बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

आणविक सम्झौताबारे ट्रम्पको धम्की, यसो भन्छन् खामेनेई

सोमबार, १८ चैत २०८१, १३ : ३३
सोमबार, १८ चैत २०८१

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममा सम्झौता नगरेमा बम विस्फोट गराउने धम्की दिएका छन् । ट्रम्पले इरानमाथि द्वितीय अतिरिक्त महसुल लगाउने धम्की पनि दिएका छन् ।

आइतबार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले भने– ‘यदि उनीहरूले सम्झौता गरेनन् भने बम विस्फोट हुनेछ । यस्तो बमबारी हुनेछ, जुन उनीहरूले पहिले कहिल्यै नदेखेका थिएनन् ।’ 

अझ अगाडि ट्रम्पले भनेका छन्– ‘उनीहरू (इरान) सँग मौका छ, यदि उनीहरूले यसो गरेनन् भने, म उनीहरूमाथि चार वर्ष पहिले जस्तै द्वितीय अतिरिक्त महसुल लगाउनेछु ।’  अमेरिकी र इरानी अधिकारीहरू आणविक कार्यक्रमबारे वार्ता गरिरहेका छन् । यद्यपि, उनले यसबारे विस्तृत रूपमा अरू केही भनेका छैनन् । 

इरानका सर्वोच्च नेता आयोतुल्ला अली खामेनेईले सोमबार अमेरिकाले ठुलो झट्का बेहोर्ने बताएका छन् । अमेरिका र इजरायलको वैमनस्यता सधैं रहने उनले भने । ‘उनीहरूले हामीलाई आक्रमण गर्ने धम्की दिएका छन्, जुन हामीलाई लाग्दैन कि खासै सम्भव छ । तर केही नराम्रो गरे भने उत्तिकै जोरदार झट्का उनीहरूले पनि पाउनेछन्,’ धम्कीको भाषामा खामेनेईले भने । विगतमा जस्तै देशभित्र केही विप्लव मच्चाउने उनीहरूले सोचिरहेका छन् भने पनि इरानी जनता आफैँले उनीहरूलाई हेर्ने पनि उनले बताए । 

यसैबिच, इरानी सेनाले अमेरिकी आक्रमणको जवाफ दिन आफ्नो क्षेप्यास्त्रहरू तैनाथ गरेको छ । तेहरान टाइम्सले छापेको समाचारका अनुसार इरानका सबै मिसाइलहरू भूमिगत मिसाइल शहरमा लन्चरहरूमा लोड गरिएको र प्रक्षेपणको लागि तयार छन् । 

‘प्यान्डोराको बक्स खोल्दा अमेरिकी सरकार र यसका सहयोगीहरूले ठुलो मूल्य चुकाउनुपर्नेछ,’ तेहरान टाइम्सले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा लेखेको छ । सरल शब्दमा भन्नुपर्दा, ‘प्यान्डोरा बक्स खोल्नु भनेको धेरै समस्याहरू निम्त्याउने र रोक्न गाह्रो हुने कुरा सुरु गर्नु भएको पनि भनिएको छ । 

अमेरिकासँग प्रत्यक्ष सम्झौता इरानद्वारा अस्वीकार

यसअघि ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे प्रत्यक्ष वार्ताका लागि पत्र लेखेका थिए  । तर इरानी राष्ट्रपतिले यो प्रस्ताव अस्वीकार गरे । इरानी राष्ट्रपति मसूद पजाकियानले आइतबार अमेरिकासँग कुनै पनि प्रत्यक्ष सम्झौता नगर्ने बताएका छन् । दुई देशबिच प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गरिएको पजाकियानले बताए । तर ट्रम्प अप्रत्यक्ष वार्तामा सहमत हुन्छन् कि हुँदैनन् भन्ने कुरा स्पष्ट छैन । २०१८ मा ट्रम्पले अमेरिकालाई इरान आणविक सम्झौताबाट बाहिर निकालेपछि भएका अप्रत्यक्ष वार्ताहरू असफल भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप