बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

स्ववियु चुनावमा अपेक्षा र वास्तविकता

सोमबार, १८ चैत २०८१, १२ : ३६
सोमबार, १८ चैत २०८१

हेर न साथी, एकसे एक अब्बल उम्मेदवार उठेर कसलाई चुन्ने छान्नै मुस्किल पर्ने भो, भन्या ! उम्मेदवारले उठाएका एजेन्डा हेर न, अझ कति वास्तविक । कार्यान्वयन हुने आधार प्रशस्त भएका उत्कृष्ट योजना देख्दा सबैलाई भोट दिउँ जस्तो लाग्ने । तर सबैलाई भोट दिन नमिल्ने !

साथीका कुरामा सहमति जनाउँदै उसको साथी बोल्छ— हो भन्या, मैले पनि हिजो उम्मेदवारका एजेन्डा पढेँ । विद्यार्थीको हकहितका बारेमा बोल्न र अधिकारको संरक्षण गर्न जुन उद्देश्यले २०१८/१९ सालमा स्ववियुको स्थापना भएको थियो, त्यो साँच्चिकै पूरा भएको देख्दा निकै गौरव लाग्छ ।

आफ्नो कार्यकालमा घोषणापत्रमा उल्लेख गरिएका सबै कार्य कार्यान्वयन गरेर अब हुने निर्वाचनमा सही उम्मेदवार चुन्न विद्यार्थीलाई आह्वान गरेको देख्दा पूर्वसभापतिप्रति कम्ता सम्मान जागेको छैन । 

अब हाम्रो हातमा छ उत्कृष्टमध्ये सर्वोत्कृष्ट व्यक्ति छान्ने जिम्मेवारी ! सल्लाह गरेर निर्णय गरौँला नि साथी ।

अहो ! कति सौहार्दपूर्ण वातावरण, विद्यार्थी नेतृत्वप्रति विद्यार्थी कति सकारात्मक । माथि साथीहरूबिच भएको कुराकानीजस्तै कुराकानी गर्ने तीव्र प्रतीक्षा अनि इच्छा हाम्रो पनि छ ।

हामी निराशावादी हौँ कि वातावरण र घटनाले हामीलाई निराश बनाइदिएको छ, हामी अन्योलमा छौँ ।

राजनीति भनेको नै यही हो, सानो माछालाई ठुलो माछालाई खान्छ साथी, अचम्म मान्नुपर्दैन भनेर नेता हुँ भन्नेको मुखबाटै सुन्न पाइन्छ अनि आस कसरी लागोस् !

विद्यार्थी राजनीतिमा नेता बन्ने महत्त्वाकांक्षा बढी भएकै कारण होला, गुटभित्र पनि उपगुट निस्किएर मोलमोलाइको राजनीति चलिरहेको छ । मत बाँडिएपछि जित्ने अंकगणित मिल्ने कुरा भएन अनि व्यापक छलफल गरेर बाहिरिएका र बनेका गुट रातारात मिल्ने कसी के भेट्छन् होला !


 

म पढ्ने विश्वविद्यालयमा राजनीति खुब सुन्दर तरिकाले चलिरहेको छ । ए हजुर झुक्किनुहोला फेरि, विद्यार्थी राजनीति होइन नि, व्यक्तिगत राजनीति । विद्यार्थी राजनीतिमा नेता बन्ने महत्त्वाकांक्षा बढी भएकै कारण होला, गुटभित्र पनि उपगुट निस्किएर मोलमोलाइको राजनीति चलिरहेको छ । मत बाँडिएपछि जित्ने अंकगणित मिल्ने कुरा भएन अनि व्यापक छलफल गरेर बाहिरिएका र बनेका गुट रातारात मिल्ने कसी के भेट्छन् होला ! प्रश्न व्यापक छ, उत्तर सर्वत्र छ तर बोल्नुमा अर्थ देखिँदैन । 

नेताविना पनि शक्तिको अस्तित्व छ तर शक्तिविना नेताको अस्तित्व रहँदैन । त्यसैले होला, एकचोटि सत्तामा पुगेर राजनीति गरिसकेको व्यक्तिले आफ्नो प्रभाव कम हुने डरले चुनाव रोक्नलाई कसैलाई उचाल्ने र कसैलाई दबाउने भूमिका खेल्न पनि पछि पर्दैनन् ।

आफू पुग्न सक्दिनँ भने अर्काेलाई पनि पुग्न दिन्नँ, भूमिका खेल्छु भन्ने साँघुरो मानसिकताबाट पीडित व्यक्तिलाई केही भन्नुको अर्थ नदेखे पनि बेलाबेला भन्न मन लाग्छ — व्यापार गर्ने व्यक्ति किन राजनीतिमा आइस्यो नेताज्यू !

विद्यार्थीका लागि राजनीति गरिरहेका विद्यार्थी नेताले विद्यार्थीको माग, चाहना र भविष्यको ख्याल नगरी चुनाव भन्दै परीक्षाको मिति सारिन्छ, संस्थाको शैक्षिक पात्रोलाई प्रभावित पारिन्छ ।

हास्यास्पद कुरा त मलाई यो लाग्छ कि पछि शैक्षिक पात्रो कार्यान्वयन गर भनी आन्दोलन गर्ने फेरि यिनै हुन्छन् ।

चुनावका बेला अघिपछि भन्दा मेरो महत्त्व पनि ह्वात्तै बढ्छ भन्या । अन्जान व्यक्तिहरू नजिकिएर कता–कता नाता सम्बन्ध जोडेर तिम्रो नजिकको मान्छे मै हुँ भन्ने सम्म पुर्‍याउँछन् । अप्रत्यक्ष रूपमा अरू उम्मेदवारलाई नराम्रो भनेर राम्रोलाई भोट दिनुपर्छ भन्छन्, तात्पर्य यो हुन्छ कि उनिहरू योग्य छन् ।

साथीहरूलाई प्रभाव पार्न सक्ने विद्यार्थीलाई यति भोट गराइदेउ, यति दिन्छु भनेर अफर गर्नु, फिल्म हेर्न हल लग्ने, होटलमा खाजा–नास्ता खुवाउने कार्यक्रम चलिराखेको देखिन्छ ।

असम्भव के छ भन्नका लागि सम्भव हुने काम गरेर आधार बनाउनुपर्ने होला ! घोषणापत्र पढ्दा वाह लाग्छ, तालमेल नमिलेको कार्यसम्पादन र व्यवहार देख्दा दिक्क लाग्छ ।
स्ववियु आफैँमा इतिहास बोकेको शक्तिशाली संस्था हो । देशमा सकारात्मक परिवर्तन गर्नका लागि यसले खेलेको भूमिका अतुलनीय छ । यसको पहलमा विद्यार्थीको लुकेका मुद्दा र अधिकार उठाएर समाधान र प्रवद्र्धन नगरिएका पनि होइनन् । हामी विद्यार्थीलाई प्रशासनले दुःख दिएमा पहिले सम्झिने नाम नै स्ववियु हो । हामीलाई थाहा छ, विद्यार्थी नेता परिवर्तनका संवाहक र भविष्यका राजनेता हुन् । ठुला दलहरूको प्रभाव अनावश्यक रूपमा विद्यार्थी राजनीतिमा नपरोस् भन्ने चाहना र मनसाय प्रत्येक विद्यार्थीमा छ । अहिलेको परिस्थिति, घटना, नेताको बोली र व्यवहार देखेर राजनीति फोहोरी लाग्नु स्वाभाविक पनि लाग्छ तर सधैँ यस्तै रहन्छ भन्ने होइन ।

कमल फुल्ने भनेको हिलोमै हो । हामी विद्यार्थीको हातमा छ कस्तो नेता बन्ने र कस्तो नेता चुन्ने भन्ने । चुनावमा लाखौँ खर्च गर्ने हैसियत राख्नेले जितेपछि करोडौँ कमाउन आँट गर्नुलाई अस्वाभाविक मान्नुपर्दैन ।

व्यक्तिगत फाइदाका लागि विभिन्न प्रलोभन देखाए पनि मत भने वास्तविक लक्ष्य र उद्देश्य बोकेर हिँडेको, शैक्षिक संस्थाको र विद्यार्थीको भविष्यका लागि काम गर्ने नैतिक चरित्र र सकारात्मक सोच भएकालाई नै दिनुपर्छ । हाम्रो एक मत र एक सोचले विश्वविद्यालय सँगै देश बनाउन सक्छौँ । सच्चा राजनेता जन्माउन सक्छौँ । शुभकामना छ सबै विद्यार्थी साथी, चुनिएका र चुनिने उम्मेदवारलाई । हाम्रो भविष्य हाम्रो हातमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कान्ति पौडेल
कान्ति पौडेल
लेखकबाट थप