बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
राजनीति

तीनकुनेमा भएको हिंसात्मक घटना रोक्न सरकारको कमजोरी रहेको मोर्चाको निष्कर्ष

गणतन्त्र पक्षधरबिच बृहत् अन्तरक्रिया गर्ने
सोमबार, १८ चैत २०८१, ११ : १८
सोमबार, १८ चैत २०८१

काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाले शुक्रवार राजधानीको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शन रोक्ने कार्यमा सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको छ । 

सोमबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले सरकारको कमजोरीका कारण जनधनको क्षति भएको निष्कर्ष निकालेको हो ।

 यस्तै प्रतिगामी शक्तिहरुले भविष्यमा पनि आततायी घटना घटाउन सक्ने देखिएकाले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकले क्रान्तिबाट स्थापित भएको गणतन्त्रको रक्षाका लागि गणतन्त्र पक्षधरबिच बृहत् अन्तर्क्रिया गर्ने समेत निर्णय गरेको छ ।

‘दरबारीयको आततायी रोक्न त्यसदिन समाजवादी मोर्चाको महत्त्वपूर्ण भूमिका रहेको छ । तीनकुनेको घटना नियोजित रूपमा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र विदेशी प्रतिक्रियावादी र देशका प्रतिगामी तत्त्वहरूलाई पनि मन परेको छैन । यसको सशक्त प्रतिवाद गर्नुपर्छ भनेर बैठकले निर्णय गरेको छ’, उनले भने, ‘हिजो सिंहदरबारमा भएको गणतन्त्रपक्षधरको धारणा गणतन्त्रको रक्षा गर्नुपर्छ भन्ने हिसाबले आएको थियो तर घटनालाई हेर्ने सन्दर्भमा सरकारको कमजोरी रहेको देखियो । आगामी दिनमा पनि यस्ता घटना हुनसक्छ, सरकारलाई यसबारेमा ध्यानाकर्षण गराउन बैठकले डेलिगेसन गर्ने निर्णय गरेको छ ।’ 

यस्तै  घटना जसले गराएको हो उसैबाट पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने निर्णय पनि बैठकले गरेको उनले बताए । गणतन्त्र पक्षधर राजनीतिक पार्टीहरूबिच अन्तरक्रिया कार्यक्रम एक दुई दिनमै घोषणा हुने विश्वकर्माले बताए । 

यसैगरी बैठकले जनतालाई सचेत गराउने, युवाहरूलाई संगठित गरेर  क्रान्तिको उपलब्धिलाई उल्टाउनेविरुद्ध परिचालन गर्ने निर्णय गरेको पनि विश्वकर्माले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप