बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता

सोमबार, १८ चैत २०८१, २२ : ४५
सोमबार, १८ चैत २०८१

धनगढी । फरक दलका नेताहरू अनियमितता र भ्रष्टाचारमा कसरी मिल्न सक्छन् भन्ने उदाहरण सुदूरपश्चिम प्रदेशमा देखा परेको छ। हालै राजीनामा दिएका प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीको आर्थिक चलखेलमा एमाले नेताहरू समेत संलग्न रहेको खुलासा भएको हो।

स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको अडियोमा नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी र एमालेका पोलिटब्युरो सदस्य नारदमुनि रानाबिच घुस लिने विषयमा छलफल भएको पाइएको छ। सुरुमा मन्त्री चौधरी मात्र मुछिएको भनिएको भएपनि नयाँ खुलासाले एमाले नेता राना समेत घुस प्रकरणमा संलग्न रहेको देखाएको छ। 

अडियोमा रानाले मन्त्री चौधरीलाई दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि बनाउन सल्लाह दिइरहेको सुनिन्छ। उनले कार्यविधि बनाई कार्यदलमार्फत बैठकमा पास गराउन निर्देशन दिएको अडियोमा प्रष्ट छ।

मन्त्री चौधरीलाई रानाले भनेका छन्, ‘तपाईं र म फेरि चुनाव लड्नुपर्छ, जित्नका लागि पैसा कमाउनुपर्छ।’ यसले आगामी चुनावको तयारी र आर्थिक लाभका लागि दिगो वन व्यवस्थापनलाई उपयोग गर्ने योजना रहेको देखाउँछ।

सुदूरपश्चिममा दिगो वन व्यवस्थापन योजनामा ठेकेदारबाट ३० लाख रकम आउने र सो रकम मुख्यमन्त्री, मन्त्री, नागरिक उन्मुक्ति पार्टीका संरक्षक र अध्यक्षबिच बाँडफाँड गर्ने योजना बनाइएको अडियो मा उल्लेख छ। रानाले उक्त रकम एमालेसँग मिलाएर बाँड्ने पनि बताएका छन्।

अडियो बाहिरिएपछि मन्त्री चौधरीले मुख्यमन्त्रीको निर्देशनमा राजीनामा दिएका छन्। चौधरीले अडियो पुरानो भएको र कर्मचारीको आग्रहमा छलफल गरेको दाबी गरेका छन्। रानाले भने आफूले कुनै घुस लिन सहयोग नगरेको र अडियो गलत भएको बताएका छन् । रानाले अडियोलाई गलत भनेका छन्। उनका अनुसार मन्त्री चौधरीले लुम्बिनी प्रदेशको वन व्यवस्थापनसम्बन्धी पुरानो कागजात खोज्न सहयोग मागेका थिए। रानाले अनलाइनबाट लुम्बिनीको कार्यविधि खोजेर सुझाव दिएको दाबी गरेका छन्। उनले आफूले घुस खान कुनै सल्लाह नगरेको स्पष्ट पारे।

सुदूरपश्चिममा दिगो वन व्यवस्थापनको कार्यविधि निर्माणको क्रममा भएको अनियमितताको यो प्रकरणले प्रदेश राजनीतिमा ठुलो चर्चा पाएको छ। विपक्षीहरूले मुख्यमन्त्री र अन्य संलग्न पक्षहरूको नैतिकताको प्रश्न उठाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप