१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न ४१ जनाविरुद्ध पाँच दिन म्याद थपदेखि पार्टीको जिम्मेवारीमा फर्किए रविसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. तीनकुने घटनामा सलग्न ४१ जनाविरुद्ध पाँच दिन म्याद थप
चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ । पक्राउ परेका ४१ जनाविरुद्ध विभिन्न मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
२. निर्मल निवासमा ज्ञानेन्द्रको गुनासो !
गत शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोपको ओइरो लाग्न थालेको छ । कतिपयले उनकै निर्देशनमा आन्दोलन भएको भन्दै त्यसबाट मुलुकको भोगेको क्षतिको जिम्मेवार उनी नै रहेको आरोप लगाइरहेका छन् । तर, पूर्वराजा ज्ञानेन्द्रले आफूलाई विदादमा तान्ने काम भएको भन्दै निकटस्थसँग गुनासो गरेका छन् ।
३. संसदको चौथो र पाँचौँ दलले पाएनन् सर्वदलीय बैठकमा ‘स्पेस’
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बेलुका राखेको सर्वदलीय बैठकमा प्रतिनिधि सभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौँ दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ‘स्पेस’ दिइएन ।
४. रवि लामिछाने फर्किए पार्टीको जिम्मेवारीमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । सहकारीको रकम हिनामिनासहितको आरोपमा मुद्दा झेलिरहेका उनी साढे ५ महिनापछि पार्टीको जिम्मेवारीमा फर्किएका हुन् ।
५. राजावादीको आन्दोलनबाट पछि हट्दै आफ्नै बाटो लाग्यो राप्रपा
गत शुक्रबार राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक भएर सर्वत्र आलोचित बनेपछि राप्रपा आफ्नै बाटो लागेको छ । राजावादीले गर्ने सबै आन्दोलनमा सघाउने नीति लिएको राप्रपा अहिले भने आफ्नै ढंगले कार्यक्रमलाई अघि बढाउने तयारी गरेको हो ।
६. दुर्गा प्रसाईंले भने– ‘म भागेको छैन’
चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू नभागेको भन्दै भिडियो सन्देश जारी गरेका छन् । आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको उनको भनाइ छ ।
७. राजावादीले खोजे वैकल्पिक नेतृत्व
वर्तमान व्यवस्थाको विरोधमा रहेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले वैकल्पिक नेतृत्व चयन गरेको छ । आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेपछि समितिको नेतृत्व जगमान गुरुङलाई दिइएको हो ।
८. निर्मल निवासको गेटबाटै महानगरको टोली फिर्ता
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो ।
९. प्रतिनिधि सभा बैठकमा अवरोध
प्रतिनिधि सभा बैठकमा विपक्षी दलले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले आइतबार कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन् ।
१०. तीनकुने घटनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न प्रहरीको आग्रह
जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले विज्ञप्ति प्रकाशित गरी चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा आन्दोलनका क्रममा भएका घटनाबारे गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।
११. सरकारको दबाब थेग्न नसकेर त्रिवि उपकुलपतिको राजीनामा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै गत शुक्रबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछि उनी काठमाडौँबाट सिधै गृहनगर पोखरा गएका थिए ।
१२. प्रेस सेन्टरमा क–कसले दिए उम्मेदवारी ?
प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिएको छ । अध्यक्ष पदका लागि दीपेन्द्र रावल र कमल गिरी मैदानमा उत्रिएका छन् भने वरिष्ठ उपाध्यक्षमा रुवी श्रेष्ठ, सुदीप वर्देवा र सुरेशचन्द्र अधिकारीको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत