मकै छोडेर कफीखेतीतर्फ आकर्षित महाभारतका किसान

धुलिखेल । महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थालेको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उनी मकै छाडेर कफी खेतीमा लागेका छन् ।
यसअघि उनी मकै खेतीको भरमा थिए । तीन वर्ष अगाडि छ सय बोट कफी रोपेर खेती सुरु गरेका उनले हाल नयाँ बोटहरु रोप्ने तयारीमा बारीभरि खाल्डो खनेका छन् । ‘यो वर्ष मात्रै चार सय किलो फल्यो’ उनले भने, ‘केही बिक्री भयो, केही बाँकी छ ।’ दाजुभाईकोसहित गरेर उनीहरुले १८ रोपनीमा कफी लगाएका छन् । कफी काँचो प्रतिकिलो एक सय ३० र सफा गरेर सुकाएपछि आठ सय ३० सम्ममा विक्री गरको उनले बताए ।
करिब १० वर्ष अगाडिदेखि थोरै मात्रामा कफी खेती सुरु गरेका अर्का किसान लालबहादुर मोक्तानले पनि मकै खेतीभन्दा कफीबाट राम्रो आम्दानी भएपछि कफी खेतीलाई प्राथमिकता दिएका छन् । स्थानीय सरकारले सिंचाइको व्यवस्था गरिदिए अझ उत्पादन वृद्धि गर्न सकिने मोक्तानको भनाइ छ ।
नीरज र लालबहादुर मात्रै होइनन् । अधिकांश किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । उत्पादन भएको कफी बिक्रीका लागि बजारसम्म धाउनु नपर्ने, घरमै खरिद गर्न व्यापारी आउने भएकाले पनि जिविकोपार्जनमा टेवा पुगेको स्थानीय कान्छा ब्लोन बताउँछन् । मकैले खाद्यान्नका रुपमा मात्रै धान्ने गरेकामा कफीबाट नगद प्राप्त गर्न सकिने भएकाले मकैभन्दा कफी सबैको रोजाइ बन्न थालेको उउले बताए ।
महाभारत गाउँपालिका–४ कोलटार लामागाउँका जगतबहादुर र शङ्खलाल थोकरले कफी खेती गरेर वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
वडा नम्बर ५ का वडा अध्यक्ष विजय राना मगरले किसानहरुले कफी खेतीमा चासो दिनथालेपछि कफी उत्पादनलाई अभियानकै रुपमा अगाडी बढाएको बताए । त्यसमा सिँचाइको आवश्यक भएकाले गाउँपालिका र प्रदेश सरकारले सहयोग गरेमा किसानको जीवनस्तर परिवर्तन गर्न सकिने उनको भनाइ छ ।
महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेडले कफीका लागि आवश्यक तालिम, प्रशोधन गर्ने मेसिन, सुकाउने तारजाली, त्रिपाललगायतका सामग्री सहहयोग गर्दै आएको संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले बताए ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाले किसानको आर्थिक उपार्जनमा सहयोग पुर्याउने गतिलो माध्यम कफी खेती भएकाले पालिकाले अनुदानमा खेतीलाई व्यवसायीकरण गर्दै लगेको बताए । डाँडापारिको जनताको लागि पहिलो आवश्यकता बाटो र विजुली रहेकामा त्यसलाई पूरा गरेर हाल नागरिकको जीवनस्तरमाथि उठाउन कफी उत्पादनमा जोड दिएको र विरुवा वितरण, प्रशोधन उपकरणलगायत अन्य सामग्री वितरण गर्दै आएको उनले बताए ।
कफी खेतीलाई वृद्धि गर्न पालिकाको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान चलाएको र सो विवरण कृषि शाखामा पेस गरेर एक बोट बराबर २० का दरले अनुदान दिँदै आएको उनको भनाइ छ । सोही योजनाअनुसार वडा ५ मा कफी उत्पादन अभियानलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारसँगको साझेदारीमा ‘समुदायमा आधारित एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरिसकेको उनले बताए ।
कृषि विकास कार्यालय प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षबाट सामुदायमा आधारित एक वडा, एक उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएकामा यसवर्ष कफी उत्पादनको क्षेत्रमा उत्पादन गुणस्तर र उत्पादकत्व वृद्धिका लागि कफी प्रशोधन प्रविधि विषयक तालिम प्रदान गरिएको बताए । महाभारत गाउँपालिकामा कफी उत्पादनको काम सम्झौता गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइसकेको र खानीखोला गाउँपालिकामा सम्झौताको चरणमा रहेको उनले जानकारी दिए ।
यो वर्ष मात्रै ४० हजार कफीको विरुवा वितरण गर्ने र गरिरहेको खेतीलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय कफी उत्पादनमा जोड दिने कृषि कार्यालयले जनाएको छ । त्यसका लागि किसानलाई पलपर मेसिन, सुकाउनका लागि त्रिपाल वितरण र कफीमा देखिने रोगका समस्या समाधानका लागि तालिम दिइरहेको कार्यालय प्रमुख दवाडीको भनाइ छ ।
यो वर्ष सो वडामा प्रदेश सरकारको ३० लाख, गाउँपालिका र किसानको १०–१० लागत गरी ५० लाख लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधिको प्रयोग र सामग्री वितरण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत