बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
राजनीति

रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?

सोमबार, १८ चैत २०८१, २२ : ०७
सोमबार, १८ चैत २०८१

काठमाडौँ । पछिल्लो समय मौन बस्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार पार्टी कार्यालय वनस्थली पुगेर मुख खोलेका छन् । केन्द्रीय समिति बैठकअघि कार्यकर्ता तथा शुभचिन्तकलाई सम्बोधन गरेका लामिछानेले गठबन्धन सरकारविरुद्ध कडा अभिव्यक्ति दिए ।

चैत १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक गतिविधि रोक्न सरकार असफल भएको रविको आरोप थियो । ‘चार हजार मानिस आउँदा यो सरकार जनतालाई जोगाउन सक्दैन । अन्तरजातीय जोडीलाई छुट्ट्याउन मुम्बईसम्म पुग्ने यो सरकार यहाँ चार हजार मान्छे जम्मा हुँदा जनता जोगाउन सक्दैन । भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ, मलाई थाहा छैन,’ उनले भने ।

रविले पार्टी जिम्मेवारीमा फर्किने आफ्नो चाहना नभए पनि आफूले देखाएको नैतिकताले सरकारले देखाएको प्रतिशोध अनुमोदन हुने भएकाले फर्किएको जिकिर गरे । उनले बाँकी विशेष कुरा आगामी शनिबार चितवन पुगेर खोल्ने बताए ।

सहकारी ठगी मुद्दामा उनी कात्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका थिए । रवि पक्राउ परेपछि पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

८४ दिन कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेका उनी मंसिर १० गते अदालतले मागेको ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए । त्यसयता लामिछाने हरेक घटनाबारे मौन बस्दै आएका थिए । लामिछाने मात्र नभइ पार्टीका नेताहरूले समेत मौन बस्ने नीति लिएका थिए । सोमबारदेखि रविले पार्टीको नेतृत्व सम्हालेका छन् ।

के भने लामिछानेले ?

दाजुभाइ दिदीबहिनीहरू ! करिब पाँच महिना अगाडि सरकारले जबर्जस्ती झुटा मुद्दा लगाएर मलाई यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन तर मैले कुनै दिन पनि हार मानेको थिइनँ । हार मान्नेवाला पनि छैन । म जुनसुकै परिस्थितिको सामना गर्न राजनीतिक मैदानमा आएको मान्छे हुँ । जुनसुकै आक्षेप लागोस्, जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु ।

यतिबेला मलाई विभिन्न जिल्लामा मुद्दामाथि मुद्दा लगाइराखेको छ । सरकारले आफूले गर्न सकेजति, हुनसक्ने जति जोडबल लगाएको छ । के भयो, के भएन, मैले भन्न पर्दैन । कतिपयले भन्ने गर्छन्– केही न केही नभएको भए तलाई त्यत्रो धरौटी लिन्थ्यो त ?

अदालतको प्रारम्भिक आदेशलाई समेत अपव्याख्या गरेका छन् । म यति भन्न चाहन्छु– तिम्रो दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ । यो नै मेरो जित हो । शरीरमा एक थोपा रगत रहुन्जेलसम्म लुटतन्त्रको विरोधमा उभिन्छु, चाहे जति वटा मुद्दा लगाऊ सरकार !

मैले मेरो व्यक्तिगत जीवनका लागि मैले केही मागेको छैन । माग्नेवाला पनि छैन । मलाई थाहा छ, म यो राजनीतिमा नआएको भए यो दुःख झेल्नुपर्ने थिएन । लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकालाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पछि हट्दैन ।

मलाई लागेको थियो, म शान्तिसँग बसौँ र प्रक्रियालाई सघाउँ तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुण्ड्याउँछु भनेर एउटा जिल्लामा मुद्दासमेत नबुझाएर राखेको छ । यिनीहरूलाई लागेको होला, यसको टाउकोमा तरबार राख्यो भने चुपचाप बस्छ । कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल, म थाप्न तयार छु । म लड्छु, जुनसुकै शक्तिसँग पनि लड्छु । तर यो लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने म लाछी मान्छे होइन । मैले यति भनेपछि सरकारको मुटुमा के हुन्छ, मलाई थाहा छ । तर मलाई केही हुनेवाला छैन । अझै गर षड्यन्त्र । म अदालतमाथि आशा र भरोसा राखेर हरेक अदालत पुगेको छु । एउटा मान्छे एकै दिन चार–चार अदालतमा कसरी उपस्थित हुन्छ होला ! तर जे हुन्छ, होस् । केही मुद्दा लगाउन बाँकी छ भने पनि लगाऊ सरकार ।

कहाँ आगो बलेको छ, त्यहाँ तापौँला भनेर बसेको मान्छे होइन म । हामीले पहिल्यै भनेका थियौँ, जनतामा ठुलो आक्रोश छ । त्यसलाई चिर्नुपर्ने थियो । बदल्नुपर्ने थियो । त्यसलाई व्याख्या गरेर हुँदैनथ्यो । त्यसैले हामीले घण्टी बजायौँ । २१ जना संसदमा आएपछि सुन्यो होलान् भन्ने लागेको थियो तर यिनीहरू घण्टी फुटाउनतिर लागे ।

अहिले प्रतिपक्षविहीन अवस्थामा छ । सशक्त प्रतिपक्ष चाहिन्थ्यो । लोकतन्त्रको खोल ओढेर देश लुट्ने हो भने तपाईंको मुखबाट लोकतन्त्र र गणतन्त्र सुहाउँदैन । होइन, साँच्चै लोकतन्त्र बचाउने हो भने प्रतिपक्ष बन्नोस् । विपक्षी मोर्चा बलियो हुन जरुरी छ । तीनकुनेको घटनामा आफ्नो लाज छोप्ने काम सरकारले नगरोस् । त्यसको सत्यतथ्य छानबिन होस् ।

संयोगले दुई पटक गृहमन्त्री भएको मान्छे हुँ । चार हजार मान्छे जम्मा हुँदा जनता जोगाउन नसक्ने गृहमन्त्री के नैतिकताले कुर्सीमा बसिरहेको छ ? चार हजार मान्छे आउँदा घरहरू जल्छन् । मान्छे ढल्छन् । अहिलेको गृह मन्त्रालयले हाम्रो सुरक्षा दिन सक्छ ? पटकपटक हाम्रो डीएनए टेस्ट गर्ने कुरा हुन्छ, तिमीहरू कुन वादी हो भनेर ! पटकपटक रास्वपाले कतिपटक जाँच दिनुपर्छ ? हामी के  हौँ, को हौँ, बताइसकेका छौँ । वर्तमान संविधानलाई मानेर, व्यवस्थालाई स्वीकार गरेर आएको दल हो रास्वपा । गणतन्त्रवादी छैनौँ कि भनेर लुटतन्त्रलाई प्रश्रय दिन जुन हिलो छ्याप्ने प्रयास भइराखेको छ, म भन्न चाहन्छु– जहाँ तपाईं उभिरहनुभएको छ, त्यो गणतन्त्र होइन । त्यो गणतन्त्रको खोल ओढिरहनुभएको छ । रास्वपा खोल ओढ्दैन । तपाईंको कर्तुत लुकाउनका लागि तपाईंको कित्तामा उभिएर फोटो खिचाउने पक्षमा रास्वपा छैन ।

रास्वपा जनता र परिवर्तनको पक्षमा छ । त्यसकारण फेर्नुपर्ने धेरै छन् । हामी हिंसाको विरोधी हौँ । कुनै पनि हिंसा नहोस् भन्ने कुरामा हामी सचेत छौँ । लोकतन्त्रभन्दा उन्नत तन्त्र आजसम्म कहीँ कतै देखिएको छैन । यस कुरामा हामी स्पष्ट छौँ । लोकतन्त्रको नाम दिएर वर्षौंसम्मको लुट जुन नेतातन्त्रले गरिराखेका छन्, त्यसकाविरुद्ध हामी ज्यान गए पनि पछि हट्नेवाला छैनौँ ।

कुन बेला मेरो आवाज थुत्न तयार भएर बसेको छ । रास्वपा फुटाउन सकिन्छ कि, कमजोर पार्न सकिन्छ कि भन्ने कुरामा मानिस लागिपरेका छन् । यो दुई तिहाइको सरकार सफल हुनेवाला छैन । अन्यथा नलिनुहोला, दुई वटा चोर मिलेर साधु हुनेवाला छैन । मैले संसदमा भनेको थिएँ– यदि यो सरकारले परिणाम दिन सकेन भने ऐतिहासिक भुल हुनेछ ।

संविधान संशोधन गर्छु भनेर बनेको सरकार झण्डै संविधान नै जाने अवस्था हुँदासमेत चेतेको छैन । अहिले पनि रवि लामिछानेलाई कहाँबाट थुन्ने भनेर योजना बनाएर बसेको छ । मलाई थुनेर संविधान, देश बाँच्छ वा जनता खुसी हुन्छन् भने म तयार छु । तर सरकारले गलत गरिरहेको छ । जुन प्रकारको अन्याय र अत्याचार यो सरकारले गरिराखेको छ ।

सडकमा देखिएको आक्रोश राजालाई देखाएर आएकोमात्र होइन, यिनीहरूलाई दण्डित गर्नुपर्छ, जसले गरे पनि हुन्छ भनेर आएको हो । मैले चितवनका जनतालाई बताउनु छ । दासढुंगाको बाटोबाट कुन नियतका साथ यिनीहरूले लिएर गएका थिए ? सरकार कसले ढाल्यो ? कसको हातमा हतकडी लाग्नु थियो ?

यो अभियान मर्न दिन हुँदैन । आफ्नो पद, आफ्नो सानो लाभ लिएर हिड्छौँ भने तपाईं हामी सकिन्छौँ । हामी सकियौँ भने यिनीहरूको राज चलिरहन्छ । यसलाई अनुमोदन गर्न दिनोस् । जनआक्रोश बाँकी नै छ । त्यो आक्रोशलाई हामीले सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि हामी तयार हुनुपर्छ । कसैलाई गाली गरेर, कसैलाई होच्याएर केही हुनेवाला छैन ।

म फेरि पनि तपाईंलाई भन्न चाहन्छु– सरकारबाट होसियार हुनुपर्छ । चार हजार मानिस आउँदा यो सरकार जनतालाई जोगाउन सक्दैन । अन्तरजातीय जोडीलाई छुट्ट्याउन मुम्बईसम्म पुग्ने यो सरकार यहाँ चार हजारलाई मान्छे जम्मा हुँदा जनता जोगाउन सक्दैन । भिजिविलिटी गुमाइसकेको सरकारले कुन नैतिकताका आधारमा बसेको छ, मलाई थाहा छैन ।

सरकारको औचित्य समाप्त भइसकेको छ । संसदबाट बलियो सरकार बन्ने बाटो समेत दुई दल मिलेर बन्द गरिसकेको छ । लोकतन्त्र र संविधान बचाउन होइन, एक अर्काका भ्रष्टाचारीलाई बचाउन बनेको छ । देखाउ बचाएर, थुन रवि लामिछानेलाई, तयार छु । म त फेरि जिम्मेवारीमा फर्किने वाला थिइन । मैले उच्च नैतिकता देखाउँदाखेरि उनीहरूले यो प्रतिशोधलाई अनुमोदन गर्नेछन् ।

अब पार्टीको नेतृत्व सम्हाल्छु । जुन दिन थुनिन्छु, जबसम्म रहन्छु त्यतिन्जेल फेरि नयाँ तरिकाले अगाडि बढाउँछु । त्यसकारण बाँकी कुरा म चितवनमा भन्नेछु । चितवनमा केही विशेष कुरा भन्नुछ मैले । आउँदो सभा चितवनमा हुनेछ । सरकारले मलाई फेरि थुनेछ भने पनि सभा गर्नुहोला । पार्टीको कामलाई निरन्तरता दिनुहोला । मेरो अनुपस्थितिमा पार्टी जिम्मेवारीमा बसेर काम गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । मलाई अप्ठ्यारो भएको बेला समर्थन गर्ने विभिन्न पार्टीका नेताहरूलाई धन्यवाद दिन चाहन्छु ।

हिरासतमा हुँदा मेरा आँखाबाट आँशु खसेका छन् । दुई तिहाइको सरकारसँग नडराइकन मेरो पक्षमा बोल्ने विपक्षी दलका नेताहरूलाई धन्यवाद दिन चाहन्छु ।

(रवि लामिछानेले दिएका अभिव्यक्तिको सम्पादित अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप