बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

बागमतीको सर्वदलीय बैठक सर्‍यो, मङ्गलवार बिहान ८ बजे बस्ने

सोमबार, १८ चैत २०८१, १४ : २५
सोमबार, १८ चैत २०८१

हेटौँडा । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज (सोमबार) अपराह्न ४ : ३० बजेका लागि बोलाएको सर्वदलीय बैठक भोलि मङ्गलवार बिहान बस्ने भएको छ ।  भोलि मङ्गलवार दिउँसो बस्ने बागमती प्रदेशसभाको बैठक अघि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबिच छलफलका लागि भन्दै आज (सोमबार) सर्वदलीय बैठक बोलाएका थिए ।

आजै अपराह्न प्रदेश मन्त्रिपरिषद्को बैठक बस्ने र सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष शालिकराम जम्कट्टेल समेत उपस्थित हुन नसक्ने भएपछि सर्वदलीय बैठक भोलिका लागि सारिएको बुझिएको छ । 

सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुङ्ग्याउन सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उनको भनाई छ । 

सभामुख पाठकका अनुसार सत्तापक्ष र प्रतिपक्ष बिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकले प्रदेशसभाको १९ चैतमा बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाई छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा ७ दलको प्रतिनिधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुख सहित), राप्रपा १३ (सभामुख सहित), एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ सांसदसहित प्रतिनिधित्व रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप