बिहीबार, २१ चैत २०८१
ताजा लोकप्रिय

चेन्नईका प्रशिक्षक फ्लेमिङ भन्छन्– ‘बढ्दो उमेर र घुँडाको समस्याका कारण धोनी निरन्तर १० ओभर ब्याटिङ गर्न सक्दैनन्’

सोमबार, १८ चैत २०८१, १२ : १३
सोमबार, १८ चैत २०८१

काठमाडौँ । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सबैभन्दा सफल क्लबमध्ये एक हो । चेन्नईले हालसम्म पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ । चेन्नईका अतिरिक्त मुम्बई इन्डियन्सले मात्र पाँचपटक उपाधि जित्न सकेको छ ।

चेन्नईले पाँचवटै उपाधि प्रभावशाली खेलाडी महेन्द्रसिंह धोनीको कप्तानीमा जितेको थियो । उमेरले ४३ वर्ष पुगिसकेको धोनी अझै पनि चेन्नईबाट आईपीएल खेलिरहेका छन् । तर, उनी अहिले कप्तानको भूमिकामा भने छैनन् ।  अहिले चेन्नईका कप्तान ऋतुराज गायकवाड हुन् । आईपीएलको १८ औँ संस्करणमा भने चेन्नईले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । हालसम्म तीन खेल खेलेको चेन्नई एक खेलमा विजयी र दुई खेलमा पराजित भएको छ । 

दुई अंकसहित चेन्नई तालिकाको सातौँ स्थानमा आसिन छ । चेन्नईले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई चार विकेटले हराएको थियो । त्यसपछि चेन्नई दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ५० रनले र तेस्रो खेलमा राजस्थान रोयल्ससँग ६ रनले पराजित भएको थियो ।

जारी आईपीएलमा चेन्नईका अनुभवी खेलाडी धोनी भने तल्लो क्रममा ब्याटिङ गर्न आउने गरेका छन् । राजस्थानविरुद्धको खेलमा धोनी सातौँ नम्बरमा क्रिज समाल्न आएका थिए र १६ रन बनाउँदै आउट भएका थिए । त्यसअघि, बेंगलुरुविरुद्धको खेलमा पनि धोनी नवौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए ।

उक्त खेलमा उनले १६ बलमा दुई छक्का र तीन चौकाको मद्दतले अविजित ३० रन बनाएका थिए । अहिले क्रिकेट विश्लेषक र समर्थकहरु धोनी तल्लो क्रममा ब्याटिङ गर्न आएको निकै रुष्ट देखिएका छन् । अनुभवी विकेटकिपर ब्याट्सम्यान धोनी माथिल्लो वा मध्यक्रममा ब्याटिङ गर्न नआएकै कारण दुबै खेलमा चेन्नई पराजित हुनु परेको समर्थकको आरोप छ । त्यसअघि मुम्बई इन्डियन्सविरुद्ध पनि धोनी आठौँ नम्बरमा क्रिज समाल्न आएका थिए । त्यो खेलमा उनी शून्य रनमा अविजित थिए ।

केही क्रिकेट विश्लेषकले भने चेन्नईमा एक प्रतिभाशाली खेलाडीको ठाउँ ओगटेर धोनीले अन्याय गरेको आरोपसमेत लगाएका छन् । उनीहरुले धोनीलाई खेलजीवनबाट सन्न्यास लिन सुझावसमेत दिँदै आएका छन् । धोनी अघिल्लो सिजन पनि सातौँ वा आठौँ नम्बरमा क्रिजमा ओर्लने गरेका थिए ।

ब्याटिङ क्रमको विषयलाई लिएर धोनीको आलोचना बढ्दै गएपछि चेन्नईका प्रमुख प्रशिक्षक स्टिफन फ्लेमिङले त्यसको जवाफ दिएका छन् । प्रशिक्षक फ्लेमिङका अनुसार, बढ्दो उमेरका कारण घुँडामा समस्या देखिएकाले धोनी लामो समय दौडन सक्दैनन् । 

माथिल्लो क्रममा ब्याटिङ गर्न आउँदा रन लिनका लागि धेरै समय दौडनु पर्ने भएकाले उनी तल्लो क्रममा ब्याटिङ गर्न आउने गरेका हुन् । ‘बढ्दो उमेरका कारण धोनीको घुँडामा समस्या देखिएको छ । उनी लगातार १० ओभरसम्म ब्याटिङ गर्न सक्दैनन् । त्यसैले उनी तल्लो क्रममा ब्याटिङ गर्न आउँछन्,’ प्रशिक्षक फ्लेमिङले भनेका छन् । 

प्रशिक्षक फ्लेमिङका अनुसार, कुन खेलमा कति नम्बरमा ब्याटिङ गर्न आउने भन्ने कुराको निर्णय पनि धोनी आफैले लिने गरेका छन् । ‘समय फेरिएको छ । अहिले पनि धोनीबाट पहिलेकै जस्तो प्रदर्शनको आश गर्नु उपयुक्त होइन,’ प्रशिक्षक फ्लेमिङ भन्छन्, ‘उनी सिनियर खेलाडी हुन् र उनको उपस्थिति नै हाम्रा लागि ठुलो कुरा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप