हेर्दा हेर्दै कसरी हरायो एउटा भाषा

- नताशा फर्नान्डिस
भारतको अण्डमान टापुमा एउटा भाषा सधैँका लागि हराएर गयो । केही समय अघिसम्म ‘बो’ भाषा बोल्ने एकजना मात्रै मान्छे थिइन् । उनको नाम बोआ थियो । बोआको निधनसँगै एउटा प्राचीन भाषा पनि मर्यो । बोआ त्यो भाषा बोल्ने अन्तिम व्यक्ति थिइन् । बो भाषा अण्डमान टापुका जनजातिहरूले हजारौँ वर्षदेखि बोल्दै आएका थिए ।
भाषाविद् प्राध्यापक अनविता अब्बिले बोआसँग यो भाषा सिक्न धेरै वर्ष प्रयास गरिन् । सन् २०१० मा बोआको मृत्यु भएसँगै यो काम अधुरै रह्यो ।
यस प्रसङ्गमा बीबीसीले प्राध्यापक अब्बिसँग कुरा गरेको थियो । उनले बोआको निधनसँगै ‘केही अमूल्य चीज’ गुमेको बताइन् । उनी भन्छिन्, ‘यो भाषा अरू भाषाको सम्पर्कमा पनि आएको थिएन । अलि पृथक् रूपमा बोलिन्थ्यो ।’ उनका अनुसार सबैभन्दा पुरानो भाषामा गणना हुने उक्त भाषा उनका लागि ‘सुनको खानी’ जस्तै थियो ।
- ‘हाम्रो भाषा नबिर्सिनु होला’
प्राध्यापक अब्बिका अनुसार उनै बोआको आवाज रेकर्ड गर्ने पहिलो र अन्तिम व्यक्ति थिइन । बोआले रेकर्डिङको दौरान हिन्दीमा भनेकी थिइन, ‘हाम्रो भाषा नबिर्सिनु होला है ।’
प्राध्यापक अब्बि बो लगायत संसारका प्राचीन भाषाहरूको दस्ताबेज तयार गर्दै थिइन । यसैक्रममा उनी अण्डमान टापु पुगेकी थिइन् ।
उनले यो काम एउटा शब्दकोषको रूपमा प्रकाशित गरिन । तर, यो प्रकाशन बोआको मृत्युपछि मात्रै भएको हो । यो काम त्यति सजिलो पक्कै थिएन । सुरुमा त बोआ प्राध्यापक अब्बिसँग कुराकानी गर्न पनि तयार थिइनन् ।
सन् २००४ मा हिन्द महासागरमा विनाशकारी सुनामी आयो । यसले बोआको समुदायमा ठुलो नोक्सान पुर्यायो । त्यसवेला उनको समुदायका सबै मानिस राहत शिविरमा भेला भएका थिए ।
त्यसबेला उनको समुदायका मानिसले आफ्नो घर गुमाएका थिए । कुनै पनि तथ्यांक संकलन गर्न अप्ठेरो थियो । उनी यस्तो वेलामा त्यहाँ पुगेकी थिइन ।
प्राध्यापक अब्बि सम्झिन्छिन्, ‘यस्तो बेला म त्यहाँ पुगेर उनीहरूलाई प्रश्न सोधेकी थिएँ । एकातर्फ सुनामीको कहर छ अर्कोतर्फ म तपाईं बो भाषामा एउटा गीत गाउन सक्नुहुन्छ ? तपाई यो कुरालाई आफ्नो भाषामा कसरी भन्नु हुन्छ ? यसलाई के भन्ने ? भन्दै प्रश्न सोधी रहेकी थिएँ । त्यो अनौठो अवस्था थियो ।’
अण्डमानमा बस्ने मानिसहरू चरालाई आफ्नो पुर्खा ठान्छन् । समय बित्दै जाँदा बिस्तारै बोआ अब्बिसँग खुल्न थालिन । ‘मैले उनको समुदायसँग स्ट्रेट टापुको जंगलमा धेरै समय बिताएँ ।’, अब्बि भन्छिन् ।
उनलाई बिस्तारै थाहा भयो आफ्ना आमाबुवा तथा पतिको निधनपछि बोआ मात्रै बो भाषा बोल्ने अन्तिम व्यक्ति बाँकी थिइन् ।
‘उनले आफ्नो पति गुमाइन् । कुनै वालवच्चा थिएनन् । प्रायः एक्लै बस्थिन् । उनले अन्य मानिससँग कुराकानी गर्न अण्डमानी संस्करणको हिन्दी सिक्नुपर्ने भयो । आफ्नो एक्लोपन कम गर्न उनी प्रायः गीत गाइरहन्थिन वा चराहरूसँग कुरा गर्ने गर्थिन्,’ उनले भनिन् ।
अब्बि भन्छिन्, ‘मैले एकपटक उनलाई तपाईं चराहरूसँग के कुरा गर्नुहुन्छ भनेर सोधेँ । उनले भनिन– यी त हाम्रा पुर्खा हुन् । संसारमा मलाई बुझ्ने प्राणी यिनै मात्रै हुन् ।’
अण्डमान टापुका मानिसहरू चरा–चुरुङ्गीलाई आफ्ना पुर्खा ठान्ने हुनाले उनीहरूले त्यसको शिकार गर्दैनन् । साथै कुनै पनि चरा खाँदैनन् ।
- मित्रतामा फेरिएको भेटघाट
धेरै वर्ष भेटघाट भएपछि उनीहरूको सम्बन्ध मित्रतामा बदलियो । प्राध्यापक अब्बि दिल्लीमा बस्थिन् । तर, बारम्बार उनी स्ट्रेट टापुको यात्रा भने गरिरहन्थिन ।
प्राध्यापक अब्बि भन्छिन्, ‘उनलाई म गम्भीर मान्छे हुँ भन्ने अनुभूति भइसकेको थियो । म स्ट्रेट टापुमा आउँदा उनी साह्रै खुसी हुन्थिन् । उनी मेरो हात समाउँथिन् र मलाई जानै दिन्न थिइन् ।’
‘उनलाई यस्तो किन लाग्ने रहेछ भने जब म त्यो टापुमा पुग्थेँ, त्यहाँका अन्य मानिसहरू पनि ग्रेट अण्डमानि भाषा बोल्ने रहेछन् । यसरी बोलेर उनीहरू आफूलाई पनि भाषा बोल्न आउने देखाउन खोज्ने रहेछन् । म फर्किना साथ उनीहरू हिन्दी बोल्न सुरु गर्ने रहेछन् । बोआलाई त्यो निकै राम्रो लाग्दो रहेछ ।’, प्रध्यापकले स्मरण गर्दै भनिन् ।
आफ्नो जीवनको अन्तिम समय बोआको स्वास्थ्य असाध्यै बिग्री सकेको थियो । प्राध्यापक अब्बिले अब आफूले उक्त भाषा बोल्ने आखिरी मान्छे तथा आफ्नो मिल्ने साथी गुमाउन लागेको सुइँको पाइसकेकी थिइन् ।
‘उनी बिरामी थिइन् । उनलाई खोकी लागि रहेको थियो । मैले उनीसँग फोनमा कुरा गर्न खोजेँ । तर, कुरा हुनै सकेन,’ अब्बिले भनिन् । केही समय लगत्तै समुदायका एक जना सदस्यले बोआको निधन भएको खबर अब्बिलाई सुनाए ।
अब्बि भन्छिन्, ‘यो घटनाले मलाई बेस्सरी हल्लायो मैले त्यति छिटो त्यस्तो खबर सुन्नुपर्छ होला भनेर सोचेकै थिइन ।’
बोआको निधनसँगै भाषाको पुनर्जीवन गराउने आफ्नो प्रयासमा प्राध्यापक अब्बि ‘असहाय’ भइन । ६ वर्षको अनुसन्धान पछि उनले अण्डमान टापु समूहमा प्रयोग हुने बो लगायत चारवटा लुप्तप्रायः आदिवासी भाषाको आफ्नो पहिलो शब्दकोष संकलन गरिन ।
यो शब्दकोष सन् २०११ मा प्रकाशित भयो । प्राध्यापक अब्बि भन्छिन्, ‘म भाषाहरूको मूकदर्शक थिएँ । भाषणका रूपमा एक–एक गर्दै शब्दहरू मेरो आँखै अगाडी विलुप्त हुँदै थिए र म केही पनि सकी रहेकी थिइन ।’
(बीबीसीबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक सम्झौतामा इरानसँग ‘प्रत्यक्ष वार्ता’ गर्ने ट्रम्पको चाहना
-
कुलमानको राजनीतिक यात्रा : पार्टी रोज्लान् कि स्वतन्त्र बस्लान् ?
-
सम्पूर्ण करार कर्मचारीलाई स्थायी गर्न सरकारसँग प्रभु साहको माग
-
'अराजक मान्छेलाई राजावादीले कमान्डर बनाउँदा सरकार चनाखो भएन'
-
तीनकुने प्रदर्शनमा १३४ जना घाइते, अरू के–के भयो ?
-
बजेट आकार घटाउँदै लुम्बिनी प्रदेश, टुक्रे आयोजना रोक्ने प्रयास