ज्ञानेन्द्रलाई ‘भिलेन’ भन्दै खनिए प्रचण्ड

काठमाडौँ । आइतबार सिन्धुली जिल्लाको दुधौली नगरपालिका पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आपराधिक ‘भिलेन’को रूपमा चित्रण गरेका छन् । राजावादीले शुक्रबार गरेको वितण्डा ज्ञानेन्द्रकै निर्देशनमा भएको प्रचण्डको आरोप थियो ।
जनता र राजनीतिक दलको उदारताको नाजायज फाइदा उठाएर फेरि आतङ्क मच्चाएको भन्दै प्रचण्डले अब ज्ञानेन्द्रलाई छाडा छोड्न नसकिने बताए । कार्यक्रममा आफूलाई नायकका रूपमा प्रस्तुत गरेका उनले ज्ञानेन्द्रलाई ‘भिलेन’को रूपमा चित्रण गरे ।
- तीनकुने सभा र ज्ञानेन्द्रबारे प्रचण्डले के भने ?
चैत १५ गते हामीले सञ्चालन गरेको कार्यक्रममा बाधा खडा गर्ने नियतका साथ कथित राजावादी भन्नेहरूले त्यही दिन कार्यक्रम जुधाएर राखे । हामीले गणतन्त्रको पक्षमा, जनताले प्राप्त गरेको अधिकारको पक्षमा, जनताका लागि अझ थप अधिकारको पक्षमा सरकारलाई खबरदारी गर्न र प्रतिगामीहरूलाई पनि खबरदारी गर्न त्यो सभा राखेका थियौँ । त्यो सभा आफैँ नेपालको इतिहासमा कहिल्यै नबिर्सने परिघटना हुन पुग्यो ।
समाजवादी मोर्चाले गरेको त्यो विशाल सभा बढो संयमित, अनुशासित, भव्य र एउटा दृढ अठोट भएका मानिसहरूको सभाको रूपमा प्रस्तुत भयो ।
अर्कोतिर तथाकथित राजावादीहरूले गरेको तीनकुनेको सभा विवेकहीनता, पाशविकता, आततायी, हत्याराहरूको सभाको रूपमा चित्रित हुन पुग्यो । दुई जना होनहार युवाको ज्यान गयो । राजावादीहरूको विवेकहीनताले, राजावादी भन्दा पनि अझ प्रस्ट देखिएका कुरा ज्ञानेन्द्र शाहको मूर्खता, उसको विवेकहीनताको कारणले त्यो दिन काठमाडौँले देख्नुपर्यो । त्यसकारण एकातिर गणतन्त्रवादीहरूको शालीन र जनताको भव्य उपस्थिति सहितको सभा, अर्कातिर आततायी आपराधिक मानसिकता भएका गुण्डाहरूको सभा ।
मैले त त्यतिबेलै भनेको थिएँ– मण्डले गुण्डाहरू कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तो अहिले पनि उस्ताको उस्तै छन् भन्ने कुरा प्रमाणित भयो । सिङ्गो राष्ट्रले देख्यो । गणतन्त्रवादीको हाइट कति छ, राजावादीको निचता कति छ भन्ने कुरा दुनियाँले देख्यो । मैले पहिले पनि भन्ने गरेको थिएँ–उपन्यास, कथा, नाटक या फिलिममा हामी सधैँ एकातिर हिरोहरूको जमात देख्छौँ । अर्कोतिर आपराधिक गिरोहहरूको जमात देख्छौँ । १५ गते त्यस्तै भयो ।
हाम्रो गणतान्त्रिक सभा हिरोहरूको जनताको सभा भयो । राजावादीहरूको सभा भिलेनहरूको अपराधीहरू आततायीको सभा भयो । जनताले बुझ्ने गरी भयो, हामीले केही भन्ने परेन । काठमाडौँ तीनकुनेका जनताले अस्तिको दिन यतिधेरै बधाई दिनुभयो । यदि माओवादी केन्द्र र समाजवादी मोर्चाले विशाल सभा नराखेको भए अझै धेरै क्षति गर्ने रणनीति रहेछ । तर गणतन्त्रवादीको विशाल सभा भएकाले मण्डलेको सभामा मानिस कम उपस्थिति भयो । उनीहरूको नियत नै नियन्त्रण गर्ने थिएन । आतङ्क मच्चाउने थियो । उनीहरू त्यसमा धेरै सफल हुन सकेनन् । केही क्षति पक्कै भयो ।
माओवादी र समाजवादी मोर्चालाई काठमाडौँवासीले धन्यवाद दिएका छन् । दुई जना होनहार युवाको हत्या भयो, त्यसको जिम्मेवार ज्ञानेन्द्र शाह नै हो । आफ्नै घरमा त्यत्रो भयानक हत्याकाण्ड मञ्चन गर्न सक्नेहरूले जनताको छोराछोरी हत्या गर्नु उनीलाई केही जस्तै लागेको छैन । अहिले सर्वत्र आवाज उठेको छ । ज्ञानेन्द्रलाई अब छुट दिन हुँदैन भनेर जनस्तरबाट आवाज उठेको छ । हामी सबै राजनीतिक दलहरूले भनेका छौँ– उनलाई छाडा छोड्न सकिँदैन ।
जनता र पार्टीहरूले देखाएको उदारताको नाजायज फाइदा उठाएर फेरि आतङ्क, गुण्डागर्दी, हत्या, आततायी काम गर्छन् भने जनताले उनलाई छुट दिँदैनन् । आफ्नै कुबुद्धिले गर्दा ज्ञानेन्द्रले नागार्जुनमा के भोग्नुपर्यो ? जनताको उदारताले भोग्न त पाएका छन् । अझै मूर्खता गरे भने भोग्ने दिन नै सिद्धिन्छ । यो कुरा उनलाई हेक्का रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक
-
ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
-
विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपालले के पाउँछ, के गुमाउँछ ?
-
रुसको तर्फबाट १५५ चिनियाँ सैनिक युक्रेनसँग लडिरहेको जेलेन्स्कीको दाबी
-
ट्यारिफ रोक्ने ट्रम्पको घोषणापछि एशियाली बजारमा हरियाली
-
जयपृथ्वी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बोहरा विजयी