मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता

सोमबार, १८ चैत २०८१, १८ : ४७
सोमबार, १८ चैत २०८१

नेपालमा एउटा यस्तो भिड जबर्जस्त बढ्दै गएको छ, जो कुनै नायक आगमनमा आफ्नो भविष्य देख्छ । नेतृत्वको विकल्प खोजिरहन्छ— कहिले यसको पछि, उसको पछि लागेर । कोही नपाएर त्यो भिड अहिले भन्दै छ, ‘राजा आउ देश बचाउ’ । 

दलीय पद्धतिमा पनि यो भिड कहिले कुन नेताका पछाडि दौडियो त कहिले कुन । कहिले प्रचण्डको जनक्रान्तिले केही गर्छ कि भनेर लागे, कहिले केपी ‘बा’को राष्ट्रवादले पो हुन्छ कि भन्दै हिँडे । नयाँ दल आए केही हुन्छ कि भन्दै रवि लामिछानेको पछि कुद्नेहरु पनि छन् । यही सिलसिलामा एउटा भिड राजा फर्काउने ध्याउन्नमा देखिन्छ ।

अहिलेसम्म व्यक्तिका पछाडि लागेर के पाइयो र फेरि किन लाग्ने भन्ने चेत भिडलाई नभएको होइन । बारम्बार धोखा खाएका उनीहरू चेत भएर पनि दिक्दारीपछिको अर्को नयाँ आशामा हिँड्न विवश छन् । उनीहरूलाई जहिल्यै लाग्छ, कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ । त्यही चाँदीको घेरा पाउने आसमा उनीहरू हिँडिरहेकै छन् । 

उनीहरूले खोजेको न राजा हो न त अहिलेको व्यवस्थाको अन्त्य, न राजतन्त्रको पुनस्र्थापना हो न त ‘सिन्डिकेट’तन्त्र । उनीहरूले त व्यवस्थाको ब्याज खाएर ‘सिन्डिकेट’ चलाइरहेका राजाहरूको अन्त्य चाहेका छन् । उनीहरूले राजनीतिलाई जमेको फोहोर पोखरीजस्तो होइन, निरन्तर बगिरहने सङ्ग्लो नदी बनाउन चाहेका छन् । उनीहरूले सधैँ सीमित व्यक्तिबाट जन्मेदेखि नमरेसम्म शासित हुन चाहेका छैनन् । उनीहरूले यो सबै चाहेका छैनन् भने वंशजका आधारमा शासन चलाउने पद्धति त झन् चाहने कुरै भएन ।
उनीहरू सधैँ नयाँ व्यक्तिका पछाडि कुद्न यस कारण पनि बाध्य छन्, जहिल्यै उनीहरूले धोका खाएका छन् । सम्झनुस् त कुनै बेला कांग्रेसका गगन थापा, तत्कालीन माओवादीका बाबुराम भट्टराईको पछाडि कति भिड थियो । आज कता गयो, त्यो भिड ! आज कता गयो, उनीहरूप्रतिको आकर्षण । तसर्थ व्यक्ति पछाडिको भिड क्षणिक हो । नानीमैँया दाहाल प्रसङ्ग त हामीले सुनेकै हो । 

अहिले हालत त्यस्तै भएको छ । एकातिर नेता, अर्कोतिर बोल्दै नबोल्ने ढुङ्गाको मूर्तिलाई जनताबिच प्रतिस्पर्धा गराउने हो भने मूर्तिले सजिलै विजय हासिल गर्न सक्ने अवस्थामा हामी आइपुगेका छौँ । यसको अर्थ यो होइन मूर्तिको पछाडि भिड लाग्यो भनेर मूर्तिले देश कायापलट गर्नेछ । भिड यसकारण मूर्तिको पछाडि लाग्यो कि उसले भएका नेताबाट आशा गर्नै छाड्यो । तसर्थ व्यवहारमा देखिएको भन्दा त्यसभित्रको सैद्धान्तिक पक्षलाई केलाउन आवश्यक छ ।

अहिलेकै अवस्थामा न नयाँ व्यक्ति आएर केही हुन्छ न राजा । जबसम्म प्रणाली आफ्नो गतिमा अगाडि बढ्दैन तबसम्म जो आए पनि जो गए पनि हुने केही होइन । प्रणालीमा सुधार आवश्यक छ ।


अहिलेको अवस्थामा भिड मात्र व्यक्तिको पछाडि दौडिएको होइन स्वयं नेताहरू व्यक्तिको पछाडि दौडिरहेका छन् । ठुलो दल कांग्रेसभित्र देउवाको प्रसङ्ग होस् या एमालेभित्र ओली वा माओवादीभित्र प्रचण्ड । उनीहरू दलभित्र कुनै राजा–महाराजाभन्दा कम छैनन् । उनीहरूको पछाडि दलभित्रका सबै नेता ताली बजाएर महान् बनाउन केन्द्रित छन् । उनीहरूको विकल्पका बारेमा अरु नेताले चुनौती दिन त के बोल्न पनि सक्दैनन् । उनीहरू बाहिर राजा–महाराजा फर्किन सम्भव नभएको भाषण गर्छन् अनि दलभित्रका आफ्ना राजालाई देवत्वकरण गरेर झनै शक्तिशाली हुन मलजल गर्छन् ।

व्यक्ति पूजाकै कारण नेपाली समाज आज यो अवस्थामा आएको भन्दा फरक नपर्ला । व्यक्तिवादको अन्त्य अहिलेको आवश्यकता हो न कि राजाको आगमन । अहिलेकै अवस्थामा न नयाँ व्यक्ति आएर केही हुन्छ न राजा । जबसम्म प्रणाली आफ्नो गतिमा अगाडि बढ्दैन तबसम्म जो आए पनि जो गए पनि हुने केही होइन । प्रणालीमा सुधार आवश्यक छ । राजनीतिक सिन्डिकेटको अन्त्य आवश्यक छ । अझ सुधारिएको डेमोक्रेसी अहिलेको आवश्यकता हो । जबसम्म प्रणाली आफैँले काम गर्न सक्दैन र व्यक्तिले प्रणालीलाई निर्देशित गर्ने अवस्था सिर्जना हुन्छ, त्यसको परिणाम यस्तै हुने गर्छ ।

फेरि पनि मनन गरौँ, अहिले देखिएको आक्रोश राजा ल्याउनका लागि हुँदै होइन, यो आक्रोश नयाँ राजाहरूको मनमौजी शासन अन्त्यका लागि भएको भन्ने बुझ्न ढिला गर्नुहुँदैन । 
यही आक्रोशले कोही अराजक व्यक्तिलाई बोक्न सक्छ । कसैको देवत्वकरण हुँदै जाँदा भिड त्यसकै पछाडि कुद्न सक्छ । सस्तो लोकप्रियतामा रमाउने केही व्यक्तिहरूले आक्रोशको फाइदा उठाउन सक्छन् । व्यक्तिवादले प्रश्रय पाउन सक्छ । तसर्थ समयमा उचित सम्बोधन आवश्यक छ । छोटे राजाहरूको अन्त्य भयो भने जनताको आक्रोश आफैँ हराएर जान्छ । सधैँ सत्तामा टाँसिने पुराना दलका पुराना नेताहरु हटेर नयाँ नेतृत्व आयो भने पनि जनताको आक्रोश मत्थर भएर जान्छ । 
(लेखक टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिवश खनिया
दिवश खनिया
लेखकबाट थप