बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

जीतविहीन मुम्बईसँग उसैको मैदानमा भिड्दै साबिक विजेता कोलकाता

सोमबार, १८ चैत २०८१, १० : १०
सोमबार, १८ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा सोमबार दुई पूर्वविजेता टोली आपसमा भिड्दैछन् । वानखेड स्टेडियममा हुने उक्त खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सको सामना गर्नेछ ।

खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । जारी आईपीएलमा खेल्न लागिएको यो १२औँ खेल हो । मुम्बई इन्डियन्स सबैभन्दा बढी आईपीएलको उपाधि जित्ने टोलीमध्ये एक हो । मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ । 

मुम्बईका अतिरिक्त चेन्नई सुपर किङ्सले मात्र पाँचपटक उपाधि चुमेको छ । कोलकाता आईपीएलको साबिक विजेता टोली हो । कोलकाताले हालसम्म तीनपटक आईपीएलको उपाधि हात पारेको छ । कोलकाताले अघिल्लो संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो ।

  • दुवै टोलीको तेस्रो खेल

जारी आईपीएलमा कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स दुवैले आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । मुम्बई इन्डियन्स अघिल्ला दुवै खेलमा पराजित भएको छ । मुम्बई इन्डियन्स आफ्नो पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग चार विकेटले पराजित भएको थियो ।

mumbai (2)

दोस्रो खेलमा भने मुम्बई इन्डियन्सको टोली गुजरात टाइटन्ससँग ३६ रनले पराजित भएको थियो । त्यसैले मुम्बई इन्डियन्स आईपीएलको १८औँ संस्करणमा पहिलो जितको खोजीमा छ । मुम्बईले सोमबारको खेल आफ्नो घरेलु मैदानमा खेल्नेछ ।

कोलकाता नाइट राइडर्सले भने अघिल्ला दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । आफ्नो पहिलो खेलमा कोलकाताको टोली घरेलु मैदानमै रोयल च्यालेन्जर्स बेंगलुरुसँग सात विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा भने कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई उसैको घरेलु मैदानमा आठ विकेटले हराएको थियो । कोलकाता दुई अंकसहित तालिकाको छैटौँ स्थानमा आसीन छ । दुवै खेल हारेको मुम्बई भने तालिकामा सबैभन्दा तल अर्थात् १०औँ स्थानमा छ । 

  • इतिहासमा मुम्बई बलियो 

मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच हालसम्म आईपीएलमा कुल ३४ खेल खेलिएको छ । त्यसमा मुम्बईको टोली कोलकातामाथि हाबी भएको देखिन्छ । मुम्बईले २३ खेलमा कोलकातालाई हराएको छ । कोलकाताले भने ११ खेलमा मात्र मुम्बईलाई हराउन सकेको छ । 

mumbai (1)

मुम्बईको घरेलु मैदान वानखेड स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच ११ पटक भिडन्त भएको छ । त्यसमध्ये नौ खेलमा मुम्बईले कोलकातालाई पराजयको स्वाद चखाएको छ । दुई खेलमा भने कोलकाताले मुम्बईलाई उसैको घरेलु मैदानमा हराएको छ । 

  • मुम्बईको सर्वाधिक रन सूर्यकुमार यादवको नाममा

आईपीएलको जारी संस्करणमा मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्यकुमार यादव हुन् । उनले दुई खेलमा ७७ रन बनाएका छन् । उनले गुजरात टाइटन्सविरुद्ध ४८ रन बनाएका थिए । तिलक वर्माले पनि अघिल्ला दुई खेलमा कुल ७० रन बनाएका छन् । 

मुम्बई इन्डियन्सका लागि सर्वाधिक विकेट लिने बलर भने विग्नेश पुथुर हुन् । उनले एक खेलमा तीन विकेट लिएका छन् । उनले चेन्नई सुपर किङ्सविरुद्ध ३२ रन खर्चिएर तीन विकेट हात पारेका थिए । 

kolkata (1)

  • लयमा छन् कोलकाताका क्विन्टन डी काक

जारी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान क्विन्टन डी काक हुन् । उनले दुई खेलमा कुल एक सय एक रन बनाएका छन् । उनले राजस्थान रोयल्सविरुद्धको खेलमा अविजित ९७ रन बनाएका थिए । 

कोलकाताका लागि अजिनक्या रहाणेले पनि दुई खेलमा कुल ७४ रन बनाएका छन् । कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर भने प्रभावशाली स्पिनर वरुण चक्रवर्ती हुन् । उनले दुई खेलमा तीन विकेट लिइसकेका छन् । 

  • ब्याट्सम्यानलाई साथ दिने पिच

कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबिच सोमबारको खेल हुने वानखेड स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको रहेको छ । यो पिचमा बलरहरूले विकेट लिन निकै संघर्ष गर्नुपर्ने देखिन्छ । 

यो स्टेडियममा हालसम्म आईपीएलको कुल एक सय १६ खेल खेलिएको छ । त्यसमध्ये ५४ खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । ६२ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् । 

kolkata (2)

  • छैन वर्षाको सम्भावना

मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच खेल हुने दिन सोमबार मुम्बईमा वर्षाको सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुम्बईमा दिनभर घाम लाग्ने र चर्को गर्मी हुने बताइएको छ । सोमबार मुम्बईको तापक्रम २६ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने छ ।

  • सम्भावित टोली 

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, रायन रिकेल्टन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, मजिब उर रहमान, रत्यनारायण राजु र रोविन मिन्ज ।

कोलकाता नाइट राइडर्स : अजिनक्या रहाणे (कप्तान), क्विन्टन डी काक (विकेटकिपर), सुनिल नारिन, वेंकटेश ऐयर, रिन्कु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, स्पेन्सर जोन्सन, वैभव अरोडा, हर्षित राणा, वरुण चक्रवर्ती र अंककृष रघुवंशी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप