बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

राजसंस्था, राजनीतिक दल र जनता एकैठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

सोमबार, १८ चैत २०८१, २१ : ४०
सोमबार, १८ चैत २०८१

काठमाडौँ । वर्तमान व्यवस्थाको विपक्षमा रहेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे धारणा व्यक्त गर्दै राजसंस्था, राजनीतिक दल र जनता सबै एकै ठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।

संयुक्त जनआन्दोलन समन्वय समितिको आह्वानमा चैत १५ गते काठमाडौँमा आयोजित शान्तिपूर्ण विरोधसभामा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले ती घटनाहरुलाई नियोजित भन्दै निन्दा गरेका छन्। विरोध प्रदर्शनका क्रममा हत्या, हिंसा, आगजनी तथा लुटपाटका घटनाहरू सुनिन आएको भन्दै उनले यदि ती सत्य हुन् भने अत्यन्त दुर्भाग्यपूर्ण रहेको सोमबार विज्ञप्तिमार्फत बताए ।

पूर्वप्रधानमन्त्री चन्दले आन्दोलनको क्रममा सहादत प्राप्त गरेका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित क्षतिपूर्ति सहित उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। उनले यस घटनाको निष्पक्ष छानबिन गर्न उच्च स्तरीय न्यायिक आयोग गठन गर्न माग समेत गरेका छन्।

नजरबन्दमा रहेका संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक नवराज सुवेदी, हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत सम्पूर्ण पक्राउ परेका बन्दीहरूको शीघ्र रिहाइको माग गर्दै उनले सरकारलाई निषेधको राजनीतिबाट टाढा रहन आग्रह गरेका छन्।

उनले मुलुक राजनीतिक अस्थिरता, भ्रष्टाचार, कानूनविहीनता तथा उत्तरदायित्वहीनताको भूमरीमा फसेको भन्दै राष्ट्रिय सहमति, सहकार्य र एकता नै अबको निकासको अपरिहार्य मार्ग भएको उल्लेख गरे। माओवादी द्वन्द्व र ०६२/०६३ को आन्दोलनपछिको परिस्थितिले सरकार, संसद, न्यायपालिका तथा राज्यका अन्य अंगहरूमा जनविश्वास गुम्दै गएको दाबी गर्दै उनले मुलुकलाई निकास दिनका लागि सबै पक्षबीच समन्वय आवश्यक रहेको औंल्याए।

‘अबको निकास भनेको बिना कुनै बिलम्ब नगरी सबैले आआफ्ना आग्रह, पूर्वाग्रह र अहम त्यागेर राजसंस्था, राजनीतिक दलहरू र सम्पूर्ण जनता एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनु नै हो,’ चन्दले भने।

lokendra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप