बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

केवल दुई टेस्ट खेलका १९ वर्षीय ब्याट्सम्यान क्रिकेट अस्ट्रेलियाको केन्द्रीय सम्झौतामा

मङ्गलबार, १९ चैत २०८१, १० : ३७
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । क्रिकेट अस्ट्रेलियाले सेन्ट्रल कन्ट्र्याक्ट (केन्द्रीय सम्झौता) मा अनुबन्धित हुने खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । यसपटक क्रिकेट अस्ट्रेलियाले दुई नयाँ खेलाडीलाई केन्द्रीय सम्झौतामा समेटेको छ । 

केन्द्रीय सम्झौतामा स्थान पाउने अधिकांश खेलाडी पुरानै छन् । आफ्नो नयाँ केन्द्रीय सम्झौतामा क्रिकेट अस्ट्रेलियाले २३ खेलाडीलाई समेटेको छ । केन्द्रीय सम्झौतामा पहिलो पटक स्थान पाउने खेलाडी साम कोन्सटस पनि हुन् । 

उनले केही समयअघि खेलिएको भारतविरुद्धको बोर्डर–गावस्कर ट्रफीबाट टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । आफ्नो पहिलो टेस्टमै उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रभावशाली भारतीय बलर जसप्रित बुमराहलाई समेत हायल–कायल पारेका थिए ।

१९ वर्षीय साम कोन्सटसले हालसम्म दुईवटा टेस्टमात्र खेलेका छन् । उनले दुई टेस्टमा कुल एक सय १३ रन बनाएका छन् । उनले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेलेका छैनन् । 

यसैगरी, केन्द्रीय सम्झौतामा स्थान पाउने अर्का नयाँ खेलाडी म्याथ्यू कुहनेम्यान हुन् । उनले पनि अस्ट्रेलियाका लागि हालसम्म पाँच टेस्ट र चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । टेस्टमा उनले २५ विकेट लिएका छन् । एकदिलसीयमा पनि उनले ६ विकेट हात पारेका छन् ।

क्रिकेट अस्ट्रेलियाले यी दुई नयाँ खेलाडीका अतिरिक्त केन्द्रीय सम्झौतामा प्याट कमिन्स, नाथन एलिस, क्यामरुन ग्रिन, जश हेजलउड, ट्राभिस हेड, जस इङ्लिस, उस्मान ख्वाजा, मार्नस लाबुशेन, नाथन लियोन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, लान्स मोरिस, म्याट शर्ट, स्टिभ स्मिथ, मिचेल स्टार्क, ब्यू वेबस्टर र एडज जाम्पालाई पनि समेटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप