साउदी अरब जाँदैछन् ट्रम्प, के छ एजेन्डा ?

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो पहिलो विदेश भ्रमणमा साउदी अरब जाँदैछन् । दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो विदेश भ्रमण हुनेछ ।
मध्यपूर्वमा अस्थिरता जारी रहँदा उनको उनले साउदी भ्रमण गर्न लागेका हुन् । ट्रम्पले साउदी अरबलाई पहिलो प्राथमिकता दिनुले खाडी देशहरूसँगको सम्बन्धलाई उनले कति महत्त्व दिन्छन् भन्ने कुरा देखाउँछ । राष्ट्रपति हुनुअघि उनी एक व्यापारी हुन् । यो कुरा उनको नीतिहरूमा पनि स्पष्ट देखिन्छ ।
अमेरिकाको लागि पैसा दिने जो कोहीको साथमा उनी उभिएको देखिएको छ । साउदी अरबबाट अमेरिकी कम्पनीहरूलाई १० खर्ब डलरको लगानीको वाचा गरिएकोले उनी साउदी जान लागेका हुन् ।
‘म साउदी अरेबिया जाँदैछु । सामान्यतयाः पहिलो भ्रमणमा बेलायत जाने गरिएको छ । पछिल्लो पटक म साउदी गएका बेला उनीहरूले ४ खर्ब ५० अर्ब डलर लगानी गरेका थिए । यसपटक मैले भनेको थिएँ कि यदि तपाईंले अमेरिकी कम्पनीहरूलाई १० खर्ब डलर बराबरको अर्डर दिनुभयो भने मात्र म आउनेछु । उसले हुन्छ भनेको छ ।’ मार्च ६ मा, ओभल अफिसमा, ट्रम्पले भनेका थिए ।
ट्रम्पको यो भनाइले आर्थिक सम्झौताप्रति उनको प्राथमिकता देखाउँछ । यद्यपि, यस भ्रमणको एजेन्डामा गाजामा युद्धविराम पुनः सुरु गर्ने प्रयासहरू पनि छन् ।
एक्सियोसको समाचारअनुसार भ्रमणबारे गत हप्ता अमेरिका र साउदी अरबका अधिकारीहरूबीच छलफल भएको थियो र युक्रेन युद्धमा साउदी अरबमा भएको वार्ता पनि समावेश थियो । भ्रमणको मिति अप्रिल २८ का लागि तय गरिएको भएपनि पछि यसलाई स्थगित गरियो ।
भ्रमण सरेर अब मे महिनाको मध्यतिर पुगेको छ । ‘राष्ट्रपतिको विदेश भ्रमणको सम्भावनामाथि काम भइरहेको छ । अहिलेसम्म कुनै ठोस योजनाहरू छैनन्, योजना बनेपछि हामी जानकारी दिनेछौं’ एक अधिकारीले भनेका छन् ।
के छ साउदीको चाहना ?
साउदी अरबले रुस र युक्रेनबीचको तीन वर्ष लामो युद्धमा अमेरिकालाई मध्यस्थता गर्न मद्दत गरिरहेको छ । युक्रेनमा युद्धविरामपछि ट्रम्पको भ्रमण होस् भन्ने साउदीले चाहेको स्रोतले बताएका छन् । यो उनको कूटनीतिक रणनीतिको एक हिस्सा हो, जसले गर्दा भ्रमण अझ महत्वपूर्ण बनेको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पहिलो विदेश भ्रमणका रुपमा साउदी अरबलाई नै रोजेका थिए ।
त्यसपछि उनले खन्य खाडी मुलुकका नेताहरूसँग भेट गरेका थिए । यस पटक पनि उनले यस्तै गर्नेछन् कि छैनन् भन्ने स्पष्ट छैन ।