शुक्रबार, २२ चैत २०८१
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

तीनकुने घटना : कहाँ चुक्यो प्रहरी ?

‘अहिलेका गृहमन्त्री कानुन बनाउन जान्दछन् तर, चलाउन जान्दैनन्’
मङ्गलबार, १९ चैत २०८१, ०९ : १९
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । चैत १५ गते शुक्रबार ‘बागमती प्रदेश ०२७ च ३८४७’ नम्बरको गाडी हुइँक्याउँदै दुर्गा प्रसाईं तीनकुनेबाट बानेश्वरतर्फ लागे । गाडीमा युट्युबर र उनका समर्थकसमेत थिए । चालक सिटबाट उनी कराउँदै थिए, ‘आओ, आओ !’

तीनकुनेमा डीएसपीको नेतृत्वमा रहेको प्रहरी कार्यालय छ । कार्यालय नजिकै ३ तहमा सुरक्षाकर्मीले ‘ह्युमन सिल’ लगाएका थिए । तर, प्रसाईंको गाडी प्रहरी र सशस्त्रको घेरा तोडेर बागमती पुल कट्यो ।

प्रसाईं निषेधित क्षेत्रतर्फ अघि बढ्दा ‘सेल्फ लोडिङ राइफल’ (एसएलआर) बोकेका सुरक्षाकर्मीहरू मुकदर्शक बनेर हेरिरहे । सो दृश्य सामाजिक सञ्जालमा भाइरल छ । सुरक्षा सम्बन्धी सामान्य जानकारी राख्नेहरूसमेत प्रश्न गर्छन्, ‘गाडीको चक्कामा किन गोली हानिएन ?’

प्रसाईंको गाडीले प्रहरीलाई नै किच्न खोजेको दृश्य उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले रानीपोखरीबाट सीसीटीभीमा हेरिरहेका थिए । तर, उनले ‘बल प्रयोग गर्न, गाडी नियन्त्रणमा लिन’ भनेर आदेश दिन सकेनन् ।

ट्राफिक नियमनका लागि प्रयोग गरिने ‘कोन’ चक्कामा अड्किएपछि प्रसाईंको गाडी आफैँ रोकियो । त्यसपछि उनी गाडीबाट ओर्लिएर प्रदर्शनस्थलतर्फ फर्किए । शान्तिगरबाट तीनकुनेतर्फ प्रहरीले नै फर्काइएका प्रसाईं अहिले फरार छन् । प्रहरीको सिङ्गो शक्ति अहिले उनलाई खोज्न परिचालन गरिएको छ ।

प्रदर्शन दुई वटा समूहले आयोजना गरेका थिए । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रदर्शन आयोजना गरेका हुन् ।

चैत १५ मा तीनकुने घटनामा भएको सुरक्षा कमजोरीबारे प्रश्न गर्दा गृह प्रशासनका अधिकृतहरूको एउटै भनाइ छ, ‘अराजक समूहको हिंसात्मक प्रदर्शन ।’

हिंसात्मक गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी स्थानीय प्रशासनको हुन्छ तर, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी त्यसबारे आफ्नोतर्फबाट कमजोरी नै नभएको जिकिर गर्छन् । उनले भने, ‘हाम्रो कमजोरी छैन ।’

प्रदर्शन हिंसात्मक हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजक र कीर्तिपुर नगरपालिका–४ बस्ने २९ वर्षीय सविन महर्जनले ज्यान गुमाए । निजी घरमा आगजनी र तोडफोड गरिएको छ । सञ्चार संस्था, भाटभटेनी सुपरमार्केट र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयसहित २२ वटा घर तथा कार्यालयमा तोडफोड भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । ३९ वटा सवारीसाधन प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

सम्भावित खतरा मूल्याङ्कन गर्न नसक्नु र प्रोएक्टिभ योजना नहुनु तीनकुने घटनाको सुरक्षा कमजोरी रहेको पूर्वएआईजी राजेन्द्र सिंह भण्डारीले बताए । उनले भने, ‘रियाक्टिभ काम बढी भयो तर, रोक्नुपर्ने र छेक्नुपर्ने कुरामा सुरक्षाकर्मीहरू चुकेका छन् ।’

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी विरेन्द्र गोदार करिब १ वर्षदेखि नयाँ बानेश्वर र माइतीघर क्षेत्रको भिड नियन्त्रणमा खटिएका छन् । बानेश्वर क्षेत्रमा निषेधित क्षेत्रमा प्रहरीले फलामको ब्यारिकेड लगाउँछ । तर, आफ्नो कार्यालय नजिकै रहेको तीनकुने चौरबाट प्रदर्शनकारी बानेश्वरतर्फ आउनसक्ने चुनौती डीएसपी गोदारले आकलन गर्न सकेको देखिँदैन ।

पूर्वएआईजी भण्डारी भन्छन्, ‘फलामको ब्यारिकेड र सुरक्षा लेयरिङ गरेको देखिएन ।’

कार्यक्रम स्थलबाट आसपासको क्षेत्रमा सुरक्षाकर्मीहरूले ‘ह्युमेन सिल’ गर्नुपर्ने भए पनि योजनाबद्ध रूपमा सो काम गर्नबाट प्रहरी चुकेको छ ।

भिड नियन्त्रण गर्नेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना बनाएर जिल्ला सुरक्षा समितिबाट पास गराउने गर्छ । सुरक्षा समितिमा प्रमुख जिल्ला अधिकारी सहित सबै सुरक्षा निकायका जिल्लास्थित प्रमुख र प्रतिनिधिहरू हुन्छन् । अन्तर्राष्ट्रिय निकायले पनि चासोपूर्वक हेरेको राजावादीको प्रदर्शन सम्बन्धी सुरक्षा योजना बनाउँदा सम्भावित चुनौती विश्लेषण गरेर प्रतिकार्यात्मक योजना तयार गर्न प्रहरी चुकेको छ ।

सुरक्षा योजना अनुसार प्रदर्शन स्थलमा सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि खटिएका थिए । तर, प्रसाईंको गाडी नियन्त्रण गर्नेबेलामा सशस्त्र प्रहरी पनि अलमलिए ।

काठमाडौँका प्रजिअ तिवारी तीनकुनेको घटनाबारे समग्र समीक्षा गर्नुपर्ने बताउँछन् । उनले भने, ‘अहिले हामी चैत १५ मा जे भयो, त्यसको विश्लेषण र क्षतिको विवरण सङ्कलन गर्दैछौँ ।’

मञ्चमा अश्रुग्याँस हान्नु कमजोरी

जिल्ला प्रशासन कार्यालसँग अनुमति लिएर प्रसाईं नेतृत्वको समूहले तीनकुने चौरमा मञ्च बनाएकोे थियो । सभाको प्रमुख अतिथिको रूपमा नवराज सुवेदी पुगेको केही मिनेटमै सुरक्षाकर्मीले मञ्चमा अश्रुग्याँस प्रहार गरे । त्यसपछि परिस्थिति नियन्त्रबाहिर गएको जानकारहरू बताउँछन् ।

मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि अवस्था बिग्रिएको पूर्वसचिव केदार न्यौपाने बताउँछन् । गृह प्रशासनको लामो अनुभव भएका उनले भने, ‘मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि प्रदर्शनकारी आक्रोशित भए, त्यहाँ खटिएका सुरक्षा कमाण्डरको ढङ्ग पुगेन ।’

प्रधानमन्त्री ओलीले ऋण तिर्नुपर्दैन भनेर वित्तीय संस्था ध्वस्त पार्न सक्रिय तत्वलाई पूर्वराजा ज्ञानेन्द्र शाहले ‘कथित’ जनकमाण्डर तोकेर हिंसात्मक वारदातको लागि खटाएको आरोप लगाएका छन् । आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने उल्लेख गर्दै ओलीले भनेका छन्, ‘तीनकुने घटनाको मूल जिम्मेवार पूर्वराजा हुन् ।’

राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरहरूले पनि सूचना सङ्कलनमा पकड राख्न नसकेको पूर्वसचिव न्यौपानेको विश्लेषण छ । उनले भने, ‘गुप्तचरीमा कमजोरी देखिन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटना बुझ्न एक वर्षअघि देखिकै क्रियाकलापलाई बुझ्नुपर्ने बताएका छन् । गत वर्ष दुर्गा प्रसाईंले बल्खुमा आयोजित प्रदर्शनमा ‘सिंहदरबार कब्जा गर्ने’ अभिव्यक्ति दिएसँगै झडप भएको थियो । सोमबार सङ्घीय संसदमा ओलीले भने, ‘यो घटना बुझ्न एक वर्ष अघिदेखिको क्रियकलापलाई बुझ्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले ऋण तिर्नुपर्दैन भनेर वित्तीय संस्था ध्वस्त पार्न सक्रिय तत्वलाई पूर्वराजा ज्ञानेन्द्र शाहले ‘कथित’ जनकमाण्डर तोकेर हिंसात्मक वारदातको लागि खटाएको आरोप लगाएका छन् । आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने उल्लेख गर्दै ओलीले भनेका छन्, ‘तीनकुने घटनाको मूल जिम्मेवार पूर्वराजा हुन् ।’

तीनकुनेमा कुम्युनिकेशनको ग्याप भएको पूर्वएआईजी भण्डारीले बताए । उनले भने, ‘आगजनी भएको घरमा मान्छे रहेको सूचना आउँदा र भाटभटेनीमा लुटपाट भएको सूचना पाउँदा प्रहरी पुग्न सकेन ।’

प्रदर्शनस्थल आसपासका अरु महत्त्वपूर्ण ठाउँमा सुरक्षाकर्मीले ‘एरिया क्लियरेन्स’ गर्न नसकेको भण्डारीले बताए । उनले भने, ‘अन्दोलनकारीको मूल नेतृत्वसँग प्रहरीको समन्वय भएन ।’

मञ्चमा पहिले नै अश्रुग्याँस प्रहार गर्नु गलत भएको भण्डारीले बताए । उनले भने, ‘मञ्चमा अश्रुग्याँस हान्नु राम्रो होइन ।’ तीनकुनेमा भएको सुरक्षा कमजोरीको केन्द्रबिन्दुमा गृह मन्त्रालय रहेको उल्लेख गर्दै उनले भने, ‘अहिलेका गृहमन्त्री कानुन बनाउन जान्दछन् तर, चलाउन जान्दैनन् ।’

त्यस्तै, प्रहरीको मनोबल कमजोर छ । भिड नियन्त्रण गर्न गोली चलाउँदा कारबाहीमा पर्ने डरले अधिकृतहरू गोली चलाउन हच्किन्छन् । राज्यले व्यावसायिक प्रहरीलाई संरक्षण नगर्ने हुनाले मनोबल कमजोर भएको भण्डारी बताउँछन् । उनले भने, ‘सञ्चालन विधि अनुसार प्रहरीलाई सञ्चालन नगर्दा कमाण्ड गर्ने व्यावसायिक प्रहरीको मनोबल कमजोर भएको अवस्था छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप