शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह

सोमबार, १८ चैत २०८१, १९ : १८
सोमबार, १८ चैत २०८१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको भाग्य र भविष्यसँग कोहलपुर—सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनको बाँकी कामलाई टुंगोमा पुर्‍याउन आग्रह गरेका छन् ।  

बाँकेको बैजनाथ गाउँपालिकाको बानियाभारमा तीन वटा टावरको विवादका कारण आयोजना निर्माणमा विलम्ब भएको छ । 

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई फोन गरेर मुख्यमन्त्री कँडेलले चाँडो विवादको समाधान गर्न आग्रह गरेका हुन् । ‘तीन टावरको ढिलाइले सिँगो कर्णालीले लोडसेडिङ खेपिरहेको छ,’ कँडेलले भने, ‘तपाईंको पहलमा चाँडो विवाद समाधान होस् ।’ 

कोहलपुर—सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख रवि चौधरीले निकुञ्जलगायतका अन्य स्थानहरुमा टावर राख्ने काम जेठ महिनामै सम्पन्न हुने मुख्यमन्त्रीलाई जानकारी गराए । तर, बाँकेको गाभर र सुर्खेतको सुब्बाकुनामा गरी ५ वटा टावरको काम जग्गाको कारण समस्या रहेको बताए । त्यसपछि मुख्यमन्त्री कँडेलले प्राधिकरणका निर्देशकलाई फोन गरेर विवाद चाँडो समाधान गर्न भनेका हुन् ।

‘कर्णालीको लागि निकै महत्व रहेको प्रसारण लाइन विस्तारमा प्राथमिकता दिनुहोस्,’ शाक्यलाई कँडेलले भने, ‘अनियमित बत्तीका कारण कर्णालीका नागरिकले असाध्यै दुःख खेप्नु परेको छ ।’

अदालतले समेत विवादको छिनोफानो गरेको विषयलाई काम गर्न नदिने स्थानीयसँग प्राधिकरणले सहजीकरणको विशेष भूमिका खेल्नुपर्ने कँडेलको भनाइ छ । 

प्राधिकरणका निर्देशक शाक्यले आफू कर्णालीको समस्याबारे परिचित रहेको र त्यसबारे तत्कालै उपयुक्त कदम चाल्ने जवाफ दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप