बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

बागमतीमा सर्वदलीय बैठक बस्दै

सोमबार, १८ चैत २०८१, १० : ०३
सोमबार, १८ चैत २०८१

मकवानपुर । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दैछ । बागमती प्रदेशसभाको बैठक सञ्चालनको लागि सर्वदलीय बैठक आह्वान गरिएको हो । 

प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले चैत १८ गते (आज) अपराह्न ४ः३० बजे प्रदेशसभा सचिवालयका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुंग्याउन सर्वदलीय बैठक आह्वान गरेको उनले बताए ।

विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी गरिएको उनको भनाई छ । उनका अनुसार सत्तापक्ष र प्रतिपक्ष बिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको उनले बताए । बैठकले प्रदेशसभाको चैत १९ गते बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाई छ ।

‘केही समय पछि बैठक बस्ने तय भएकाले छलफल गर्न तयारी भएको हो । बैठकका लागि प्रदेशसभाका ७ वटै दललाई पत्राचार भएको छ,’ उनले भने, ‘संसद् बैठक अघि केही असहमति, एजेन्डाका विषयमा छलफल गर्न उक्त सर्वदलीय बैठक महत्त्वपूर्ण हुने भएकाले आह्वान गरिएको हो । सत्तापक्ष र प्रतिपक्ष बिचका ईस्यूहरूलाई पनि समेट्ने गरी छलफल हुनेछ । विकसित राजनीतिक घटनाक्रममा दलहरूको धारणा बुझेर संसद्को कार्यसूची र सञ्चालनको विषय निचोडमा पुग्नेछ । संसद् बैठक सञ्चालनको लागि हालसम्म कुनै असहज अवस्था छैन ।’

११० सदस्यीय बागमती प्रदेशसभाका ७ दलको प्रतिनिधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुख सहित), राप्रपा १३ (सभामुख सहित), एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ सांसद सहित प्रतिनिधित्व रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप