लुट्नु हो । अझ महत्त्वपूर्ण कुरा त समाजलाई कम्तीमा पनि दश वर्षपछि धकेल्नु हो ।
किनकि प्रकाश सपुतका म्युजिक भिडियो र गीतहरूले समेत समाजमा ठुलो सकारात्मक प्रभाव पार्छन् । बच्चादेखि बुढाबुढीसम्मलाई हँसाउँछन् र रुवाउँछन् । अर्थात् उनका गीतले आममानिसको अदृश्य पीडा बोल्ने गर्छ, केही न केही सिकाउँछ पनि । समाजको दुःख–पीडा, वस्तुस्थितिलाई सपुतले उनीहरूकै भाषामा पस्क्छन् । कहिले नबोलिएका, नलेखिएका र ओझेलमा पारिएकाहरूको पीडालाई उनले गीत र संगीतमार्फत प्रस्तुत गर्छन् । चलचित्र वसन्त उनको प्रथम चलचित्र भएकाले पनि उनी आफ्नो भए भरको क्षमता लगाएका छन् ।
अहिलेसम्म सार्वजनिक भएका दुई गीतहरू बिनास्वादैको र साँझ पर्यो झमक्कलाई हेर्दा वसन्त चलचित्र एउटा ऐतिहासिक चलचित्र बन्ने कुरामा शंका छैन । भनिन्छ, बिहानीले दिउँसोको संकेत गर्दछ । यी दुई गीतहरू र शरीर नै जिरिङ्ग हुने ट्रेलरले जुन सन्देश दिएका छन्, ती सन्देश अति गहिरा र शक्तिशाली छन् । त्यसैका आधारमा वसन्त चलचित्र पनि अरुभन्दा फरक स्वादको साथै यसले समाजलाई अति राम्रो सन्देश दिने कुुरा पक्का छ । वसन्त नाम पनि ख्यालख्यालमा जुराएको होइन होला । जसरी वसन्त ऋतुले कठ्याङ्ग्रिएका, नाङ्गो र कहालीलाग्दो रुखबिरुवामा नयाँ जीवन दिन्छ; पात झरेका आशाविहीन रुखहरूमा पालुवा, कोपिला, अनि बास्नादार फूलहरू दिन्छ; चराचुरुंगीको चिर्बिर चिर्बिरको आवाजले स्वर्गीय आनन्द दिन्छ । मानौँ कि वसन्त ऋतुले गुमेका, आशा मारिएकाहरूको जीवनमा एकाएक नौलो बहार ल्याउँछ । सायद वसन्त ऋतु मन नपराउने को नै होला र ! वसन्त चलचित्र पनि यस्तै कन्सेप्टले बनेको हुन सक्छ । सम्पूर्ण कुतूहलता मेटाउनका लागि त चैत २२ नै पर्खनुपर्छ ।
जेहोस् कुरा नै राम्रो नबुझीकन कसैलाई होँच्याउनु, गालीगलौज गर्नु, धम्क्याउनु, बदलाभाव लिन खोज्नुले सामाजिक सद्भाव भड्काउँछ; अशान्ति निम्त्याउँछ; सबैको रक्तचाप बढाउँछ । यो कसैको पनि हितमा हुन सक्दैन । त्यसैले हरेक कुरा सकारात्मक हिसाबले हेर्न सिकौँ । प्रेमले शान्ति, सद्भाव, धैर्यता र सहनशीलतालाई बढावा दिन्छ । प्रेम स्वस्थकर हुन्छ । त्यसैले घृणाको बदला प्रेमलाई अगालौँ ।
(हाल न्युयोर्क)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
-
‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
-
‘ठुलो भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन’
-
तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
-
प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट
-
भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल