बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

बिग बास लिग क्लबले विराट कोहलीको तस्बिर राखेर समर्थकलाई ‘अप्रिल फूल’ बनाएपछि ...

मङ्गलबार, १९ चैत २०८१, ११ : ०२
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहली हाल इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण खेल्न व्यस्त छन् । आईपीएलको यो संस्करणमा पनि उनी रोयल च्यालेन्जर्स बेंगलुरुमै आबद्ध छन् । 

बेंगलुरु हालसम्म आफूले खेलेको दुबै खेलमा जित निकाल्दै चार अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । साविक विजेता कोलकाता नाइट राइडर्सविरुद्धको पहिलो खेलमा बेंगलुरुलाई जित दिलाउन कोहलीले अविजित ५९ रनको योगदान गरेका थिए ।

चेन्नई सुपर किङ्सविरुद्धको दोस्रो खेलमा पनि बेंगलुरुलाई जित दिलाउन कोहलीले ३१ रनको योगदान गरेका थिए । तर, मंगलबार अस्ट्रेलियाको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग बास लिगको एउटा टोलीले सामाजिक सञ्जालमार्फत कोहलीको विषयमा अचम्मको पोष्ट सार्वजनिक गर्यो ।

सिडनी सिक्सर्सको त्यो पोष्ट सामाजिक सञ्जालमा क्षणभरमै भाइरल बन्न पुग्यो । सिडनी सिक्सर्सले आफ्नो पोष्टमा विराट कोहली बिग बास लिग खेल्न आफ्नो क्लबमा आबद्ध भएको जानकारी सार्वजनिक गरेको हो । 

भारतीय टोलीको जर्सी लगाएका विराटको तस्बिरसहित सिडनी सिक्सर्सले उक्त जानकारी सार्वजनिक गरेको छ । ‘किङ कोहली दुई वर्षका लागि आधिकारीक रुपमा सिड्नी सिक्सर्समा आबद्ध भएका छन् । क्लब र कोहलीबिच यस विषयमा सम्झौता भइसकेको छ,’ पोष्टमा लेखिएको छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्ना खेलाडीलाई विदेशी फ्रेन्चाइज लिग खेल्न रोक लगाएकाले पनि सिड्नी सिक्सर्सको यो पोष्ट सामाजिक सञ्जालमा भाइरल बन्नु स्वभाविक थियो । 

तर, उक्त पोष्टको वास्तविक्ता भने फरक थियो । खासमा, सिड्नी सिक्सर्सले क्रिकेट समर्थकहरुसँग रमाइलो गर्ने उद्देश्यले अप्रिल १ तारिख (अप्रिल फूल) को अवसर पारेर त्यो पोष्ट गरेको हो । विराटले बिग बास लिग खेल्ने समाचारमा भने कुनै सत्यता छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप