बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

उपकुलपति बरालको राजीनामाबारे सुमना : सक्षम व्यक्तिहरू आत्मसम्मानमा ठेस पुऱ्याएर पदमा बस्दैनन्

‘उहाँको नियुक्तिपछि नै अन्य पदाधिकारीमा ओलीजीले आफ्नो भाग खोजे’
सोमबार, १८ चैत २०८१, ०७ : २६
सोमबार, १८ चैत २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै गत शुक्रवार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएका हुन् ।

यसबारे पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पदमा रहेर उपकुलपति बरालले गरेको प्रयासका लागि धन्यवाद दिएकी छन् ।  वर्षौँदेखि अनेक स्वार्थ समूहले बनाएको सिस्टमको विरुद्ध कुनै एक व्यक्तिले मात्र लडेर सम्भव हुन गाह्रो कुरा भएको उनको भनाई छ ।  ‘हाम्रोमा कसरी काम गर्न दिँदैनन्, कता-कताबाट कस्तो दबाब आउँछ भन्ने अनुभव साझा हुनु जरुरी छ, ताकि यो संघर्ष जारी रहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

सक्षम व्यक्तिहरूले चाकडी गरेर आफ्नो आत्मसम्मानमा ठेस पुऱ्याएर पदमा नबस्ने उनको भनाई छ । उनले सिस्टमले समेत विश्वसनीयता गुमाएको अवस्थामा जुन मान्छेलाई आफ्नो खुबीमा विश्वास हुँदैन उसले कुनै न कुनै नेताको फेरो समाउने बताएकी छन् । 

उनले लेखेकी छन्, ‘अरू क्षेत्रमा जस्तै शिक्षालयमा नियुक्तिको लागि नेताको वफादार हुनै पर्ने परिपाटी बनायौँ। यसरी नेताको वफादारले मात्र पद पाउने प्रस्ट हुने भए पछि निष्ठावान्, सक्षम व्यक्तिले आवेदन समेत नहाल्ने भए। कोही सक्षम छ भने जताततै अवसर भेटिन्छ पनि, स्वदेशमा नभए विदेशमा। यसैले गतिला मान्छे नेतृत्वदायी पदमा राजनैतिक वर्गले पुग्न नदिने परिपाटी यथावत् नै भयो।’

  • उनको भनाई यस्तो छ :

अन्ततः त्रिवि उपकुलपति बराल सरले राजीनामा दिनुभयो

बराल सर त्रिवि उपकुलपति नियुक्त हुनु भएको केही समयपछि मैले शिक्षा मन्त्रालय सम्हाल्ने अवसर पाएकी थिएँ। छोटै समय भए पनि बराल सरसँग मिलेर काम गर्ने र सिक्ने मौका जुरेको थियो। उच्च शिक्षामा राजनैतिक हस्तक्षेप हुन नदिने भन्ने बारे हाम्रो सहमति थियो।  

वहाँको नियुक्तिपछि अन्य पदाधिकारीमा ओलीजीले आफ्नो भाग खोजे, हामीलाई बोलाएर भागबन्डाको लागि कन्भिन्स गर्न खोजे। हामीले सँगै मिलेर प्रतिवाद गऱ्यौ। हामीले भागबन्डाविरुद्ध अडान लिँदा हाम्रो त्रिवि विकास गर्ने दृढ विश्वास थियो। हामीले भनेका थियौँ, बरू राजीनामा दिन्छौँ तर भागबन्डा स्वीकार्य हुँदैन। लामो रस्साकस्सी पछि भिसी सरले आफैले टिम छान्न पाउनु भयो । यो टिमले समयमा परीक्षा गराउने, शैक्षिक क्यालेण्डर निकाल्ने, वर्षौँदेखि नभएको त्रिवि सेवा आयोगले परिक्षा लिने, धेरै समयदेखि नतिजा प्रकाशन नभएका समेत समयतालिका निकालेर प्रकाशन गर्ने, प्रश्नपत्रलाई नेपाली र अंग्रेजीमा प्रकाशन गर्ने, गाउँगाउँबाट विद्यार्थी ट्रान्सक्रिप्ट लिन काठमाडौँ आउनुपर्ने व्यवस्था अन्त गर्नको लागि प्राविधिक समिति राखी अनलाइनबाटै उपलब्ध हुने प्रणाली विकास गर्ने लगायत केही राम्रो कामको सुरुवात पनि गर्नुभएको थियो ।   

सरले भन्नुभएको याद छ - यो उमेरमा पदमै बसिराख्न मात्रै सम्झौता गरेर बस्दिनँ, नतिजा दिन नसक्ने भए पदमै बस्दिनँ ।  मैले राजीनामा दिनु पर्ने अवस्था आएन, सरकार नै ढल्यो। सरले आज राजीनामा दिनु भएछ भन्ने समाचारबाट थाहा पाएँ।  तपाईँको प्रयासको लागि धन्यवाद सर । राजीनामा दिने अवस्था आयो भने शिक्षा समितिमा आएर– यो व्यक्ति, यो अवस्थाले गर्दा मलाई काम गर्न दिइएन भनेर – कारण खुलाएर राजीनामा गर्छु भन्नु भएको थियो, त्यो वाचा पनि पूरा गर्नु हुनेछ भन्ने आशा लिएकी छु । यद्यपि कस्तो खालको फोन आउँछन्, सुरक्षाको खतरा हुन्छ भन्ने पनि थाहा छ। यदि यही कारणले अहिले भन्न चाहनुहुन्न भने पनि बुझ्छु म।    

वर्षौँदेखि अनेक स्वार्थ समूहले बनाएको सिस्टमको विरुद्ध कुनै एक व्यक्तिले मात्र लडेर सम्भव हुन गाह्रो कुरा हो। हाम्रोमा कसरी काम गर्न दिँदैनन्, कता-कताबाट ककस्तो दबाब आउँछ भन्ने अनुभव साझा हुनु जरुरी छ, ताकि यो संघर्ष जारी रहोस्।

सक्षम व्यक्तिहरूले चाकडी गरेर आफ्नो आत्मसम्मानमा ठेस पुऱ्याएर पदमा बसिराख्दैनन् । सिस्टमले समेत विश्वसनीयता गुमाएको अवस्थामा जुन मान्छेलाई आफ्नो खुबीमा विश्वास हुँदैन उसले कुनै न कुनै नेताको फेरो समाउँछ। अरू क्षेत्रमा जस्तै शिक्षालयमा नियुक्तिको लागि नेताको वफादार हुनै पर्ने परिपाटी बनायौँ। यसरी नेताको वफादारले मात्र पद पाउने प्रस्ट हुने भए पछि निष्ठावान्, सक्षम व्यक्तिले आवेदन समेत नहाल्ने भए। कोही सक्षम छ भने जताततै अवसर भेटिन्छ पनि, स्वदेशमा नभए विदेशमा। यसैले गतिला मान्छे नेतृत्वदायी पदमा राजनैतिक वर्गले पुग्न नदिने परिपाटी यथावत् नै भयो। 

यसरी आफ्नो सामर्थ्यको बलमा नभई चाकडी गरेर पद पाए पछि गुण मान्छन्, संस्थाको हित भन्दामाथि नेताको, दलको हित राख्छन्। अझ पदको लागि पैसा खर्च गरेको छ भने लगानी पनि उठाउँछन्। यस कारण राजनैतिक हस्तक्षेप हुन दिन हुँदैन भन्ने कुरामा म दृढ छु। राजनैतिक हस्तक्षेप बेगर नेतृत्व छानिने क्रम अन्य शिक्षालयमा पनि हुँदै जाओस् भन्ने इच्छा थियो । तर CTEVT, पोखरा र काठमाडौँ विश्वविद्यालयको नियुक्तिले हामीले बनाएको प्रक्रियामा छिद्रा राखेर भागबन्डाकै नियुक्ति गरेको देखेका छौं। CTEVT को उपाध्यक्षको नियुक्ति सर्वोच्चले खारेज समेत गर्नु पऱ्यो। बाँकीका संस्थालाई यसले कता पुऱ्याउँछ हेर्न बाँकी छ ।  

राजनैतिक दबाब र खिचातानीमा यसरी पेलेर आखिर नेपाली विद्यार्थीको लागि कस्तो माहौल बनाउँदै हुनुहुन्छ? कहिलेसम्म हाम्रा विद्यार्थीको भविष्यलाई दाउमा राख्ने यो रीतिलाई चलाउनुहुन्छ र चल्न दिनुहुन्छ? मनोवैज्ञानिक त्रास, हरेक दिनको भौतिक आक्रमणको धम्की र पार्टीबाट संरक्षित राजनैतिक कार्यकर्ता, गलत क्रियाकलापलाई वैधता दिनुपर्ने बाध्यता – यस्तो स्थिति सिर्जना र संरक्षण गर्ने राजनैतिक वर्ग, तिमीहरू युवाहरूका सपना निमोठ्ने र विश्वविद्यालय आफ्नो पुर्ख्यौली बिर्तामा पाएको जस्तो गरेर व्यवहार गर्ने निर्दय पापी हौ । धिक्कार छ तिमीहरूलाई। 

अभिभावकज्यूहरू आखिर कहिलेसम्म चाहिँ राजनैतिक वर्गको यो व्यवहारलाई स्विकारेर बस्नुहुन्छ? कहिलेसम्म आफ्ना बालबालिकाको जीवनमाथि हुने यस्तो खेलबाड हेरेर बस्नुहुन्छ?

विद्यालय शिक्षाबाट मुनाफा कमाऊ भन्ने प्रधानमन्त्री ज्यू, उच्च शिक्षामा पनि पार्टीलाई दान दिनेको कमी छैन होला । भातृ संगठन पालेर जहिले भर्नाका बेला हडताल गर्न लगाउने अनि प्राइभेटमा धकेल्ने, उच्च शिक्षाको बजेटको दोहन गर्ने, नेपालीलाई भोट र पैसाको बोट देख्ने राजनैतिक वर्ग, अलिकति त शरम गर्नुस्। सुध्रिन सक्नु हुन्छ भने सुध्रिनुस्। 

यदि म गलत छु भने, तपाईं अहिले देश भरिका विश्वविद्यालयको कुलपति हुनुहुन्छ – देखाइदिनुस्, तपाईंले चाहेको उच्च शिक्षा कस्तो हो, तपाईंले युवाहरूलाई रोजगारमूलक शिक्षा कसरी दिनुहुन्छ, कस्तो सपना देखाउन चाहनुहुन्छ। आजसम्मको परिणाम हामीले देखिसकेका छौँ। अझै पनि तपाईंसँग साढे दुई वर्षको समय छ, मलाई गलत पुष्टि गरेर देखाइदिनुस्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप